महँगी र जलवायु परिवर्तनले ‘गुफा घर’ पस्दै फ्रान्सेली- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महँगी र जलवायु परिवर्तनले ‘गुफा घर’ पस्दै फ्रान्सेली

ददि सापकोटा

पेरिस — फ्रान्सको राजधानी पेरिसबाट ६० किलोमिटर पर ला रोस–गुयोन गाउँका बासिन्दा प्याट्रिक पोटेल गुफामा बस्न थालेका छन् । गुफाको मूल्य कम र तापक्रम सधैं नियन्त्रित रहने भएकाले आफू गुफामा बस्न थालेको उनको भनाइ छ । 


‘तापक्रम वर्षभरि २१ देखि २५ डिग्रीबीचमा रहन्छ । बिजुली र ग्यासको बिल लगभग शून्य छ, आनन्द छ,’ उनले भने । गुफाका साना कोठामा बस्ने हुनाले उनीहरू यसलाई थोग्लोदित मेजों (सानो भुइँ सतहमा उड्ने चराको गुँड) भन्ने गर्छन् । यी गुफाका घरहरू तातो मौसमका शरणस्थल बनेका छन् । भविष्यको जलवायु संकट समाधानको माध्यम भन्नेहरू पनि छन् । फ्रान्सको भाल द्वाज क्षेत्र (विभाग) को थोग्लोदित गाउँका बासिन्दाहरू यो कुरामा विश्वस्त छन् ।

ताता दिनमा थोग्लोदित घरमा प्रवेश गर्नु गुफा फेरि कहिल्यै छोड्न नचाहने जोखिम लिनु जस्तै भएको छ । धेरै शताब्दी पहिले खनेका यी बासस्थानहरूमा कतै पनि एयर कन्डिसनर छैनन् ।

बाहिर तातोले मानिसहरू आकुलब्याकुल भइरहेका बेला यो गुफामा बस्नेलाई भने आनन्द छ । गएका केही वर्षयता जाडोमा निकै ठण्डी हुने र गर्मीमा अत्यधिक तापक्रम हुन लागेपछि प्याट्रिक र उनका केही चिनजानका मानिस पेरिस नजिकबाट गुफातिर सरेका थिए ।

‘आज बाहिरको तापक्रम करिब ३५ डिग्री छ । मेरो गुफामा २२ छ । यहाँ बसेपछि बाहिरको गर्मी सहन निकै गाह्रो हुने रहेछ,’ उनले भने । अधिकांश गुफाहरू पहाडको खोंचमा छन् । गुफाभित्र छन्– भान्छा कोठा, सानो बार, नरम सोफा, सिँढी चढेर उक्लिनुपर्ने दुईतले ओछ्यान ।

त्यसैको छेउमा कम्प्युटरसहितको सानो अफिस, काठका फलेकले बेरेको चर्पी र स्नान कक्ष । सजावटी सामानका लागि भित्तामै किला ठोकेर बनेका साना तख्ता । अधिकांश ७० वर्गमिटरका यी गुफा अपार्टमेन्टमा सबै अटाएका छन् ।

यसले पछिल्लो समयमा पेरिसका केही हुने–खानेहरूलाई ईर्ष्या जगाइदिएको छ । त्योभन्दा महत्त्वपूर्ण, उनले करिब ७ वर्षअघि नेपालबाट ल्याएको हिमाली तोरण (लुङ्ता) भित्तामा सजाएका छन् । यो लुङ्ताका रङमा पाँचखाले जनावर अंकित हुन्छन् । ती कुन रङले के संकेत गर्छन् उनलाई जानकारी पनि छ ।

लुङ्ता राख्नाले शुभकार्य, मनोकांक्षा पूरा गर्ने, पुण्य प्राप्ति हुनेलगायतका विविध फाइदा हुने धार्मिक मान्यताले नेपाली लुङ्ता सजाएको उनी सुनाउँछन् ।

