भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित- विश्व - कान्तिपुर समाचार

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचत भएका छन् । भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे ७ हजार ८ सय ९८ मत ल्याएर कांग्रेस अध्यक्षमा निर्वाचित भएका हुन् । थरुरले भने १ हजार ७२ मत ल्याएका थिए । कांग्रेसका ९ हजार ७ सयमध्ये ९ हजार ५ सय प्रतिनिधिले चुनावमा मतदान गरेका थिए।

सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले खड्गेको उम्मेदवारीलाई समर्थन गरेकाले उनले चुनाव सहज रुपमा जित्ने अनुमान पहिलेदेखि नै गरिएको थियो ।

१ सय ३७ वर्षअघि स्थापना गरिएको कांग्रेस पार्टीको प्रमुख छान्नका लागि छैटौं पटक चुनाव भएको हो । कांग्रेस पार्टीमा अध्यक्षमा गान्धी परिवार बाहिरका सदस्य २४ वर्षपछि निर्वाचित भएका हुन् ।

सन् १९९८ मा सीताराम केसरीलाई अपमानपूर्ण रुपमा पार्टी सभापतिबाट अपदस्थ गरिएको थियो । त्यसपछि १९ वर्षसम्म सोनिया गान्धी कांग्रेस नेता बनेकी थिइन् । २०१७ मा राहुल गान्धी सर्वसम्मत अध्यक्ष बने पनि २ वर्षपछि नै राजीनामा दिए । २०१९ मा भएको चुनावमा पराजित भएपछि उनले राजीनामा दिएका थिए ।

दलित समुदायका खड्गे कर्नाटका राज्यका बासिन्दा हुन् । ८० वर्षका खड्गे १९४२ मा बिदार जिल्लामा जन्मिएका थिए । उनको हुर्काइ भने छिमेकी जिल्ला गुलवार्गमा भयो । कानुनको अध्ययन गरेका उनी मजदुर संगठनको प्रतिनिधिको रुपमा राजनीतिमा प्रवेश गरेका थिए ।

यद्यपि विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा चासो राख्ने गरेको बताइन्छ । खड्गे १९६९ मा कांग्रेस पार्टीमा संलग्न भएका थिए ।

पार्टीका राज्य प्रमुख देवराज उर्सले उनलाई माथिल्लो जातको प्रभुत्व रहेको गुर्मत्कालबाट चुनाव लड्ने जोड दिएका थिए । सो निर्वाचन क्षेत्रबाट उनी लगातार नौ पटक सांसद निर्वाचित भएका छन् । उनले पार्टीलाई पुनर्संरचना गर्ने बताएका छन् । केन्द्रमा कम्तीमा आधा नेताहरू ५० वर्षभन्दा कम उमेरका हुने पनि बताएका छन् ।

प्रकाशित : कार्तिक २, २०७९ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्

भारोत्तोलनमा विद्यालाई कीर्तिमानसहित स्वर्ण

कान्तिपुर संवाददाता

पोखरा — नवौं राष्ट्रिय खेलकुदमा पुलिसकी विद्या राईले भारोत्तोलनको महिला ८७ केजीभन्दा माथि तौल समूहको स्न्याचमा कीर्तिमान कायम गरेकी छन् । उनले स्न्याचतर्फ ७६ र क्लिन एन्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन उचाल्दै स्वर्ण जितेकी हुन् ।

स्न्याचमा ७५ केजीको कीर्तिमान विद्याकै नाममा थियो । उनले थप एक केजी बढी उचालिन् ।

एपीएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कांस्य पदक जितेका छन् । शिखाले स्न्याचतर्फ ४० क्लिन एन्ड जर्कमा ५३ केजी गरी कुल ९३ केजी भार उचालिन् । गण्डकीलाई कांस्य दिलाएकी सिन्जलले स्न्याचमा ४० र जर्कमा ५० केजी भार उठाइन् ।

भारोत्तोलनमा एपीएफ क्लबले पहिलो स्वर्ण जितेको छ । बुधबार महिला ८७ केजी तौलमा एपीएफकी निशा बलालले स्वर्ण पदक जितिन् । उनले स्न्याचमा ६२ र क्लिन एन्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार उचालेकी हुन् ।

पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार उचाल्दै रजत जितिन् । आर्मीकी अस्मिता राईले स्न्याचमा ५७ र क्लिनमा ८८ गरी कुल १२५ केजी भार उचालेकी हुन् ।

२० स्वर्णका लागि भएको प्रतिस्पर्धाको हालसम्म १६ स्वर्णको टुंगो लागेकोमा पुलिसले ९, आर्मीले ४, सुदूरपश्चिमले २ स्वर्ण र एपीएफले १ स्वर्ण जितेका छन् । हालसम्म १६ स्वर्णको टुंगो लागेकोमा नेपाल प्रहरीले ९, नेपाल आर्मीले ४, सुदूरपश्चिमले २ स्वर्ण र एपीएफले १ स्वर्ण जितेका छन् ।

प्रकाशित : कार्तिक २, २०७९ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×