युरोपमा मानसिक स्वास्थ्य अवस्था भयावह- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरोपमा मानसिक स्वास्थ्य अवस्था भयावह

ददि सापकोटा

पेरिस — युरोपेली मुलुकहरूमा मानसिक स्वास्थ्य संकट बढ्दै गएको छ । आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को तथ्यांक अनुसार १८ युरोपेली देशहरूमा सन् २००० देखि २०२० सम्ममा मानसिक रोगविरुद्धको औषधि (एडी) प्रयोग झन्डै साढे दुई गुणाले बढेको छ । ओईसीडीको तथ्यांकले कोभिड–१९ महामारीको समयमा चिन्ता र डिप्रेसनमा नाटकीय वृद्धि भएकाले मानसिक स्वास्थ्य बिग्रिएको देखाएको छ ।

१८ युरोपेली देशहरूमा सन् २००० मा प्रतिदिन प्रतिएक हजार व्यक्तिमा डिफाइन्ड डेली डोज ९डीडीडी० अर्थात् दैनिक मात्रा ३०।५ मात्र थियो । सन् २०२० मा त्यो बढेर ७५।३ पुगेको छ । यसको अर्थ युरोपेली मुलुकमा मानसिक स्वास्थ्यका बिरामीको संख्या १४७ प्रतिशतले वृद्धि भएको हो । तर एन्टी डिप्रेसन ९एडी० औषधि लिने प्रवृत्ति सबै देशमा समान छैन । सन् २००० मा इस्टोनियामा डीडीडी ६।४ थियो भने आइसल्यान्डमा ७०।५ थियो । चेक गणतन्त्रमा भने सन् २०२० सम्म आइपुग्दा ५७७ प्रतिशत र सोही समयमा फ्रान्समा यो ३८ प्रतिशतले बढेको छ । यो २००० र २०२० को बीचमा यी देशहरूमा सबैभन्दा कम परिवर्तन भएको देखिएको छ ।

सोही अवधिमा पोर्चुगलमा ३०४ प्रतिशत, बेलायतमा २५६ प्रतिशत, स्पेनमा २०८ र जर्मनीमा २०० प्रतिशतले वृद्धि भएको जनाइएको छ । तथ्यांकले युरोपेली देशहरूमा कसरी एडी खपत एकपछि अर्को वर्ष बढेको छ भन्ने देखाउँछ । १८ मध्ये १४ देशमा एडीको प्रयोग दोब्बरभन्दा बढी छ । २०२० मा प्रतिदिन प्रतिहजार मानिसमा मानसिक स्वास्थ्यविरुद्धका औषधिहरूको खपत लात्भियामा २०, आइसल्यान्डमा १५३, पोर्चुगलमा १३१, बेलायतमा १०८, स्विडेनमा १०५ र स्पेनमा ८७ पुगेको छ ।

खुसी रहेका नागरिकमा मानसिक स्वास्थ्य कम हुन्छ भन्ने विश्वासलाई पनि तथ्यांकले गलत सावित गरिदिएको छ । वर्ल्ड ह्यापिनेस रिपोर्टका अनुसार सन् २०२० मा विश्वको दोस्रो सबैभन्दा खुसी देश आइसल्यान्डमा युरोपमै सबैभन्दा बढी एन्टिडिप्रेसेन्ट खपत भएको छ । रिपोर्टमा छैटौं स्थानमा रहेको स्विडेनमा १०५ डीडीडी प्रयोग गरी एन्टिडिप्रेसेन्ट धेरै लिने युरोपमै चौथो देश भएको छ । रिपोर्टअनुसार सबैभन्दा खुसी राष्ट्र मानिएको फिनल्यान्डका मानिसहरूले ८२ डीडीडी एन्टिडिप्रेसन प्रयोग गरे जसले फिनल्यान्डलाई २४ देशहरूमध्ये सातौं स्थानमा राख्यो । लातभियामा दैनिक २० मात्राका दरले एडी प्रयोग गरिन्छ । तर विश्व खुसी प्रतिवेदनमा ३४ औं स्थानमा छ । ३० डीडीडी लिने लात्भियालाई पछ्याउने हंगेरी खुसीको सूचीमा ४३ औं स्थानमा थियो ।

