अस्ट्रेलियामा विद्यार्थी भिसा दर घट्यो- विश्व - कान्तिपुर समाचार

अस्ट्रेलियामा विद्यार्थी भिसा दर घट्यो

भेट कोर्स (व्यावसायिक शिक्षा) अध्ययनका लागि आवेदन दिने १२ प्रतिशतले मात्र पाए भिसा
नारायण खड्का

अस्ट्रेलिया — अध्ययनका लागि अस्ट्रेलिया आउन आवेदन दिएका नेपाली विद्यार्थीलाई दिने भिसा दर आधाले घटेको छ । अस्ट्रेलियाली गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली विद्यार्थीलाई दिइने भिसा दरमा आधाभन्दा बढीले कमी आएको देखिएको हो ।

त्यस्तै, नेपालबाट अध्ययनका लागि आउन चाहने नेपाली विद्यार्थीको भिसा आवेदनमा समेत गत वर्षको तुलनामा कमी आएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अलग–अलग शीर्षकमा छुट्याइएको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको आवेदनमध्ये यस वर्ष जम्मा ६८ प्रतिशतलाई भिसा दिइएको छ । यो गत वर्ष ९३ प्रतिशत थियो । तथ्यांकअनुसार भेट कोर्स (व्यावसायिक शिक्षा) अध्ययन गर्न आउने नेपाली विद्यार्थीको भिसा आवेदन झन्डै ९० प्रतिशतले खारेजीमा परेको छ । यस आर्थिक वर्षको सेप्टेम्बरसम्ममा भेट कोर्स अध्ययनका लागि आवेदन दिएका जम्मा १२ प्रतिशत आवेदनकर्ताले मात्र भिसा पाएका छन् । गत आर्थिक वर्षमा ६९ प्रतिशतले पाएका थिए ।

अस्ट्रेलियास्थित अध्यागमन विभागको तथ्यांकअनुसार अस्ट्रेलियामा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्यामा नेपाली अहिले पनि चीन र भारतपछि तेस्रो स्थानमा छन् । पछिल्लो समयमा अधिकांश नेपाली विद्यार्थीले आवेदनका क्रममा बुझाएका कागजपत्र नक्कली रहेको भन्दै कडाइ गरिएपछि नेपाली विद्यार्थीले भिसा पाउने दरमा व्यापक कमी आएको यस क्षेत्रका जानकारहरूको भनाइ छ । विद्यार्थीको आवेदन संख्यामा समेत यस वर्ष अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा कमी आएको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षको सेप्टेम्बरसम्म अस्ट्रेलियामा अध्ययनका लागि २६ हजार बढीले आवेदन दिएका थिए । जसमा उच्च शिक्षा अध्ययनका लागि १३ हजार २ सय र भेट कोर्सका लागि करिब १३ हजारको आवेदन परेको थियो । यस वर्षको सोही समयमा उच्च शिक्षाका लागि ५ हजार २ सय र भेट कोर्सका लागि १ हजार ५ सयको मात्र आवेदन परेको छ । अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाता तथा माइग्रेसन एजेन्टहरूसमेत नेपाली विद्यार्थीहरूको भिसा दर पहिलेको तुलनामा धेरै कम भइरहेको स्विकार्छन् । उनीहरू पछिल्लो समयमा अस्ट्रेलिया सरकारले कडाइ गरेको भन्दा पनि नेपाली विद्यार्थीहरूले आवेदन दिँदा सही कागजपत्र पेस नगरेकाले समस्या आएको दाबी गर्छन् ।

अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीले दिएको आवेदनका कागजपत्र सक्कली नभएको पाएपछि केही महिना अघिदेखि पहिलेको तुलनामा कडाइका साथ जाँच गर्न थालेको हो । जसका कारण भिसा दरमा कमी आएको व्यवसायीको भनाइ छ ।

