बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता- विश्व - कान्तिपुर समाचार

बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

ददि सापकोटा

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, होडिङ बोर्ड र अन्य चम्किला बत्ती निभाउँदै रातिराति छापा मार्ने गरेका हुन् ।

सरकारले मानिसहरूलाई बिजुलीको प्रयोग कटौती गर्न आग्रह गरेको भए पनि रातभर कम्पनीका चिह्न र विज्ञापनका बत्तीहरू बाल्न भने दिएको भन्दै युवाहरूले राति छापा मारेर निभाउँदै हिँड्ने गरेका हुन् ।

सरकारले त्यस्ता विज्ञापनहरूलाई छुट दिएपछि पेरिस जलवायु कार्यकर्ताहरूले जनता र स्थानीय तहको ध्यान आकर्षित गर्न र नागरिक अवज्ञाको प्रयोग गर्न छापा मार्नुपरेको बताएका छन् ।

पेरिसको प्रमुख कार शो मोन्डियल दे अटोमा शुक्रबार साँझ जलवायु संरक्षण पक्षधर केही कार्यकर्ता पसेर बत्ती निभाएको र ती कारमा बत्ती नबाल्ने सन्देश टाँसेर छोडेका थिए ।

'ठूला उद्योग र कार कम्पनीहरूले प्रदूषक उद्योगको निन्दा गरिरहेका छन् । उनीहरू हरित यातायातको कुरा गरेर आफ्नो छविलाई हरितवादी बनाउन खोजिरहेका छन्, तर उनीहरूले व्यक्तिगत कार स्वामित्वलाई भविष्यको यातायातको रूपमा प्रवर्द्धन गर्न जारी पनि राखिरहेका छन्,' समूहको विज्ञप्तिमा भनिएको छ ।

शनिबार राति ९ बजे जलवायुवादी कार्यकर्ताहरू राति छापा मार्न निस्किनुअघि रणनीतिक ब्रीफिङको लागि भेला भएका थिए ।

'फ्रान्समा एक करोड २० लाख मानिसहरू चिसोमा बस्न बाध्य हुँदैछन्, किनभने तिनीहरूले आफ्नो घर तताउन सक्दैनन् । अर्कोतर्फ हामी यो ऊर्जा पूर्ण रूपमा बेकार विज्ञापन चिह्नहरूमा बर्बाद गर्दैछौं,' आन्दोलनकर्ताहरूको भनाइ छ ।

बाहिरी बत्तीका स्विचहरूमा पुग्न टेलिस्कोपिक पोलहरूसहित भर्‍याङ, पोस्टर र उपकरणहरू वितरण गरेका छन् । प्रहरीले उनीहरूलाई देखे पनि आफूहरू नभाग्ने उनीहरूले बताएका छन् ।

सरकार, स्थानीय निकाय दुवैले जनतामाथि अन्याय गरेकाले कानुनी जोखिम र पक्राउ पर्न सक्ने जोखिम लिन तयार रहेको जलवायुकर्मीहरूको भनाइ छ । उनीहरूले यो अन्यायका विरुद्ध आम जनतालाई जाग्रित गराउने बताएका छन् ।

जनताको घर अँध्यारो हुँदा पनि भेसाई दरबारमा पहिलेका राजाहरूले झलमल्ल बत्ती बालेर बस्ने गरेकाले अनावस्यक रुपमा बत्ती बाल्दा 'से पा भेसाई (यो बेसाई दरबार होइन)' भन्ने गाली गर्ने उक्ति चलेकाले त्यसको पोस्टर बनाएर अभियानकर्ताहरूले भित्ता भित्तामा टाँस्ने गरेका छन् ।

अभियानकर्ताहरूले अप्टिसियनहरू, ज्वेलर्सहरू, अत्तर बुटीकहरू, गहना, गाडी र गद्दा पसलहरू साथसाथै धेरै उज्यालो बिलबोर्डहरूलाई लक्षित गरेका छन् । तिनीहरूलाई स्विच अफ गर्ने र तिनीहरूको आफ्नै पोस्टरहरूले बत्तीका विज्ञापनहरू छोपिदिने गरेका छन् ।

रुसले युरोपमा ग्यास निर्यातमा रोक लगाएपछि दबाबमा रहेको सरकारले जाडो नजिकिँदै गर्दा विशेषगरी घरमा ताप्ने थर्मोस्टेटलाई १९ डिग्री सेल्सियसमा घटाएर ऊर्जा संयमता देखाउन मानिसहरूलाई आग्रह गरेको छ।

