फ्रान्समा इन्धन संकट : कर्मचारी हडतालले कठिन बन्दै जनजीवन

ददि सापकोटा

पेरिस — तलब वृद्धि र अन्य सुविधाको माग गर्दै झण्डै दुई सातादेखि चलेको इन्धन प्रशोधन कम्पनीका कर्मचारीहरूको हडतालका कारण फ्रान्सको जनजीवन कठिन बन्दै गएको छ ।

प्रशोधन कम्पनी र इन्धन आपूर्ति डिपोहरूले कर्मचारीको तलब वृद्धि प्रस्ताव अस्वीकार गरेको भन्दै ट्रेड युनियनहरूले हडताल जारी राख्ने अडान शुक्रबार साँझ पनि दोहोर्‍याएका छन् ।

फ्रान्सको सबैभन्दा ठूलो ट्रेड युनियन सीजीटीले शुक्रबार फ्रान्सेली ऊर्जा कम्पनी टोटल ईनर्जीका कर्मचारीहरूको तलब वृद्धि प्रस्तावलाई अस्वीकार गरेपछि ट्रेड युनियनहरूले हडताल लम्ब्याउने घोषणा गरेका हुन् ।

तीन हप्तादेखि जारी हडतालको बीचमा देशभर इन्धन अभाव निम्तिएको छ। इन्धन अभावका कारण शिक्षा, स्वास्थ्य, ब्यापार र खासगरी ग्रामीण भेगहरू अत्यधिक रुपमा प्रभावित भएका छन् ।

अधिकांश इन्धन आपूर्ति डिपोहरू सहरी क्षेत्र र त्यस आसपास रहेको, ग्रामीण क्षेत्रमा अत्यन्त सीमित डिपोहरू रहेकाले ती बन्द भैदिँदा दैनिक जनजीवन चलाउनै मुस्किल परेको भन्दै फ्रान्सेली मिडियाहरूले उल्लेख गरेका छन् ।

औद्योगिक हडतालले फ्रान्सको इन्धन प्रशोधन क्षमतालाई ६० प्रतिशतभन्दा बढीले घटाएको छ र तीनमध्ये एउटा इन्धन स्टेसनले मात्रै आपूर्ति गर्दा इन्धनको लागि नागरिकहरूले संघर्ष गरिरहेका छन् ।

फ्रान्सका सात रिफाइनरीहरूमध्ये ६ वटा बन्द भएकाले देशभरका मोटर चालकहरूले स्टेसनहरूमा ट्याङ्कीहरू भर्न लामो लाइन बसिरहेका छन् । एउटा मात्रै खुलेको रिफाइनरीले सबै स्टेसनमा इन्धन पुर्‍याउन नसक्दा इन्धन स्टेसनहरू एकै दिनमा रित्ता हुने गरेका छन् ।

ट्रेड युनियन सिजिटीले बढ्दो मुद्रास्फीतिका कारण जनजीवन अत्यधिक महँगो भएको र ऊर्जा कम्पनीहरूले पनि नाफा कमाइरहेकाले कर्मचारीहरूलाई १० प्रतिशत तलव वृद्धिको माग गरेको छ । तर फ्रान्सको सबैभन्दा ठूलो उर्जा आपूर्ति कम्पनी टोटल इनर्जीले युनियनको उक्त माग शुक्रबार अस्वीकार गरेको सीजीटीको भनाइ छ । टोटल इनर्जीले आगामी वर्ष देखि ६ प्रतिशत तलव ब्रिद्दी गर्ने प्रस्ताव मेडिया मार्फत् सार्वजनिक गरेको भन्दै युनियनहरू झन आक्रोशित भएका छन् ।

टोटल ईनर्जीको व्यवस्थापन पक्ष प्रतिमहिना २० यूरो वृद्धिको प्रस्ताव लिएर आएको भन्दै त्यसलाई युनियनले पूरै अस्वीकार गरेको टोटल एनर्जीमा युरोपेली कार्य परिषद्का सीजीटी प्रमुख थियरी डेफ्रेस्नेले बिएफएम टेलिभिजन अन्तर्वार्तामा शुक्रबार साँझ बताएका छन् । उनले भनेका छन् 'उक्त प्रस्ताव सुनेपछि हामीलाई उत्तेजित बनाउन खोजेजस्तो लाग्यो । त्यसैले हामीले ढोका ड्याम्म ढोकेर बाहिर निस्कियौं र वार्ताको टेबल छोड्यौं ।'