अस्ट्रेलियास्थित शैक्षिक परामर्शदाताहरूको साझा संगठन (एक्का) का पूर्वअध्यक्ष नीरज श्रेष्ठ पछिल्लो समयमा विश्वविद्यालयहरूले समेत भर्ना लिनका लागि गरिने प्रक्रियामा कडाइ गरेको बताउँछन् । विश्वविद्यालयमा अध्ययनका लागि आउन चाहेका विद्यार्थीको भिसा अध्यागमनले रद्द गरेको खण्डमा विश्वविद्यालयको रेटिङमा समेत असर पर्ने भएकाले उनीहरूले सीओई दिने समयमा नै कडाइ गर्ने गरेको उनको भनाइ छ । अस्ट्रेलिया अध्ययनका लागि आउँदा सही कागजपत्र बनाएर र अन्य कुरा बुझेर मात्र आउन विद्यार्थीलाई उनी सुझाव दिन्छन् ।

पछिल्लो समयमा यहाँस्थित शैक्षिक संस्थाले भर्नाका लागि सबै प्रक्रिया पूरा गरिसकेर सीओई दिइसकेपछि यदि अध्यागमनले भिसा रद्द गरेको खण्डमा विद्यार्थीले बुझाएको अग्रिम शुल्क फिर्ता नआउने समस्यासमेत देखिन थालेको छ । जसका लागि यहाँस्थित शैक्षिक संस्थाले अध्ययनका लागि दिने अफर लेटरमा उल्लेख गरिएको सर्तहरू राम्ररी अध्ययन गर्नुपर्ने विज्ञहरूको सुझाव छ । सबै विद्यार्थीको भिसा लाग्छ भन्ने ग्यारेन्टी नभएका कारण आफूले शैक्षिक संस्थाबाट आएको अफर लेटरमा रकम फिर्ता (रिफन्ड) सम्बन्धी के प्रावधान राखिएको छ, त्यसबारेमा स्पष्ट

बुझ्नसमेत उनीहरूले विद्यार्थीलाई आग्रह गरेका छन् । लेटरमा राखिएको प्रावधानअनुसार नै नियमसंगत यहाँका शैक्षिक संस्थाले अग्रिम रूपमा बुझाएको शुल्क फिर्ता गर्ने गरेकाले हस्ताक्षर गर्नुपूर्व त्यसको अध्ययन गर्न महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ छ ।

अस्ट्रेलियाको शिक्षा मन्त्रालयको गत अगस्ट महिनासम्मको तथ्यांकअनुसार यहाँका विभिन्न शैक्षिक संस्थामा ५२ हजार ७ सय २० नेपाली विद्यार्थी अध्ययनरत छन् । जसमध्ये झन्डै २१ हजार ५ सय नेपाली विद्यार्थी विभिन्न विषयमा ब्याचलर र ७ हजार ५ सय मास्टर्स अध्ययन गरिरहेका छन् । अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या समग्र अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा १० प्रतिशत रहेको छ जुन चीन र भारतपछिको तेस्रो हो ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

अलग धारलाई जोड्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनौती

फरक पृष्ठभूमि र कर्मक्षेत्रबाट आएकालाई एक सूत्रमा जोड्ने राजनीतिक दर्शन बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई सजिलो छैन, आफ्ना सांसदलाई एकै लयमा मिलाएर लैजानु सभापति लामिछानेका लागि अर्को सकस देखिन्छ
घनश्याम खड्का

काठमाडौँ — नेपाली राजनीतिमा असार ७ गतेले कति दूरगामी असर पार्छ ? यसै भन्न सकिन्न किनभने भर्खरै सकिएको चुनावको जारी मतगणनाको परिणामले राजनीतिक विश्लेषकलाई चकित पार्ने गरी उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अबको पाँच वर्षमा निर्वाह गर्ने भूमिकाले धेरै हदसम्म यसको उत्तर निर्धारण गर्छ ।

अहिलेलाई धेरैले बिर्सिसकेको असार ७ मा फर्कौं, जहाँ रास्वपाका नेतृत्वकर्ता रवि लामिछानेले राष्ट्रिय सभागृहमा आफ्ना शुभेच्छुक र केही ‘इनर सर्कल’ का सदस्यबीच नयाँ दलको घोषणा गरेका थिए । ‘राजनीतिलाई पुराना दलहरूले फोहोरी खेल बनाए पनि यो देश बदल्ने एउटै माध्यम’ भन्दै रविले नयाँ दल घोषणा गर्नुपर्नाको औचित्य पेस गरेका थिए घोषणासभामा । ‘त्यो फोहोर सफा गर्न जाँदा मेरो जीउमा पनि फोहोर लाग्न सक्छ र केही क्षणका लागि म फोहोरी देखिन सक्छु तर तपाईंहरू नझुक्किनुहोला,’ उनले भनेका थिए, ‘मैले सफा गर्दा लागेको हिलो र त्यो दुर्गन्धित हिलो एउटै नठान्दिनुहोला, म केही समय माग्छु तपाईंहरूसँग ।’

