इरानी महिला अमिनीको मृत्युको विरोधमा युरोपभर प्रदर्शन

ददी सापकोटा

पेरिस — इरानमा प्रहरी हिरासतमा मृत्यु भएकी महिला महसा अमिनीको मृत्युको विरोधमा शनिबार युरोपभर प्रदर्शन गरिएको छ । शनिबार युरोपेली नागरिकहरू उक्त घटनाको विरोधमा युरोपभर सडकमा उत्रिएका हुन् । फ्रान्सको राजधानी पेरिस, तुलुज, लियों, मासेई, जर्मनीको फ्य्रांकफर्ट, कोलोन र बर्लिन, इटालीको रोम र मिलान, स्पेनको बार्सिलोनालगायत दर्जनौं सहरमा विरोध प्रदर्शन गरिएको छ ।

इरानमा आमिनीको मृत्युको विरोधमा भैरहेको प्रदर्शनको समर्थनमा पेरिस र फ्रान्सका करिब एक दर्जन सहरमा भेला भएका मानिसहरूले विरोध गरेको फ्रान्सेली मिडियाहरूले लेखेका छन् ।

पेरिसमा ‘महिला, जीवन, स्वतन्त्रता’ जस्ता नारा लगाएर इरानी झन्डा र प्लेकार्डहरू फहराउँदै प्रदर्शनकारीहरूले पेरिसको द रिपब्लिकन चोकसम्म जुलुस निकालेका थिए ।

र्‍यालीमा सहभागीहरूले महिलामाथि हुने अत्याचारको अन्त्यसँगै इरानी जनताले वास्तविक स्वतन्त्रता चाहेको भन्दै नारा लगाएका थिए । फ्रान्सको तुलुज, मासेई, लियोंलगायत दर्जनौं सहरमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले ‘महसा आमिनी’ लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

उनीहरूले ‘हामीलाई इस्लामिक शासन चाहिँदैन । हामी दूराचारवादी शासन चाहँदैनौं । हामी लोकतान्त्रिक शासन चाहन्छौं । ईरानमा गणतन्त्र चाहिन्छ‚’ जस्ता नारा लगाएका थिए ।

त्यसैगरी, इटालीको रोम र मिलान सहरमा भेला भएका सयौं प्रदर्शनकारीले इरानको सरकार र केही दिनदेखिको प्रदर्शनमा भएको भड्किएको हिंसा र दमनविरुद्ध प्रदर्शन गरेका थिए । त्यहाँ पनि प्रदर्शनकारीहरूले महसा अमिनीको तस्बिर बोकेका थिए । सान् जियोभन्नी स्क्वायरमा भेला भएका उनीहरूले ‘ नारी, जीवन, स्वतन्त्रता’ को नारा लगाएका थिए ।

शनिबार स्विट्जरल्यान्डको जेनेभा, बेलायतको लन्डन, स्विडेनको स्टकहोमलगायत दर्जनौं सहरमा विरोध प्रदर्शन गरिएको फ्रान्सेली मिडियाहरूले उल्लेख गरेका छन् ।

सेप्टेम्बर १६ मा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि भएको प्रदर्शनले इस्लामिक गणतन्त्रलाई एक महिनाभन्दा लामो समयदेखि आन्दोलित बनाइरहेको छ । मध्यपूर्वमा सुरु भएको प्रदर्शन बिस्तारै युरोपलगायत विश्वका अन्य भूभागमा पनि फैलिँदै गएको छ ।

महिलाका लागि देशले तोकिएको कडा इस्लामिक पोसाक कोडको उल्लङ्घन गरेको आरोपमा हिरासतमा राखिएको तीन दिनपछि अमिनीको मृत्यु भएको थियो । त्यसपछि आन्दोलन चर्किंदै गएको छ ।

प्रकाशित : कार्तिक १३, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

एयर फ्रान्स ट्राफिकद्वारा तीन दिने हडताल घोषणा

ददी सापकोटा

पेरिस — एयर फ्रान्स ट्राफिकद्वारा सेप्टेम्बरको अन्त्यमा तीन दिने हडताल घोषणा गरेकोले कम्तीमा दुई हजार उडान रद्द हुने भएको छ । फ्रान्स एयर ट्राफिकले तलब, भत्ता र अन्य सुविधासहित थप माग गर्दै सेप्टेम्बरको २८, २९ र ३० का दिन हडताल आह्वान गरेका हुन् । यो हडतालले युरोपभरिका दर्जनौं विमान कम्पनीका उडानसमेत प्रभावित हुनेछन् ।

गत शुक्रबार पनि तलब र भर्तीको मुद्दालाई लिएर एयर ट्राफिक नियन्त्रकहरूले राष्ट्रिय हड्ताल गरेपछि फ्रान्समा शुक्रबार आन्तरिक र केही अन्तर्राष्ट्रिय गरी करिब एक हजार उडानहरू रद्द गरिएको थियो । हवाई ट्राफिक हडतालका कारण एयरलाइन्सहरू आफ्नो तीन दिनको तालिकामा आमूल कटौती गर्न बाध्य हुने छन् । जसकारण जारौं यात्रुले गम्भीर अवरोधको सामना गर्नुपर्नेछ ।

कर्मचारी युनियनका मागहरुलाई सुनुवाइ नगरेको भन्दै एयर ट्रफिक कर्मचारीहरुले गत शुक्रबार पनि हडताल गरेका थिए । फ्रान्सको उड्डयन प्राधिकरण (डिजिएसी) ले अहिलेसम्म आफ्ना मागबारे सुनुवाइ नगरेको भन्दै २८, २९ र ३० सेप्टेम्बरमा हडताल गरेको युनियनले उल्लेख गरेको छ ।

यदि युनियनसित फ्रान्सको उड्डयन प्राधिकरणले युनियनसित सम्झौता नगरेमा फ्रान्सका मात्रै होइन युरोपभरिका सयौं उडान प्रभावित हुनेछन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक फ्रेडरिक सोलानोले भने कर्मचारीका मागबारे चर्चा र सम्पर्क गर्न नरोकिएको र छलफल जारी रहेको बताएका छन् । फ्रान्सको फ्रान्स हवाई ट्राफिक नियन्त्रक युनियन मुख्य संघ (एसएनसिटिए) ले तलब र कामको अवस्थालाई लिएर हडताल आह्वान गरेको जनाएको छ । युनियनले मुद्रास्फ्रीतिले कामदारको तलब घटेकाले मुद्रास्फ्रीति अनुसारको तलब हुनुपर्ने, कामको ज्याला वृद्धि र कर्मचारी अभाव रहेकाले थप भर्तीको माग गरेको छ ।

युनियनका सदस्यहरूमा ब्यागेज ह्यान्डलरहरू र प्राविधिक एयरपोर्ट स्टाफसमेत छन् । ती सबैले सेप्टेम्बर २९ मा बिहान साढे ४ देखि ७ बजेको बीचमा काम छोड्ने जनाएका छन् ।

युरोपमा न्युन भाडा (लो कस्ट) मा उडाउने भनिएका रायन् एयर, एजिजेटजस्ता प्रत्येक विमान कम्पनीका प्रत्येक दिन करिब ४ सय, एयर फ्रान्सका छोटो र मध्यम दुरीका ५५ प्रतिशत र लामो दुरीका १० प्रतिशत उडान रद्द हुने अनुमान छ ।

प्रकाशित : आश्विन ५, २०७९ २२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×