कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युनिफिकेसन चर्चमा संलग्‍न रहेका जापानी मन्त्रीले दिए राजीनामा

एजेन्सी

काठमाडौँ — युनिफिकेसन चर्चसँगको सम्बन्धको विषयमा स्पष्ट रुपमा जानकारी गराउन असफल भएपछि जापानको आर्थिक पुनरुत्थानमन्त्रीले राजीनामा दिएका छन् । मन्त्री दाइशिरो यामागिवाको राजीनामा प्रधानमन्त्री फुमियो किशिदाका लागि धक्का भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

युनिफिकेसन चर्चमा संलग्‍न रहेका जापानी मन्त्रीले दिए राजीनामा

गत वर्ष फुमियो प्रधानमन्त्री भएपछि राजीनामा दिने दाइशिरो पहिलो मन्त्री हुन् । यामागिवाले सञ्चारकर्मीहरुलाई आफ्नो कार्यप्रति पश्चताप व्यक्त गरेता पनि माफी भने मागेनन् । उनले आफूले कुनै गैरकानुनी काम नगरेको भन्दै सांसद भने भइरहने बताएका छन् ।

गत साता मात्रै जापानी प्रधानमन्त्री फुमिओले दक्षिण कोरियाको विवादास्पद धार्मिक समूह 'युनिफिकेसन चर्च' को सत्तारुढ दलसँगको सम्बन्ध र विवादबारे अनुसन्धान गर्न आदेश दिएका थिए । सुरुमा जाँचका लागि अनिच्छुक देखिएका प्रधानमन्त्री फुमिओले आफ्नो राजनीतिक भविष्यलाई बचाउनका लागि अनुसन्धानका लागि तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका थिए ।

'फेमिली फेडेरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेसन' नामक सो संस्था पूर्वजापानी प्रधानमन्त्री सिन्जो आबेको हत्यापछि थप चर्चामा छ ।

आबेको हत्या अभियुक्त तेत्सुया यामागामीले आबे युनिफिकेसन चर्चलाई समर्थन गर्ने राजनीतिज्ञ भएकाले नै आफूले हत्या गरेको बयान दिएका छन् । उनले आफ्नो परिवार टाट पल्टिनुमा चर्चको भूमिका रहेको दाबी गर्दै आएका छन् । समाचारहरूका अनुसार अभियुक्त यामागामीकी आमाले दुई दशकअघि चर्चलाई ठूलो रकम चन्दा दिएको बताइएको छ ।

दोस्रो विश्वयुद्धपछि जापानको प्रधानमन्त्री बनेका आबेका हजुरबा नोबुसुके किशीले जापानमा युनिफिकेसन चर्च स्थापना गर्न सहयोग गरेका थिए । आबेको हत्यापछि सत्तारुढ लिबरल डेमोक्य्राटिक पार्टी (एलडीपी)का सयौं सांसदहरूको सम्बन्ध उक्त चर्चसँग देखिएको थियो ।

सो दलको २ सय ५९ सांसदहरूमध्ये आधा सांसदको चर्चसँग सम्बन्ध रहेको अन्तर्राष्ट्रिय समाचार संस्था गार्जियनले उल्लेख गरेको छ । आबेको हत्यापछि सुरु भएको यो विवादले प्रधानमन्त्री किशिदालाई रक्षात्मक अवस्थामा पुर्‍याएको छ । सो विवादपछि किशिदाको लोकप्रियता घटेको छ ।

युनिफिकेसन चर्चमा नेपालका राजनीतिक दलसम्बद्ध नेताहरूको समेत संलग्नता रहेको भन्दै यसको विरोध हुने गरेको छ । विशेषगरी परिवार दल युनिफिकेसन चर्चसँग सम्बन्धित रहेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा एमालेको समानुपातिक सूचीमा खस-आर्य समूहमा दोस्रो नम्बरमा रहेका छन् ।

प्रकाशित : कार्तिक ७, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?