कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पश्चिम अस्ट्रेलियामा झल्कियो नेपाल

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको पर्यटकीय सहर पर्थ शनिबार बिहान नेपालमय बन्यो । नेपाली परम्परागत पोसाक, विभिन्न झाँकी, कलासंस्कृति झल्काउने पहिचानसहितको प्रभातफेरीले पश्चिम अस्ट्रेलियाको राजधानी पर्थलाई शनिबार ‘सानो नेपाल’ भन्न मिल्ने बनाइदिएको थियो । 

पश्चिम अस्ट्रेलियामा झल्कियो नेपाल

बिहानै सयौंको संख्यामा सहभागी नेपालीले सुरु गरेको प्रभातफेरीमा नेपालीमात्र नभई स्थानीयले समेत सहभागिता जनाएका थिए । उनीहरूले महोत्सव, नेपालबारेमा चासो र उत्साहसँगै ताली बजाएरसमेत स्वागत गरेका थिए ।

हरेक दुई वर्षमा प्रवासी नेपालीको संगठन एनआरएनएले गर्ने कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै नेपालीको पहिचान अझ सुदृढ र सबल बनाउन भूमिका खेलिरहेको आयोजकको भनाइ छ । आयोजक समितिका संयोजक दीपक बस्नेतले नेपाली दोस्रो पुस्ता बढिरहेका कारण कार्यक्रमले उनीहरूलाई आफ्नो कलासंस्कृति र परम्परालाई नजिकबाट चिन्न र बुझ्न यस्तो कार्यक्रमले सहयोग पुरयाउने सुनाए ।

अस्ट्रेलियामा विभिन्न समयमा महोत्सवहरू हुने भए पनि नेपाल महोत्सवको अलग महत्त्व र पहिचान रहेको आयोजकको दाबी छ । ‘एकातिर यो अस्ट्रेलियाको हरेक राज्यमा आयोजना गरिन्छ भने अर्कोतिर यसलाई सफल बनाउन नेपाली समुदायका साथै काउन्सिल, स्थानीय सरकार र अस्ट्रेलियाली नेताहरूको पनि साथ र सहयोग रहने गर्छ,’ एनआरएनएका डेपुटी युथ कोअर्डिनेटर उत्तम अधिकारीले भने ।

महोत्सव सफल बनाउन स्थानीय काउन्सिल र राज्य सरकारले समेत प्रवर्द्धन र प्रचारप्रसारमा सहयोग पुर्‍याएको थियो । करिब एक महिनाअघिदेखि नै सहरका मुख्य भागमा काउन्सिलले प्रचारप्रसारका लागि बोर्ड राखिदिएको थियो भने गाडीहरूमा समेत प्रचार सामग्री राखिएको थियो । कार्यक्रमका सहभागीलाई मनोरञ्जन प्रदान गर्द स्थानीय सांगीतिक ब्यान्ड र कलाकारका साथै नेपालबाट आएका रिदम ब्यान्ड, दीपक बज्राचार्य र सन्दीप क्षत्रीले विभिन्न प्रस्तुति दिएका थिए ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?