१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रुसी आक्रमणपछि युक्रेनमा चरम ऊर्जा संकट

आठ दिनमा ३० प्रतिशत ऊर्जा केन्द्र ध्वस्त भएका युक्रेनी राष्ट्रपतिको भनाइ 
एजेन्सी

किभ/मस्को — रुसले युक्रेनका ऊर्जा केन्द्रहरूमा गरेको भीषण आक्रमणपछि देशभर उर्जा संकट उत्पन्न भएको छ । रुसी फौजले मंगलबार ऊर्जा केन्द्रहरूमा गरेको आक्रमणपछि राजधानी किभसहित प्रमुख सहरहरूमा चरम ऊर्जा संकट उत्पन्न भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् । 

रुसी आक्रमणपछि युक्रेनमा चरम ऊर्जा संकट

रुसी आक्रमणमा परी राजधानी किभमा कम्तीमा २ जनाको मृत्यु भएको जनाइएको छ । डिनिप्रो नदी नजिकैको ऊर्जा केन्द्रमा गरिएको आक्रमणपछि धूवाँको निकै ठूलो मुस्लो आकाशमा फैलिएको बीबीसीले जनाएको छ । जाइटोमिर, पश्चिमी किभ र डिनिप्रोका केन्द्रहरू पूर्णरूपमा क्षतिग्रस्त भएपछि ऊर्जा तथा पानीको चरम अभाव भएको युक्रेनी अधिकारीहरूको भनाइ छ ।

‘आक्रमण निरन्तर भइरह्यो भने हामी सबै जना विद्युत बचाउन तयार हुनुपर्छ,’ युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले भने, ‘सबै जनसंख्या निकै कठिन जाडोयामका लागि तयार रहनुपर्ने भएको छ ।’

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गएको आठ दिनमा युक्रेनका ३० प्रतिशत ऊर्जा केन्द्रहरू रुसले ध्वस्त पारेको बताएका छन् । जसका कारण देशका अधिकांश क्षेत्रमा अन्धकारको अवस्था आएको उनको भनाइ छ ।

रुसलाई क्राइमियासँग जोड्ने पुलमा विस्फोट गराइएपछि रुष्ट बनेको रुसले पछिल्लो समय युक्रेनका विद्युत तथा उर्जा संरचनामाथि आक्रमण तीव्र पारेको हो । रेल तथा सडक मार्ग रहेको केर्च पुलमा दस दिनअघि गराइएको विस्फोटमा ३ जनाको ज्यान गएको थियो । युक्रेन आक्रमणका लागि आवश्यक सैन्य हतियार ओसारपसारका लागि रुसले बाटो प्रयोग गर्दै आएका कार उक्त पुल युक्रेनी फौजको निसानामा परेको हो ।

सन् २०१८ मा केर्च पुलमार्गको उद्घाटन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शताब्दीकै उत्कृष्ट संरचना’ भएको दाबी गरेका थिए । जसका कारण क्रुद्ध बनेका राष्ट्रपति पुटिनले युक्रेनमा देशव्यापी आक्रमणका लागि निर्देशन दिएका जनाइएको छ ।

आक्रमण गरिएका केन्द्रलाई यथाशक्य प्रयोगमा ल्याउन अधिकारीहरू प्रयासरत छन्, तर नजिकिँदै गरेको जाडोयामका कारण जनताहरू चिसोले कठ्यांग्रिने अवस्था आउने भन्दै चिन्ता थपिएको छ । रुसले युक्रेनी उर्जा केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको प्रष्ट पारेको छ । ‘विगतका दिनमा, रुसी सशस्त्र बलहरूले युक्रेनी सैन्य कमाण्डहरू र ऊर्जा प्रणालीहरूमा लामो दूरीको वायु र समुद्रमा आधारित उच्च परिशुद्धता हतियारहरूको प्रयोग जारी राखेको छ,’ रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

रुसले गत आठ दिन अघिदेखि ऊर्जालगायतका पूर्वाधार केन्द्रलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार सुरु गरेको हो । पछिल्लो २४ घण्टामा भने रुसले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण थालेको जनाइएको छ । सोमबार गरिएको आक्रमणमा किभ र सुमी सहरमा कम्तीमा ९ जनाको मृत्यु भएको विश्वास गरिएको छ ।

पछिल्ला केहि दिनयता रुसी फौजले राजधानी किभसँगै जापोरिजा, डिनिप्रो र लभिभमा पनि क्षेप्यास्त्र आक्रमण तीव्र पारेको जनाइएको छ । तर त्यहाँ प्रहार गरिएकामध्ये कतिपय क्षेप्यास्त्रलाई आकाशमै निस्तेज पारेको युक्रेनी सेनाको दाबी छ । रुसी आक्रमणको अन्तर्राष्ट्रिय समुदायले भने आलोचना गर्दै आएका छन् । रुसको चर्को आलोचना गर्नेमा अमेरिका तथा युरोपेली देशहरू अग्रस्थानमा छन् ।

युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि सैन्य कारबाही थालेको हो । त्यसयता युक्रेन तथा रुसका हजारौं सैनिक तथा सर्वसाधारणको ज्यान गइसकेको छ भने दसौं लाख विस्थापित भइसकेका छन् ।

प्रकाशित : कार्तिक २, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?