चिसोमा कठ्यांग्रिँदै ६० लाख युक्रेनी- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसोमा कठ्यांग्रिँदै ६० लाख युक्रेनी

राजधानी किभ, ओडेसा लभिभ, भिनिस्तियालगायतका स्थानमा २० देखि ३० घण्टासम्म लोडसेडिङ
एजेन्सीहरू

किभ — रुसले पछिल्लो समय युक्रेनका ऊर्जा केन्द्रहरूमाथिको आक्रमण तीव्र पारेपछि कम्तीमा ६० लाख मानिसहरू चिसोमा कठ्यांग्रिन बाध्य भएका छन् । ‘आजका दिनसम्म राजधानी किझ र अधिकांश क्षेत्रहरूमा अन्धकार छ,’ युत्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेका छन् ।


प्रभावित घरहरूको संख्या केही दिनयता घटेको भए पनि अझै दसौं लाख बिजुली, पानी र न्यानोको अभावमा रहेका उनको भनाइ छ ।

एक भिडियो सम्बोधनका क्रममा जेलेन्स्कीले किभ र वरपरका क्षेत्रमा २० देखि ३० घण्टासम्म लोडसेडिङको अवस्था रहेको बताए । त्यसैगरी, ओडेसा लभिभ, भिनिस्तियालगायतका स्थान निकै प्रभावित भएका उनको भनाइ छ । कम विद्युत् खपतका लागि उपायहरूको खोजी गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका बीबीसीले जनाएको छ ।

उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी आक्रमणका कारण हजारौं युक्रेनी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अर्बौं डलर बराबरको भौतिक संरचना ध्वस्त भएको जनाइएको छ ।

आक्रमण सुरु गरेयता रुसले युक्रेनका विभिन्न क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको थियो । तर पछिल्लो समय कतिपय क्षेत्रहरू युक्रेनले फिर्ता लिएको छ । जसका कारण रुसी फौजले युक्रेनका ऊर्जालगायत पूर्वाधारलाई केन्द्रित गरी आक्रमण गरेको थियो । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण युक्रेनको एक तिहाइ क्षेत्रमा विद्युत् तथा ऊर्जा आपूर्ति अवरुद्ध भएको जनाइएको छ ।

पछिल्ला दिनमा रुसी फौजले नियोजित रूपमा सर्वसाधारणका संरचनामा आक्रमण गरेर युद्ध अपराध गरेको युक्रेन र उसका साझेदार पश्चिमा देशहरूको आरोप छ । तर उक्त आरोप रुसले अस्वीकार गर्दै आएको छ ।

गत शुक्रबार खेर्सनका क्षेत्रीय गभर्नरले ‘रुसको निरन्तरको आक्रमणका कारण अस्पतालबाट बिरामीहरू समेत अन्यत्र सार्नुपरेको’ बताएका थिए । ती आक्रमणहरूमा कम्तीमा १५ जनाले ज्यान गुमाएका अधिकारीहरूको भनाइ छ ।

पछिल्लो समय रुसलाई क्राइमियासँग जोड्ने पुलमा विस्फोट गराइएपछि आक्रामक बनेको रुसले युक्रेनका ऊर्जालगायतका पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको हो । युक्रेन आक्रमणका लागि आवश्यक सैन्य हतियार ओसारपसारका लागि रुसले बाटो प्रयोग गर्दै आएका कारण उक्त पुललाई युक्रेनी फौजले निसानामा परेको हो ।

सन् २०१८ मा केर्च पुल मार्गको उद्घाटन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शताब्दीकै उत्कृष्ट संरचना’ भएको दाबी गरेका थिए । जसका कारण क्रुद्ध बनेका राष्ट्रपति पुटिनले युक्रेनमा देशव्यापी आक्रमणका लागि निर्देशन दिएको जनाइएको छ ।

आक्रमण सुरु गरेयता रुसले चारवटा क्षेत्रलाई भने आफूमा गाभेको छ । पाँच दिन लगाएर जनमतसंग्रह गरी रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई आफूमा गाभेको हो ।

रुसी अधिकारीहरूका अनुसार जनमतसंग्रह मार्फत ती क्षेत्रका अधिकांश युक्रेनीले रुसमा गाभिने पक्षमा मत दिएका थिए । उक्त कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने रुसी कदमको झल्को दिएको थियो । अमेरिका, युरोपेली संघलगायत पश्चिमा शक्तिले भने रुसले गरेको जनमतसंग्रह अवैधानिक घोषित गरेका थिए ।

रुसले सुरक्षाकर्मी र कर्मचारीमार्फत सर्वसाधारणलाई प्रभावित पारेको भन्दै जनमतसंग्रह औपचारिकता मात्रै भएको पश्चिमा देशहरूको दाबी छ । जसका कारण अमेरिका तथा युरोपेली संघले रुसविरुद्ध थप प्रतिबन्धहरू जारी गर्ने घोषणासमेत गरिसकेका छन् ।