‘यी हिमाली देउता हुन् । म पनि डाँडामा बस्छु । कुनै समस्या पर्दा यी ५ मध्ये एउटा न एउटा देउताले हाम्रो रक्षा गर्छन्,’ उनी हाँस्दै भन्छन् । पाँच जनावरमध्ये गरुडले आयु बढाएर प्राण वृद्धि गर्ने, बाघले सुखशान्ति र समृद्धि बढाउने, मेघले भाग्य अभिवृद्धिको काम गर्ने, सिंहले शुभमंगल वा पुण्य दिने र घोडाले साहस र परिश्रम जनाउने उनले सुनाए ।

‘मलाई कुनै चिन्ता छैन । मेरो भेन्टिलेसनले गुफाको वातावरणलाई राम्रोसँग सन्तुलन मिलाइदिन्छ । म पृथ्वीभित्र सुरक्षित, ढुक्क आश्रय महसुस गर्छु किनकि मलाई सुरक्षा दिने हिमाली देउता छन् । नेपालदेखि आएका छन्,’ विश्वाससाथ उनी भन्छन् ।

क्रिस्चियन फोर्नियर र प्याट्रिक पोटेलका गुफा पुरातन समयमा गाईबस्तुका आश्रयस्थल थिए । लगभग २५० वटा गुफा सबै १५ औं शताब्दीका हुन् । दुर्दुन्य क्षेत्रमा करिब १४ हजार गुफा रहेको जनाइएको छ ।

गत जुलाईमा ल फिगारो दैनिक अखबारले गर्मीको लहरबाट बच्न उपयुक्त निवास भन्दै किन्न सकिने दस गुफाको नामावली सार्वजनिक गर्‍यो । त्यसले धेरैको ध्यान तान्यो । त्यसपछि उत्सुक खरिददकर्ता ला रोस गुयानमामा हतारिएको क्रिस्चियनले बताए । अहिले गुफा हेर्न धेरै मानिसहरू आउन थालेका छन् ।

उनको अतिथि पुस्तिकामा ५२ देशका नागरिकको हस्ताक्षर पुगिसकेको छ । ‘सहरमा भन्दा सस्तो गुफा अपार्टमेन्ट, ९० सेन्टिमिटरको धेरै बाक्लो पर्खालले चिसो र तातो नियन्त्रण गरिदिने, ग्यास र बिजुलीको खासै बिल नउठ्ने र बस्न शान्त हुनाले गुफा किन्नेको आकर्षण बढेको छ,’ क्रिस्चियन भन्छन् ।

गुफामा बस्नेको संख्या बढ्दै जाँदा साना पसल र बियर बार पनि खुल्न थालेका छन् । चहलपहल बढ्दै जाँदा १५ हजार युरोमा किनबेच भएका गुफा गृहको मूल्य अहिले ८० हजार युरो पुगेको छ ।

प्रकाशित : आश्विन २४, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

इटालीको पहिलो महिला प्रधानमन्त्री बन्दै मेलोनी

दोस्रो विश्वयुद्धपछि पहिलोपटक चरम दक्षिणपन्थी दलले सरकारको नेतृत्व गर्ने निश्चित
ददि सापकोटा

पेरिस — इटालीमा आइतबार सम्पन्न निर्वाचनमा चरम दक्षिणपन्थी दल ब्रदर्स अफ इटाली विजयी भएको छ । योसँगै दलकी नेतृ जर्जिया मेलोनी इटालीको इतिहासमा प्रथम प्रधानमन्त्री हुने भएकी छन् । निर्वाचन परिणामले इटालीमा दोस्रो विश्वयुद्धपछि पहिलोपटक चरम दक्षिणपन्थी दलले सरकारको नेतृत्व लिने भएको हो ।

मेलोनीको पार्टीले सन् २०१८ मा भएको पछिल्लो निर्वाचनमा चार प्रतिशत मात्र मत पाएको थियो । दक्षिणपन्थी गठबन्धनको सबैभन्दा ठूलो पार्टी, ब्रदर्स अफ इटालीको प्रमुखको हैसियतले मेलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित भएको आजेन्सिया इटालिया दैनिकले उल्लेख गरेको छ ।