दुई अन्य प्रमुख युनियनहरू, सीएफडीटी र सिएफई-सीजीसीले भने ७ प्रतिशत तलब वृद्धि र वित्तीय बोनसको प्रतिज्ञा गरेको प्रस्तावमा सहमति जनाएका छन् ।

टोटल ईनर्जी र एस्सो-एक्सोनमोबिलको प्रशोधनहरूमा भएको हडतालले फ्रान्सका तीनमध्ये एकभन्दा बढी पेट्रोल स्टेसनहरूले इन्धनको लागि संघर्ष गरिरहेका छन् । करिब तीन सातादेखि सुरु भएको हडताल लम्बिँदै जाँदा एक सातादेखि गम्भीर बन्दै गएको छ ।

पछिल्लो एक सातादेखि इन्धन डिपोहरूमा मोटर चालकहरूको लामो लाइन लागेको छ । ग्रामीण क्षेत्रका डिपोहरूमा इन्धन नपाएर मानिसहरू पैदल र साइकलमा सवार गर्न लागेका छन् । सरकारी, औधोगिक, शैक्षिक क्षेत्रका महत्तंवपूर्ण बैठक, सभा र सम्मेलनहरू रद्द भइरहेका छन् । जनजीवन दिनदिनै कष्टमय बन्दै गएको छ ।

राष्ट्रपति एमानुयल माक्रोंको निर्देशनमा प्रधानमन्त्री एलिजाबेथ बोर्नले हडताल गरिरहेका कर्मचारीहरूलाई इन्धन स्टेसनहरूमा पेट्रोल आपूर्ति पुनः सुरु गर्न हस्तक्षेप गरेपछि बिहीबार र शुक्रबार दुईवटा एस्सो-एक्स्सोनमोबिल प्रशोधन कम्पनीहरूमा हडताल हटाइएको थियो । तर प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै कर्मचारीहरू झन क्रुद्द बनेका छन् । ट्रेड युनियनहरूलाई आगोमा घ्यू थप्ने काम गरेको आरोप लागेको छ ।

पछिल्ला तथ्याङ्कहरूले जनताको एक तिहाइभन्दा बढीले कर्मचारी हडताललाई समर्थन गरेको जनाइएको छ । दुई एस्सो-एक्सोनमोबिल प्रशोधन कम्पनीहरूले हडताल त्यागे पनि सामान्य परिचालन स्थितिमा फर्किन दुईदेखि तीन हप्ता लाग्ने जनाएका छन् ।

प्रशोधन कम्पनीहरूमा हड्ताल २० सेप्टेम्बरबाट सुरु भएको थियो । उत्पादन पूर्ण रूपमा रोकिएको थियो । सेप्टेम्बरमा एस्सोको बिक्री मात्रा अगस्टको तुलनामा २५ प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।

सार्वजनिक क्षेत्रको सबैभन्दा ठूलो सीजीटी युनियनद्वारा प्रतिनिधित्व गर्ने रेलवे कर्मचारी र निजामती कर्मचारीहरूले अर्को हप्ताको बिहीबार हडताल गर्ने पक्षमा मतदान गरेका छन् । यस बाहेक धेरै श्रमिक समूहहरूले राष्ट्रिय दिन भन्दै हडतालमा सहभागी हुनका लागि आह्वान गरेका छन् ।

फ्रंस १ टिभीका अनुसार बिहिबारको हडतालमा सुरक्षा, शिक्षा, यातायात, स्वास्थ्य, सञ्चार लगायत धेरै क्षेत्रका कर्मचारी सहभागी हुने छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोंका वामपन्थी विपक्षीहरूद्वारा मूद्रास्फीति विरुद्ध आइतबार राष्ट्रव्यापी मार्च आह्वान गरिएको छ । उनीहरूले कर्मचारीहरूको हडताललाई सम्बोधन गर्नुपर्ने भन्दै समर्थन जनाएका छन् । उक्त मार्च पासपछि तनाव बढ्ने डरले त्यस अघि नै सरकारी अधिकारीहरूले कम्पनीहरूलाई वार्ता गर्न दवाव दिइरहेको आरोप सीजीटी लगायत ट्रेड युनियनहरूको छ।

