२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९
रुस-युक्रेन युद्ध

युक्रेनलाई सुरक्षा सहायता गर्ने अमेरिकी प्रतिबद्धता

मंगलबार बस्दै गरेको जी- ७ राष्ट्रको बैठकमा युक्रेनका नेता जेलेन्स्कीले थप सुरक्षा प्रतिरक्षा सहायता माग गर्ने अपेक्षा गरिएको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — रुसले युक्रेनमाथि हमला जारी राख्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता दिएका छन् । बाइडेनले हालै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई एड्भान्स एयर डिफेन्स सिस्टम (अत्याधुनिक हवाइ प्रतिरक्षा प्रणाली) उपलब्ध गराउने बताए ।

युक्रेनलाई सुरक्षा सहायता गर्ने अमेरिकी प्रतिबद्धता

रुसले युक्रेनको राजधानी किभसहित विभिन्न सहरहरूमा मिसाइल आक्रमण गरेको भोलिपल्ट नै अमेरिकी राष्ट्रपति बाइडेनबाट यस्तो प्रतिबद्धता आएको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार बाइडेनले जेलेन्स्कीलाई टेलिफोन गरेर सहयोगको बाचा गरेका हुन् । यस क्रममा उनले जी-७ राष्ट्रहरूको आपतकालीन बैठकको आह्वान गरेका छन्।

मंगलबार भर्चुअल रुपमा जी ७ राष्ट्रहरूको बैठकको तयारी गरिएको हो । जहाँ जेलेन्स्कीले पनि सम्बोधन गर्ने छन् । उक्त बैठकमा जेलेन्स्कीले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन थप सहायता माग गर्ने अपेक्षा गरिएको छ ।

उक्त बैठकमार्फत् रुसलाई सोमबारको आक्रमप्रति जवाफदेही बनाउने बाइडेनको भनाइ छ । जुन आक्रमणमा १४ जना मारिएको बताइएको छ । ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 'राष्ट्रपति बाइडेनले युक्रेनलाई आफ्नो रक्षाका लागि आवश्यक सहयोग प्रदान गरिरहने प्रतिबद्धता जनाएका छन्, जसमा अत्याधुनिक हवाइ प्रतिरक्षा प्रणालीहरू पनि छन् ।'

अलजजिरामा प्रकाशित समाचार अनुसार उक्त प्रतिरक्षा प्रणालीले ड्रोन, मिसाइल र हेलिकप्टर आक्रमण गर्नसक्ने छ । बाइडेनले जेलेन्स्कीसँगको संवादको क्रममा रुसले युद्ध अपराध र अत्याचार गरेको भन्दै त्यसका लागि सहयोगी र साझेदार मुलुकहरूले रुसलाई जवाफदेही बनाउने बताएका थिए । साथै युक्रेनलाई सुरक्षा, आर्थिक र मानवीय सहायता उपलब्ध गराउने पनि उनको प्रतिबद्धता थियो ।

रुसले युद्धग्रस्त युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा सोमबार मिसाइल आक्रमण गरेको थियो। स्थानीय समय अनुसार सोमबार बिहानै युक्रेनमा ८३ वटा मिसाइल आक्रमण गरेको हो । तीमध्ये ४३ वटा मिसाइललाई भने युक्रेनी सेनाले बीचमै ध्वस्त पारेको बताइएको छ ।

रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरेपछि युक्रेनका लागि अमेरिकाले १६.८ बिलियन अमेरिकी डलरभन्दा बढीको सुरक्षा सहयोग उपलब्ध गराइसकेको छ ।

रुस र युक्रेनको ७ महिनाभन्दा लामो युद्धले विश्व समुदायकै ध्यान तानेको छ । यसबीचमा अधिकांश प्रभावशाली देशका राष्ट्रप्रमुखहरूले युक्रेनप्रति सहानुभुति देखाइरहेका छन् । साथै उनीहरूले युद्ध रोक्न रुसलाई आग्रह गर्दै आएका छन् । युक्रेनका दुई क्षेत्र कब्जामा लिएपछि उत्कर्षमा पुगेको युद्धमा धेरैजसो नेताहरूले रुसलाई नै दोषी देखेका छन् ।

पछिल्लो पटक सोमबार रुसले मिसाइल आक्रमण गरेपछि अमेरिकाले थप चासो देखाएको हो ।

प्रकाशित : आश्विन २५, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?