सरकारले जुन २०२३ बाट सुरु हुने गरी बिहान एक बजे देखि ६ बजेसम्म प्रकाश चिह्न र विज्ञापन बन्द गरिनुपर्ने एक आदेश पनि जारी गरेको छ ।

पेरिसका सहरका अधिकारीहरूले डिसेम्बरबाट राति पौने १२ बजेदेखि बिहान ६ बजेसम्म संकेत र विज्ञापन बत्ती निभाउन आदेश दिएका छन् । अभियानकर्ताहरूले यसलाई पहिलो चरणको कार्यक्रम भनेका छन् ।

'यो पहिलो चरण हो। यो जागरूकता र रोकथामको बारेमा हो । जसले बत्तीहरू रातभरि बाल्छन्, बर्बादी जारी राख्छन्, हामी दोस्रो चरणमा अगाडि बढ्ने छौं, जुन अलि साहसी हुनेछ । त्यो डिसेम्बरमा सुरु हुनेछ,' उनीहरूले सार्वजनिक गरेका छन् ।

केही पसल मालिकहरूले अभियानलाई समर्थन जनाएका छन् । बत्तीहरू बन्द गर्ने वाचा गर्दै अनावश्यक बत्ती र विज्ञापन देखिएका थलोका बारेमा अभियानकर्तालाई जानकारि दिन थालेको तिनको भनाइ छ ।

प्रकाशित : कार्तिक ६, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्

तलबवृद्धिको माग गर्दै हजारौं फ्रान्सेली मजदुर सडकमा, केही ठाउँमा झडप र तोडफोड

ददि सापकोटा

पेरिस — उच्च मुद्रास्फीति र महँगीअनुसार आफ्नो तलबवृद्धिको माग गर्दै मंगलबार सडकमा उत्रिएका हजारौं प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएका छन् । त्यस्तै केही पसलका सिसासमेत तोडफोड भएका छन् ।

कालो पहिरन लगाएर सडकमा उत्रिएका हजारौं प्रदर्शनकारीहरूले प्रहरीसँगको झडपलगत्तै केही पसलका झ्यालहरू तोडिफोड गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । तोडफोडमा उत्रिएका ११ जनालाई पक्राउ गरिएको गृह मन्त्रालयले साँझ उल्लेख गरेको छ ।

प्रहरीका अनुसार राजधानी पेरिसमा ३५ हजार सहभागी थिए भने युनियनले ७५ हजार रहेको दाबी गरेको छ । शिक्षा मन्त्रालयले आफ्नो ६ प्रतिशतभन्दा कम कामदारहरू बाहिर निस्किएको बताएको छ । तर व्यावसायिक विद्यालयहरूमा २३ प्रतिशत पुगेको भनाइ फ्रान्सेली मिडियाहरुको छ ।

विभिन्न मजदुर युनियनले तलबवृद्धिको माग र प्रतिपक्षी दलहरुले सरकारविरुद्ध मंगलबार आव्हान गरेको राष्ट्रव्यापी हडतालका कारण फ्रान्सभर सार्वजनिक यातायात, विद्यालय, ऊर्जा र इन्धन प्रशोधन केन्द्रहरु प्रभावित भएका छन् । मजदुर युनियनहरूको राष्ट्रव्यापी हडतालका कारण क्षेत्रीय रेलहरुको संख्या करिब आधाले कटौती गरिएको थियो ।

कर्मचारी हडतालका कारण यात्रुहरूले ढिलाइको सामना गर्नुपर्‍यो । राष्ट्रव्यापी हडतालबाट अवरुद्ध भएका इन्धन डिपोका कारण तेल डिपोमा घण्टौं लाइन बस्नुपरेको छ । यातायात, स्कुल, स्वास्थ्य र ऊर्जा क्षेत्रका अंशिक कर्मचारीहरुको हडतालमा सहभागिताका कारण ती सबै क्षेत्र प्रभावित भएका थिए ।

हडताल फ्रान्सका ठूला शहरहरु लियों, मार्सेई स्ट्रास्वर्ग, निस, नँत, तुलुज, मोंपलिए, बोर्दो र लिल लगायत अन्य साना शहरहरुमापनि भएको आन्दोलनको नेत्रित्वकर्ता सिजिटी युनियनको भनाइ छ । अधिकांश शहरका प्रदर्शनकारीहरुले फ्रान्सेली जनताको जीवन असुरक्षा, बढ्दो महँगी, मुद्रा स्फिति र सरकारी रवैयाका कारण चक्कुको धारमा अडिएको आरोप लगाएका छन् । प्रदर्शनीकारीले जनताको न्यूनतम आवश्यकता पूरा गर्न पनि काम छोडेर सरकारविरुद्ध प्रदर्शनमा उत्रिनुपर्ने स्थिति लज्जास्पद भएको बताएका छन् ।