यसैबीच फ्रान्सेली मिडिया रिपोर्टका अनुसार युक्रेनमा बम खसालेका रुसी विमानहरूलाई इन्धन भर्न सहयोग गरेको भन्दै दुईवटा एनजीओहरूले फ्रान्सेली ऊर्जा कम्पनी टोटल एनर्जीविरुद्ध 'युद्ध अपराधमा संलग्नता' को आरोपमा अदालतमा उजुरी दर्ता गरेका छन्।

फ्रान्समा रहेको डार्विन क्लाइम्याक्स गठबन्धन र युक्रेनी समूह रजोम वी स्ट्यान्डले बिहीबार युद्ध अपराध आरोपहरूको अनुसन्धान गर्ने राष्ट्रिय आतंकवाद विरोधी अभियोजकलाई फाइल हस्तान्तरण गरेको फ्रंस २४ ले जनाएको छ ।

प्रकाशित : आश्विन २९, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्

विद्यार्थी र बिरामी लिएर फर्कियो जुम्लाबाट सेनाको हेलिकप्टर 

डीबी बुढा

जुम्ला — अविरल वर्षाका कारण सडक मार्गमा पहिरो र जहाजको अनियमितता भएपछि जुम्ला सदरमुकाम खलंगामै थन्किएका विद्यार्थी र बिरामी लिएर नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार परीक्षामा सामेल हुनु पर्ने विद्यार्थी र टिकट पाए पनि जान नपाएका बिरामीलाई सेनाको हेलिकप्टरले लगेको हो । नन्दा बक्सगणका गणपति रविन थापाले परिक्षा छुट्न लागेका विद्यार्थी पठाएको बताए ।

गणपति थापाले भने,‘बाढी र पहिरोले सडक क्षतविक्षत छ । जहाजको नियमितता छैन । यो अवस्थामा कि परीक्षा छुटाउनु पर्ने कि त कुनै वैकल्पिक उपाय अपनाएर पठाउनु पर्ने अवस्था थियो । हेलिकप्टर लिएर गएपछि निकै ठूलो राहत मिलेको छ । ’

एक सातादेखि विद्यार्थीहरु विमानस्थलमा टिकटका लागि लाइनमा बसेका थिए । उनीहरुले सहजै रुपमा टिकट नपाउने भएपछि परीक्षामा सहभागी हुने वातावरण बनाइदिन स्थानीय प्रशासनसमक्ष माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जहाज ल्याउन अधिकतम पहल गर्दा पनि नआउने भएपछि सेनाको हेलिकप्टरमा विद्यार्थी र बिरामी पठाएको बताए । उनले भने,‘विद्यार्थीले परीक्षा दिन पाउने भए । बिरामीले उपचार गराउन पाउने भए यसैमा खुसी मिलेको छ । ’

सेनाको हेलिकप्टर जुम्लाको हिमा गाउँपालिकामा बाढीपहिरोले क्षति बेहोरेका नागरिकका लागि राहत सामग्री ल्याएर आएको थियो । गत साता अविरल वर्षासँगै आएको बाढीपहिरोले कर्णाली राजमार्ग ठप्प छ । जहाज सबै पर्यटक बोक्न पूर्वतिर हिँडेकोले नियमित उडान हुन सकेको छैन । यदि उडान भइहालेको खण्डमा पनि पहुँचवालामात्रै उड्न पाउने भएकोले विद्यार्थीहरु र बिरामीलाई हेलिकप्टरमा पठाइएको हो ।

जहाजको उडान संख्या बढाउन सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सरकारलाई आग्रह गरिएको भए पनि सुनुवाइ हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय जुम्लाले संकलन गरेको विवरण अनुसारका विद्यार्थी र बिरामी हेलिकप्टरबाट पठाइएको थियो ।


प्रकाशित : आश्विन २९, २०७९ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×