सोमबार सार्वजनिक आंशिक चुनावी नतिजाअनुसार मेलोनीको दलले स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित भएको जनाइएको छ । मेलोनीले ‘ब्रदर्स अफ इटालीले सबैका लागि शासन गर्ने र जनताको विश्वासलाई धोका नदिने’ बताएकी छन् । इटालीको राजनितिक क्षेत्रलाई उच्च पितृसत्तात्मक मानिन्छ जहाँ राजनीतिक व्यक्तित्वहरू अत्यधिक पुरुष छन् । तर मेलोनीको विजयले राज्यसत्ताको निर्माणमै ठूलो हलचल मच्चाइदिएको छ ।

माटेओ साल्भिनी र सिल्भियो बर्लुस्कोनीका पार्टी सहभागी दक्षिणपन्थी गठबन्धनको नेतृत्व मेलोनीले गरेकी हुन् । ती दलले कम्तीमा ३६.५ प्रतिशत भोट पाउने जनाइएको छ । मेलोनी नेतृत्वको गठबन्धनले ४६.५ प्रतिशत मत प्राप्त गर्ने अल्पाइस दैनिकले उल्लेख गरेको छ ।

इटालीमा दोस्रो विश्वयुद्धपछि युरोपकै अस्थिर सरकार रहेको ठानिन्छ । दोस्रो विश्वयुद्धपछिका सात दशकमा इटालीमा ६७ वटा सरकार गठन भइसकेका छन् ।

‘पक्कै पनि मेरो विजय एक कदम अगाडि हुनेछ,’ मेलोनीले मतदानअघि युरोन्यूजसँगको अन्तर्वार्तामा भनेकी थिइन्, ‘मैले यसलाई ‘ग्लास सिलिङ’ भत्काउने भनेर परिभाषित गरेकी छु । इटालीमा मात्रै होइन धेरै पश्चिमी देशहरूमा रहेको यस्तो परिपाटीले महिलाहरूलाई समाजमा महत्त्वपूर्ण सार्वजनिक भूमिका प्राप्त गर्नबाट रोक्छ ।’

ब्रदर्स अफ इटालीको विजयको सुनिश्चिततासँगै मेलोनीका नीतिहरूले धार्मिक रूपमा सूचित देशभक्तिको पहिचानको राजनीतिलाई मिसाउने सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन् । इटालीको बिग्रँदो आर्थिक दुरवस्थालाई माथि उकास्न उक्त दलले व्यवसाय–मैत्री आर्थिक नीतिहरू अघि सारेको र त्यसले इटालीको अर्थतन्त्रमा सास फेर्न आशा जगाएको फ्रान्सेली पत्रकार आन्द्रिया कार्लोको भनाइ छ ।

तर समलिंगीय विचारधारा र समानताविरोधी मेलोनीले पश्चिमी सभ्यतालाई धम्की दिन सक्ने खतरासमेत रहेको विश्लेषकहरूको दाबी छ । फ्रेन्ड्स अफ इटाली सम्मिलित गठबन्धन पार्टीको विजय युरोपेली संघका लागि खतरा रहेको पनि कतिपयको विश्लेषण छ ।

मेलोनी र उनको गठबन्धनका सहकर्मी नर्दन लिगका साल्भिनीलाई युरोपको विद्रोही र रुसी राष्ट्रपति भ्लादिर पुटिनको भद्र समर्थकका रूपमा हेर्ने गरिन्छ । पत्रकार कार्लोको भनाइमा उनीहरूले युरोको आलोचना गरेका छन् र बेलायतको प्रो–ब्रेक्जिट निर्णयमा खुसी व्यक्त गरेका छन् ।

डेमोक्रेटिक पार्टीका नेता एन्रिको लेत्ताले मेलोनी सरकारले पहिलो कामका रूपमा युरोपेली संघसँगको सम्बन्ध तोड्ने बताएका इटालीको ला रेपुब्लिकालाई उद्धृत गर्दै फ्रंस–२४ ले जनाएको छ ।तर मेलानीले आफूलाई युरोपेली विज्ञहरूले धेरै गलत तरिकाले परिभाषित गर्न खोजेको बताएकी छन् ।

