कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

रुसी कमान्डर भन्छन्- 'दुवैका लागि अवस्था धेरै कठिन छ'

खेरसन क्षेत्रका प्रमुखले भने- 'सैन्य क्षेत्रमा आम नागरिकहरूका लागि कुनै स्थान छैन । रुसी सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्न दिनू' 
एजेन्सी

काठमाडौँ — युक्रेनस्थित रुसी सेनाका नयाँ कमान्डर सेर्गेइ सुरोभिकिनले खेरसन क्षेत्रको अवस्था ज्यादै कठिन रहेको बताएका छन् । युक्रेनी सेनाले आफ्नो भूभाग फिर्ता लिन आक्रमण गरिरहेका बेला रुसी सेनाबाट यस्तो प्रतिक्रिया आएको हो । जवकि रुसी फौजले उक्त क्षेत्रलाई कब्जामा लिएर त्यहाँका नागरिकहरूलाई हटाउन प्रयास गरिरहेको छ ।

रुसी कमान्डर भन्छन्- 'दुवैका लागि अवस्था धेरै कठिन छ'

अक्टोबर १० मा नियुक्त भएका रुसी वायु सेना जनरल सुरोभिकिनले हालै खेरसन क्षेत्रको अवस्था त्यहाँका नागरिक र रुसी सैनिक दुवैका लागि धेरै कठिन भएको बताएका हुन् । यद्यपि रुसी सेनाले त्यहाँका नागरिकहरूको सुरक्षित रुपमा अन्यत्र स्थानान्तर गर्ने जनरल सुरोभिकिनले बताएका छन् ।

तर रुसी सेनाको क्षेत्रमा दुश्मनले आक्रमण नरोकेको उनले बताएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उक्त क्षेत्रलाई कब्जामा लिएर बसेको रुसी सेना केही सातायता २० देखि ३० किलोमिटर पछाडि हटेको पनि बताइएको छ । र उनीहरू रुस र युक्रेनको सीमा क्षेत्रमा रहेको निपर नदीको पश्चिमी किनारसम्म पुग्नसक्ने आकलन गरिएको छ ।

यसबीचमा उत्तरी खेरसन क्षेत्रमा रहेका रुसी फौजहरूमाथि निरन्तर आक्रमण भइरहेको बताइएको छ । यसैबीच रुसी कमान्डर सुरोभिकिनले विशेष सैन्य अपरेसनको क्षेत्रको अवस्था तनावपूर्ण रहेको प्रतिक्रिया दिएका हुन् ।

यस क्रममा क्रेम्लिनद्वारा स्थापित खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्दोले युक्रेनी सेनाको आक्रमणको जोखिमका कारण अधिकारीहरूले केही सर्वसाधारणलाई बाहिर निकाल्ने निर्णय गरेको बताएका छन्। साल्दोका अनुसार युक्रेनको पक्षबाट आक्रमणका लागि ठूलो मात्रामा सेनाहरू निर्माण भइरहेको छ । हालैको अभिव्यक्तिमा उनले सैन्य क्षेत्रमा आम नागरिकहरूका लागि कुनै स्थान नरहेको पनि बताए । साथै उनले रुसी सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्न दिनका लागि पनि आह्वान गरेका छन् ।

साल्दोले भनेका छन्, 'जहाँ सैन्य कारबाही हुन्छ त्यहाँ नागरिकहरूका लागि स्थान हुँदैन । रुसी सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्न दिनुहोस् ।' युक्रेनले रुसी सेनालाई युद्ध अपराध गरेको आरोप लगाइरहेको छ भने दुवैतर्फका सेनाले नागरिकहरूलाई आक्रमण लक्षित नगरेको दाबी गरिरहेका छन् ।

प्रकाशित : कार्तिक २, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?