ईयूमा डेनमार्क मात्रै यस्तो मुलुक हो जहाँ गत १० वर्षमा एडी खपत घटेको छ । सन् २०२० मा जर्मनीले एडीमा ७८ करोड ३० लाख युरो, स्पेनले करिब ६४ करोड ९० लाख युरो, इटालीले ४ करोड ४० लाखदेखि ४ करोड ५६ लाख युरो खर्च गर्ने प्रमुख राष्ट्र हुन् । ईयूको तथ्यांक अभिलेखमा आधिकारिक मानिएको युरोस्टाटका अनुसार सन् २०१९ मा, ईयू देशहरूमध्ये पोर्चुगल १२।२ मा गम्भीर डिप्रेसनको सबैभन्दा बढी हिस्सा थियो । त्यसपछि स्विडेन ११।७ प्रतिशत, जर्मनी र क्रोएसिया ११।६ प्रतिशत, माल्टा ३।५, बुल्गेरिया २।७ र रोमानिया १ प्रतिशत सबैभन्दा कम थियो । युरोपेली आर्थिक सहयोग र विकास संगठन ९ओईसीडी० द्वारा जारी गरिएको पछिल्ला सर्वेक्षणहरूले कोभिड–१९ महामारी सुरु भएदेखि नै मानसिक स्वास्थ्यमा उल्लेखनीय गिरावट आएको देखाएको छ ।

प्रकाशित : मंसिर १३, २०७९ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

वर्षको अन्त्यसम्म नि:शुल्क काम गर्नुपर्ने बाध्यतामा युरोपेली महिला

ददि सापकोटा

पेरिस — युरोपेली युनियनका महिलाहरूले मंगलबारदेखि यो वर्ष सन् २०२२ को अन्त्यसम्म आफ्ना पुरुष समकक्षीहरूको तुलनामा 'नि:शुल्क काम' गर्ने भएका छन् । त्यसको कारण के भने नोभेम्बर १५ मा युरोपेली युनियन (ईयू) भरी समान तलब दिवस मनाइएको छ ।

तर ईयूभरिका महिलाहरूले समान कामका लागि आफ्ना पुरुष सहकर्मीहरू भन्दा १३ प्रतिशत कम तलब पाइरहेकाले नि:शुल्क काम गर्ने भएका हुन् ।

लैंगिक समानता, समान कामको समान ज्याला भनिए पनि युरोपमा समान काममा महिला र पुरुषबीच कामको ज्याला असमान छ । युरोपभरिका महिलासहित युरोपेली युनियन समान कामको समान ज्यालाका लागि लामो समयदेखि संघर्षरत छन् ।

तर यो खाडल बन्द गर्ने प्रगति सुस्त छ । गत दशकमा यो दुई दशमलब आठ प्रतिशतले मात्रै घटेको छ । आफ्नो देशमा श्रमको ज्याला महिला र पुरुषबीच भिन्नता भए पनि युरोपेली युनियनका २७ मध्ये ११ सदस्य राष्ट्रहरूले आफ्नो समान तलव दिवस पार गरिसकेका छन् । किनकि ती देशमा युरोपेली युनियनको औसतभन्दा पनि अझ असमान छ । लातभिया र एस्टोनिया लगायत केही देशमा महिला र पुरुषबीचको तलबमा भिन्नता २० प्रतिशतभन्दा बढी छ।

युरोपेली मुलुकमध्ये लक्जमबर्गमा पुरुष र महिलाबीच तलबमा सबैभन्दा कम भिन्नता छ । महिलाहरूले उनीहरूका पुरुष सहकर्मीहरू भन्दा शून्य दशमलब ७ प्रतिशत मात्रै कम पाएका छन् । त्यसपछि रोमानिया र स्लोभेनियामा क्रमशः दुई दशमलब चार प्रतिशत र तीन दशमलव एक प्रतिशतको भिन्नता रहेको युरोपेली युनियनले जनाएको छ ।