रविले यसो भन्दै गर्दा राजनीतिक विश्लेषकको कानसम्म पनि उनको कुरा पुग्न सकेन । तर हतारहतार उनले चुनावी तयारी भने गरे । रविको दल कतिसम्म हतारमा गठन भएको थियो भने उनले कोषाध्यक्ष पनि ‘मनले खाएको’ खोज्न सकेनन्, धादिङकी सामाजिक अभियन्ता बसुमाया तामाङलाई सहकोषाध्यक्ष बनाएर अघि बढे । कोषाध्यक्षको पद अहिले पनि उनको दलमा खाली छ । चौथो भए पनि सरकार निर्माणमा झन्डै निर्णायक हैसियतको दल बन्ने संकेत देखिएको रास्वपाका पदाधिकारी एकआपसबीच उति परिचित छैनन् । न विजेताहरू नै एकअर्कालाई लामो समयदेखि चिन्छन् ।

अलग–अलग पृष्ठभूमि र कर्मक्षेत्रबाट आएकाहरूलाई एक सूत्रमा जोड्ने राजनीतिक दर्शन बनाउन रास्वपालाई सजिलो छैन । आफ्ना सांसदलाई एकै लयमा मिलाएर लैजानु यसका सभापति रवि लामिछानेका लागि अर्को चुनौती हो । ‘हामी एकअर्कालाई राम्रोसँग चिन्दैनौं,’ रास्वपाका केन्द्रीय सदस्य तथा प्रेस संयोजक गणेश कार्की भन्छन्, ‘हतारमा गठन भएको हुनाले एकअर्काको पृष्ठभूमि जम्मै थाहा पनि छैन ।’ मतगणनाको अन्तिम परिणाम आइसकेपछि छिट्टै नै अब कसरी अघि बढ्ने भन्नेबारे पार्टीमा छलफल हुने उनले बताए ।

अबको रणनीति बनाउन छलफल हुनै बाँकी रहेको ललितपुर–३ बाट निर्वाचित रास्वपाकी सांसद डा. तोसिमा कार्की बताउँछिन् । ‘चुनाव जित्नेहरूबीच भेटघाट गरेर छलफल पनि हुन पाएको छैन,’ उनले भनिन् । उनी प्रतिनिधिसभा सदस्यका लागि निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्काभन्दा १८ हजार २ सय बढी मत अर्थात् ३१ हजार १ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । पाटन अस्पतालकी जनरल सर्जन ३३ वर्षीया तोसिमा राजनीतिमा कुनै दर्शनले डोर्‍याएर होइन, बेथितिबाट वाक्क भएर आएकी हुन् ।

चिकित्सक भएर काम गर्दा स्वास्थ्य क्षेत्रमा भएको भद्रगोल अवस्था र राजनीति गर्नेहरूले यसबाट लिएको अनुचित लाभका विरुद्ध आफू राजनीतिमा आएको उनको स्पष्टोक्ति छ । स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक पहल गर्नुपर्ने डा. गोविन्द केसीको माग र उनका सत्याग्रहरूमा साथ दिँदै आएकी उनी अब पनि आफ्नो प्रयास एक सांसदका रूपमा उही नै हुने बताउँछिन् । अस्पतालको जागिरबाट राजीनामा दिएर रास्वपाका लागि चुनावी मैदानमा उत्रिएकी तोसिमालाई उनको उम्मेदवारीले भन्दा मेडिकल काउन्सिलमा उनको आबद्धताको कारण देखाउँदै उम्मेदवारी खारेज गर्नु निर्वाचन आयोगको निर्णय र त्यसविरुद्ध सर्वोच्चको आदेशले चर्चामा आइन् ।

