कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी लगानी भित्र्याउँदै श्रीलंका

एजेन्सी

कोलम्बो — श्रीलंकाले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने जनाएको छ । श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिंघेले विदेशी लगानी आकर्षित गर्न श्रीलंकाका पश्चिमी र उत्तर पश्चिमी प्रान्तका साथै हम्बनटोटा र त्रिन्कोमाली जिल्लामा नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने बताएका हुन् ।

विदेशी लगानी भित्र्याउँदै श्रीलंका

राष्ट्रपति विक्रमासिंघेले सन् २०२३ को बजेट संसद्मा प्रस्तुत गर्ने क्रममा प्रत्येक क्षेत्रका लागि कम्तीमा एक हजार ‘एकड’ जमिन छुट्याइने सोमबार बताएका हुन् । उनले लगानी र बाह्य व्यापार प्रवर्द्धनका लागि अनुकूल वातावरण सिर्जना गर्न नयाँ एजेन्सी स्थापना गरिने जनाए । आगामी १० वर्षमा वार्षिक तीन अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने श्रीलंकाको योजना रहेको उनको भनाइ छ ।

राष्ट्रपति विक्रमासिंघेले सरकारी राजस्व वृद्धिका लागि सार्वजनिक सेवा र करसम्बन्धी मूल्यांकन र सिफारिस गर्न राष्ट्रपति आयोग गठन गरिने बताए । उनले परिमाणात्मक र गुणात्मक तथ्यांकका आधारमा उत्पादकत्वका विषयमा अनुसन्धान र अध्ययन गर्न राष्ट्रिय उत्पादकत्व आयोग गठन गर्न पनि प्रस्ताव गरेका छन् । आयोगले व्यापार समायोजन कार्यक्रमका सम्बन्धमा सुझाव दिने र उद्योग, वाणिज्य र व्यापारसम्बन्धी लघु आर्थिक नीतिका सम्बन्धमा सरकारलाई सुझाव दिनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रस्ताव गरेको सुधार आर्थिक स्थायित्वमा केन्द्रित भएकाले सरकारको आर्थिक सुधार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग भएको सम्झौतामा मात्र सीमित नहुने उनको भनाइ छ । सरकारले सुधार र आधुनिकीकरणमार्फत सातदेखि आठ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अपेक्षा गरेको विक्रमासिंघेले बताए ।

विक्रमासिंघेले आर्थिक रूपान्तरणका लागि आवश्यक विधायिकी संशोधन र नयाँ विधेयक छिट्टै संसद्मा पेस गरिने जनाए । सन् २०२२ को जुलाई २१ मा राष्ट्रपति बनेका विक्रमासिंघेले हाल श्रीलंकाको अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित : कार्तिक २९, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?