फ्रान्सको सबैभन्दा ठूलो प्रशोधन र इन्धन डिपो टोटल इनर्जीका कर्मचारीहरुको बहुमतले हडताल अगाडि बढाउने पक्षमा मतदान गरेपछि हडताल व्यापक बनेको हो । मंगलबार कर्मचारीहरुले आह्वान गरेको हडताललाई समर्थन गर्दै राष्ट्रपति इम्मानुएल म्याक्रोंका प्रतिपक्षी वामपन्थीहरुको गठबन्धनले पनि समर्थन गरेको थियो ।

करिब तीन सातादेखि चलेको इन्धन हडतालले अर्थतन्त्रका सबै क्षेत्रमा असर परेपछि सवारी चालकहरू ट्याङ्की भर्न सास्ती भोगिरहेका छन् । इन्धनको संकटले केही नगरपालिकाका मेयरहरुले सरकारी ठूला यातायातका ट्यांकीबाट इन्धन झिकेर एम्बुलेन्स, क्यान्टिन, आश्रम, स्कूल जस्ता अत्यावश्यक सेवाका सवारीहरुमा राख्न थालेका छन् ।

प्रधानमन्त्री एलिजाबेथ बोर्नले राष्ट्रव्यापी पेट्रोल स्टेशनहरूको एक चौथाइभन्दा कमले मात्रै अभाव भोगेको बताएकी छन् । तर मिडिया रिपोर्टहरुमा मंगलबारअघि नै ३० प्रतिशत भन्दा बढी डिपोहरुमा तेलको अभाव रहेको उल्लेख छ ।

राष्ट्रपति म्याक्रोंको सरकारले हडतालकर्तामध्ये केहीलाई इन्धन डिपोहरू खोल्न बाध्य पार्न शक्ति परिचालन गरेको भन्दै कर्मचारी युनियनहरु झनै आक्रोशित बनेका छन् । इन्धन क्षेत्रका कर्मचारीहरुको हडतालकै मौका पारेर प्रतिपक्षी वाम दलहरूको गठबन्धनले पनि सरकारविरुद्ध प्रदर्शन गरेपछि आन्दोलन निकै चर्किनसक्ने आकलन सरकारले गरेको छ । आन्दोलनलाई साम्य पार्न सरकारले तलबको मागहरू स्वीकार गर्न रोजगारदाताहरुलाई पनि दबाब दिइरहेको छ । गृहमन्त्री जेराल्ड डार्मानिनले मंगलबार फ्रान्समा मुद्रा स्फीतिसँगै कर्मचारीहरुको तलबको समस्या रहेको भन्दै रोजगारदाताहरूलाई सम्भव भएसम्म तलब बढाउन आग्रह गरेका छन् ।

फ्रान्समा बालिने अधिकांश बिजुली आणविक भट्टीबाट उत्पादन गरिने र हाल आणविक भट्टीका कर्मचारीले पनि आन्दोलन गर्ने चेतावनी दिएपछि आन्दोलनले गम्भीर मोड लिनसक्ने मिडिया रिपोर्टहरुमा उल्लेख छ । पावर ग्रिड अपरेटर आरटीईले आणविक पावर स्टेसनहरूमा सामाजिक आन्दोलन विस्तार हुनसक्ने भन्दै त्यस्तो अवस्था आएमा यही जाडोमा बिजुली वितरणमा गम्भीर परिणाम हुनसक्ने चेतावनी मंगलबार दिएको छ ।

मंगलवार साँझ फ्रान्सको राज्य ऊर्जा प्रदायक ईडीएफले रोकिएका पाँचवटा रिएक्टरहरूलाई स्ट्रिममा फिर्ता ल्याउने योजना स्थगित गरिरहेको शनिबार बताएको थियो । ईडीएफले हाल निस्क्रिय रहेका आणविक रियाक्टरहरु पुनर्संचालित गर्न नसके जाडोयाममा अप्ठेरो स्थिति आउन सक्ने उल्लेख गरेको छ ।

मेमा नयाँ राष्ट्रपति पदमा विजयी भएपछि म्याक्रोंका लागि युनियनहरूको हडताल सबैभन्दा ठूलो चुनौतीका रूपमा देखापरेको छ । एलाबे समूहले गरेको सर्वेक्षणअनुसार तीनमध्ये एक फ्रान्सेली नागरिक मुद्रास्फीति बढेअनुसार तलबवृद्धिको माग गर्न आगामी हप्ताहरूमा हडतालमा उत्रिन तयार हुने उल्लेख गरिएको छ ।

प्रकाशित : कार्तिक २, २०७९ ०६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×