तोसिमाले आफूमाथि मतदाताले सुम्पिएको यो विश्वास कायम राखिराख्न सक्लिन् त ? ‘म सक्दो प्रयास गर्नेछु,’ उनी भन्छिन्, ‘स्वास्थ्य क्षेत्रको निरन्तर सुधार र गुणस्तरीय सेवाको उपलब्धतामा म हिजो पनि थिएँ र अब पनि लागिरहेर त्यो विश्वासलाई कायम राख्छु ।’

भर्खरै गठन भएको हुनाले रास्वपाले धेरै निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागि सार्वजनिक आह्वान गरेको थियो । यसरी आह्वान गर्दा इच्छुकले अनलाइनमा आवेदन दिन सक्थे । केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार छोटो समयमै १५ सयजतिले उम्मेदवारी दिन तत्पर रहेको आवेदन पेस गरे । रास्वपाले प्रत्येक उम्मेदवारको प्रहरी रिपोर्ट, शैक्षिक योग्यताको प्रमाणपत्र तथा कुनै पनि नैतिक पतन हुने काम नगरेको स्वघोषणा गर्न पनि आह्वान गरेको थियो । ‘आएकामध्ये ४ सयले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजात पेस गर्नुभयो,’ कार्की भन्छन्, ‘त्यसमध्ये पनि हामीले सर्ट लिस्ट गरेर प्राइमरी इलेक्सन गरी उम्मेदवारहरू छान्यौं ।’ कतिपय उम्मेदवारलाई चाहिँ रास्वपा आफैंले उम्मेदवारीका लागि आग्रह गरेको थियो । डा. तोसिमा यसरी आग्रह गरिने थोरै उम्मेदवारमध्येकी एक थिइन् ।

काठमाडौं–२ की विजेता सोविता गौतम र ७ का विजेता गणेश पराजुली सुरुमा गठन भएको २१ सदस्यीय पार्टी कमिटीका केन्द्रीय सदस्य थिए । काठमाडौं–६ का विजेता शिशिर खनाल र ८ का विराजभक्त श्रेष्ठले उम्मेदवारी दिनका लागि आफैंले रास्वपासँग प्रस्ताव राखेका थिए भने चितवन–१ बाट जित हासिल गरेका हरि ढकाल रास्वपा टिमले भेट्नुअघि स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिसकेका थिए ।

एमालेको विद्यार्थी राजनीतिक पृष्ठभूमि भएका सेयर बजारका लगानीकर्ता ढकाल किन पनि चर्चामा छन् भने उनले कुनै समयका आफ्नै नेता पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतको अन्तरमा ३४ हजार १ सय ८९ मत ल्याई हराए । स्थानीय तह निर्वाचनका बेला काठमाडौंमा मेयर बालेन्द्र साहको चुनावी अभियानमा पनि जोडिएका ३८ वर्षीय ढकाल ठूला दलप्रतिको वितृष्णाका कारण राजनीतिमा उत्रिएको बताउँछन् । ‘तिनै पार्टी, तिनै नेताहरूले यहाँको चाहना, आवश्यकता बुझ्न सक्ने नदेखेर म नयाँ ढंगले अगाडि बढेको हुँ,’ उनले भने ।

अमेरिकामा उच्च शिक्षा पढेर आएका पुर्ख्यौली घर तनहुँका शिशिर खनाल ‘टिच फर नेपाल’ का संस्थापक हुन्, जसले सरकारी स्कुलमा गुणस्तरीय पठनपाठनको अभियान सुरु गरेका थिए । पछिल्लो समय उनले ‘पिक एन्ड ड्रप’ नामको सामान अनलाइन डेलिभरी गर्ने व्यवसाय सम्हाल्दै आएका थिए । चर्चित उम्मेदवार कांग्रेसका भीमसेनदास श्रेष्ठ र एमालेका सर्वेन्द्र खनालभन्दा झन्डै दोब्बर मतले चुनिएका ४१ वर्षीय शिशिर आफ्नो व्यवसाय र शैक्षिक अभियानले गर्दा युवामाझ परिचित नै थिए । काठमाडौं–७ बाट विजयी केन्द्रीय सदस्य गणेश पराजुली हस्पिटालिटी व्यवसायका साथै हस्तकलाका सामान विदेश निर्यातमा संलग्न छन् । ३९ वर्षीय पराजुलीको थप पृष्ठभूमि आफूलाई थाहा नभएको प्रेस संयोजक कार्कीले बताए ।