नियन्त्रणमा लिएकामध्येको ठूलो सहर खेर्सनबाट भने रुसले दुई साताअघि सेना फिर्ता गरिसकेको छ । रुसी फौज बाहिरिएसँगै खेर्सनमा युक्रेनी सेना पुगेपछि युक्रेनी झन्डा बोकेका सर्वसाधारणहरूले सडकमा खुसीयाली मनाएका थिए ।

खेर्सनमा खटिएका आफ्ना सेनाका लागि आवश्यक सामग्री आपूर्ति गर्न सम्भव नभएको बताउँदै सेना फिर्ता गरेको हो । उक्त क्षेत्रमा ३० हजार रुसी सेना तैनाथ थिए । त्यसका साथै, ५ हजार वटा सैन्य सामग्री, हतियार तथा प्रविधि पनि रुसले त्यहाँबाट हटाइसकेको छ ।

रुसी सेना फिर्ताको घटनालाई अमेरिका, बेलायतलगायतका पश्चिमा देशले ‘युक्रेनको असामान्य जित’ का रूपमा व्याख्या गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले खेर्सनमा रुसी सेना समस्यामा परेका कारण फिर्ता भएको दाबी गर्दै आएका छन् ।

पछिल्लो समय युक्रेनी फौजबाट कडा प्रत्याक्रमणको सामना गरिरहेको रुसका लागि सेना फिर्ता गर्नु बाध्यता भएको मानिएको छ । केही दिनयता युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण केही पुलहरू ध्वस्त भएका कारण निप्रोमा रुसको आपूर्ति लाइन प्रभावित भएको थियो ।

जसका कारण रुसले आफ्ना हजारौं नागरिकलाई डुंगाबाट अन्यत्र सारेको थियो । त्यसका साथै प्रतिकूल मौसमका कारण पनि रुसी सेना तत्कालका लागि पछि हट्न बाध्य भएको कतिपयको भनाइ छ ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले धान नकिन्दा किसानलाई मर्का

कान्तिपुर संवाददाता

बर्दिया — मंसिर दोस्रो साता बितिसक्दा पनि राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले किसानबाट धान खरिद गरेको छैन । धान खरिद नहुँदा किसान सस्तो मूल्यमा व्यापारीलाई बेच्न बाध्य छन् । तर, हालसम्म सरकारले रकम निकासा नगर्दा धान खरिद–बिक्री प्रभावित भएको केन्द्रको भनाइ छ ।

दुई साताअघि सरकारले धानको न्यूनतम समर्थन मूल्य तोके पनि बजेट नपठाउँदा खरिद हुन नसकेको केन्द्र प्रमुख धर्मराज पन्तले बताए । ‘बजेट निकासाका लागि मुख्यालयमा पत्राचार गरिसकिएको छ तर आएको छैन । माथिको निर्देशन आउनासाथ धान खरिद प्रक्रिया अघि बढाउने छौं,’ उनले भने, ‘यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ ।’ गत वर्ष ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि बेमौसमी वर्षा र बाढीका कारण भिजेको धान खरिद भएन । नभिजेको ७ हजार क्विन्टल धान खरिद भएको थियो ।

राजापुरका किसान भने दिनहुँ केन्द्रमा धान बिक्री गर्न आउँछन् । तर, केन्द्रले माथिको निर्देशन नआउँदा धान खरिद गर्न नसक्ने भन्दै किसानलाई फिर्ता पठाइरहेको छ । राजापुर–१ का किसान नरेश थारूले केन्द्रले धान खरिद नगर्दा व्यवसायीबाट उचित मूल्य नपाएपछि घर फर्काएको गुनासो पोखे । उनीजस्ता धेरै किसानले धान फिर्ता गरे पनि घरखर्च टार्न साना किसानले भने सस्तोमै व्यापारीलाई धान बेचिरहेका छन् ।

सरकारले मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ९ सय ६७ रुपैयाँ र मसिनो धानको ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । तर, किसान व्यापारीलाई २ हजार ५ सयदेखि २ हजार ६ सय रुपैयाँसम्ममा धान बिक्री गर्दै आएको बताउँछन् । सरकारले छिटोभन्दा छिटो धान खरिद गर्ने व्यवस्था मिलाउन यहाँका किसानले माग गरेका छन् । पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हुन् ।

१६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा यहाँ धान खेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख कृष्ण धितालले बताए । १४ हजार हेक्टरमा सिँचाइ र २ हजार हेक्टरमा आकाशेपानीको भरमा यहाँ धान खेती हुँदै आएको उनले जनाए ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×