समान कामको असमान ज्याला हुने मुलुकमा युरोपको सबैभन्दा सम्पन्न देश जर्मनीमा चौथो स्थानमा (१८ दशमलब तीन प्रतिशत कम), फिनल्याण्ड छैठौं (१६ दशमलब सात प्रतिशत), फ्रान्स नवौं स्थान (१५ दशमलब आठ प्रतिशत), नेदरलयण्ड्स १० औं स्थान (१४ दशमलब दुई प्रतिशत) लगायत छन् ।

'समान काम गर्दा महिला र पुरुष दुबै समान पारिश्रमिकको हकदार छन् । यो युरोपेली संघको संस्थापक सिद्धान्त हो। समान काममा लैङ्गिक आधारमा असमान तलब अन्तर हुनु अन्याय हो र यो अन्यायको समाधान समाजमा संरचनात्मक असन्तुलनमा परिवर्तन नगरी आउन सक्दैन,' ईयू आयुक्त भेरा जोरोभा र हेलेना डल्लीले संयुक्त वक्तव्यमा भनेका छन् ।

त्यो खाडललाई कम गर्नका लागि, उनीहरूले ईयू देशहरूलाई महिला र पुरुषहरूका लागि उपयुक्त ठाउँमा सही कामदार छनोट गर्न, तिनको हेरचाह गर्ने जिम्मेवारीहरू बढाउन र कामलाई राम्रोसँग बाँडफाँट गर्नका लागि उपयुक्त परिस्थितिहरू सुनिश्चित गर्न आह्वान गरेका छन् ।

सदस्य राष्ट्रहरूलाई पहुँचयोग्य, किफायती, र उच्च-गुणस्तरको प्रारम्भिक बाल्यकाल शिक्षा र दीर्घकालीन हेरचाहमा उनीहरूको भूमिका बढाएर श्रम बजारमा महिलाहरूको सहभागितालाई समर्थन गर्न उनीहरुले सुझाव दिएका छन् ।

आयोगका अनुसार घरको काम र बालबालिका हेरचाहको जिम्मेवारीका कारण युरोपेली युनियनका ७७ लाख महिलाहरू रोजगारीबाट वञ्चित भएका छन्।

पारदर्शिताले सुरुदेखि नै तलबमा लैङ्गिक भेदभाव अन्त्य गर्न योगदान पुर्‍याउने हुँदा तलब दिँदा पारदर्शिता अपनाउनुपर्ने आयुक्तहरूको भनाइ छ । त्यसले कामदारहरुलाई सशक्त बनाउने भन्दै समान काम वा समान मूल्यको कामको लागि समान ज्याला पाउने अधिकार लागू गर्न आह्वान गरेका छन् ।

युरोबारोमिटरको सर्वेक्षणका अनुसार १० मध्ये ९ जना युरोपेलीहरू (पुरुष र महिला) ले एउटै कामको लागि पुरुषको तुलनामा महिलालाई कम पारिश्रमिक दिइनु अस्वीकार्य ठान्ने गरेका छन् । सर्वेक्षणका अनुसार आफ्नो कम्पनीले कामको प्रकार र श्रमको ज्याला वा तलबबारे प्रकाशन गर्नुपर्ने पक्षमा ६४ प्रतिशत युरोपेली छन् ।

समान काममा असमान ज्यालाप्रति ब्यापक असन्तुष्टि बढेपछि डच सरकारले यस विषयमा राष्ट्रि बहस चलाउने भनेको छ ।

'हामीले श्रम बजारमा पुरुष र महिलाबीचको वर्तमान असमानताका सबै पक्षहरूको बारेमा कुरा गर्न आवश्यक छ,' सामाजिक मामिला तथा रोजगार मन्त्री भान जेनिपको भनाइलाई सीजीटीएन श्रमिक बुलेटिनले उल्लेख गरेको छ ।

प्रकाशित : कार्तिक ३०, २०७९ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×