काठमाडौं–८ का बहुप्रचारित स्वतन्त्र उम्मेदवार सुमन सायमीको लौरो चिह्नविरुद्ध दोब्बर मतले विजयी भएका शिशिरकै उमेरका विराजभक्त श्रेष्ठ यसअघि विवेकशील साझाबाट वाग्मती प्रदेशका लागि प्रदेशसभा सदस्य भएका थिए । यसरी अलग–अलग पृष्ठभूमि र अभियानबाट आएकाहरू संसद्मा एउटै लयमा प्रस्तुत होलान् कि नहोलान् भन्ने प्रश्न आम रूपमा उब्जिनुलाई काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम स्वाभाविक ठान्छिन् । ‘हाम्रा पृष्ठभूमि अलग होलान् र विचार पनि एकै नहोला तर हामी एकै लयमा नजानुको विकल्प छैन,’ उनले भनिन्, ‘एउटै लयमा गएनौं भने जुन परिवर्तनका लागि युवाको उदय भयो र हाम्रो पार्टीको उदय भयो, त्यो सबै संकटमा पर्छ ।’

दोलखामा जन्मी–हुर्की पेप्सीकोलामा बस्दै आएकी २७ वर्षीया सोविता रास्वपाबाट चुनिएका सात सांसदमध्ये सबभन्दा कान्छी हुन् । २२ वर्षकी हुँदा उनले नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार भन्ने कार्यक्रम सुरु गरिन्, जो कोभिड सुरु नहुन्जेलसम्म पाँच वर्ष चल्यो । त्यसपछि केही समयका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा प्रेस संयोजक भइन् । कानुनमा स्नातक उनी पछि त्यहाँ सहायक कानुनी सल्लाहकार पनि भइन् । रास्वपा गठन हुने भएपछि रविको टोलीले सोवितालाई पनि केन्द्रीय सदस्यका रूपमा पार्टीमा सामेल गरायो । पार्टीका अन्य पदाधिकारी पनि अलग पृष्ठभूमिका छन् । उपसभापति डोरप्रसाद अर्याल होटल तथा रेस्टुरेन्ट व्यवसायी हुन् ।

पुर्ख्यौली घर धादिङ भएका ४४ वर्षीय उनी अहिले काठमाडौंमै बस्छन् । प्रवक्ता तथा महामन्त्री मुकुल ढकाल एमबीबीएस डाक्टर हुन् । रविको अगुवाइमा बनेको कालीकोटको रासकोट अस्पताल निर्माणमा २९ वर्षीय ढकालको सक्रिय भूमिका थियो । गोरखामा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पराजित कवीन्द्र बुर्लाकोटी रास्वपाका महामन्त्री हुन् । उनको पूर्वशिक्षक तथा सामाजिक अभियन्ताको पृष्ठभूमि छ । त्यस्तै, प्रेस संयोजक कार्की मोरङ शनिश्चरेका हुन् । वातावरण विज्ञान पढेका ३७ वर्षीय उनी यसै क्षेत्रको परामर्शदाताका रूपमा काम गर्थे । पार्टी गठन भएको दुई महिनापछि उनका साथ डा. अरनिको पाण्डे र सुमना श्रेष्ठ पनि केन्द्रीय सदस्य हुन पुगेका थिए ।

सभापति रविनिकट मानिने दीपकराज बोहरा अर्का केन्द्रीय सदस्य हुन्, जो रविसँगै कुनै समय पत्रकारिता गर्थे । अर्का केन्द्रीय सदस्य विपिनकुमार आचार्य ‘को बन्छ करोडपति’, ‘क्राइम प्याट्रोल’ लगायत टीभीका कार्यक्रम उत्पादक हुन् ।

‘हामी अलग पेसा र अभियानबाट आएका भए पनि उद्देश्य एउटै छ, त्यही उद्देश्य नै हामीलाई जोड्ने साझा सेतु हो,’ सोविता भन्छिन्, ‘त्यो उद्देश्य भनेको पुराना दलले सिर्जना गरेको बेथितिको अन्त्य गर्नु, भ्रष्टाचारलाई खत्तम पार्नु र देशलाई बस्न लायक बनाउनु । यसमा हामीबीच मतान्तर आउने छैन ।’

प्रकाशित : मंसिर ९, २०७९ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×