‘हामीले आफूलाई व्यापक युरोपको तर्कमा सबै मूल्य र हरेक कुरामा चिन्न सकेका छैनौं । त्यसले गर्दा अहिलेसम्म धेरै केन्द्रीयता लादिएको छ । अधिक नोकरशाहीपन छ र कम सहायता हुने गरेको छ । यसको सट्टामा हामी सम्मान गर्न चाहन्छौं । यो ईयूका आधारभूत सिद्धान्त हो,’ मेलोनीले भनेकी छन् ।

मेलोनीले ईयू आम युरोपेलीले सोचेको जस्तो नभएको, प्रभावकारी रक्षा नीति विकास गर्न नसकेको, ऊर्जा सुरक्षामा लगानी गर्न नसकेको र मूल्य शृंखलाहरू कायम राख्न नसकेको आरोप लगाउँदै आएकी छन् । उनले ग्यास, कच्चा माल, वस्तुहरू, चिप्स र अन्य सामानको मूल्य, आपूर्ति र व्यवस्थापन प्राय: अविश्वसनीय रहँदै आएकाले आफूले त्यसमा काम गर्ने बताएकी छन् । तर उनका आलोचकहरुले भने मेलोनीले एकीकरणको दृष्टिकोण अनुसार सन् १९५० को दशकदेखि युरोपको अधिकार भन्दै प्रचार गरिएको युरोप मोडेललाई प्रतिनिधित्व गर्न नसक्ने आयोप लगाउँदै आएका छन् ।

इटालीका निवर्तमान प्रधानमन्त्री मारियो ड्राघी ईयूको कट्टर समर्थकका रूपमा चिनिन्छन् । उनको दृष्टिकोण युरोपेली परिषद्का नीतिसँग मेल खाँदै आएका छन् । तर ब्रदर्स अफ इटालीका प्रमुख जर्जिया मेलोनीलाई भने युरोपेली संघभन्दा फरक धारणा राख्ने नेतृका रूपमा चिनिन्छ ।

मेलोनीले युरोपेली संघमा जर्मन र फ्रान्सेलीको दबदाबा रहेकाले आफूले समान हैसियत राख्ने कडा प्रतिक्रिया दिँदै आएकी छन् । उनले इटालियन प्रधनामन्त्री ड्राघीको पालामा ईयू कोषबाट इटालीलाई ऋणका रूपमा उपलब्ध गराउने भनिएको एक खर्ब ९० अर्ब युरो राहतका रूपमा दिनुपर्ने आवाज उठाउँदै आएकी छन् ।

‘हामी इटालीको राष्ट्रिय हितलाई छिन्नभिन्न नपारीकनै रक्षा गर्न चाहन्छौं । जर्मन र फ्रान्सेलीहरूले उनीहरूको रक्षा गर्ने दृढ संकल्पका गरे जसरी नै हामी पनि गर्न चाहन्छौं,’ मेलोनीले टिप्पणी गरेकी छन् ।

उनको विजयसँगै इटालीको विदेश नीति रूसतर्फ केन्द्रित रहने र धेरै हदसम्म असुरक्षित रहने त्रास आलोचकहरूमा छ । तर ४५ वर्षीया मेलोनीले युक्रेन मामिलामा पश्चिमी नीतिलाई समर्थन गर्ने र युरोपेली संघका प्रभावशाली देश जर्मनी र फ्रान्स तथा बेलायतसँग अनुचित जोखिम नलिने वाचा गरेकी छन् । तर नयाँ सरकार गठन भने अक्टोबर १३ पछि मात्र हुने जनाइएको छ ।

को हुन् मेलोनी ?

सन् १९७७ को जनवरी १५ मा इटालीको रोममा जन्मिएकी मेलोनी ब्रोदर्स अफ इटाली पार्टीकी प्रमुख हुन् । उनी सन् १९९२ मा १७ वर्षको उमेरमा ‘राष्ट्रवादी सामाजिक इटालियन आन्दोलन’ मा सामेल भएकी थिइन् । सामाजिक आन्दोलनमा निकै सक्रियता जनाउने मेलोनीले समलिंगि विवाहप्रति असहमति राख्दै आएकी छन् । जसका कारण ‘सामाजिक क्षेत्रमा समानता राख्न नसकेको’ भनेर उनी पटकपटक आलोचित पनि हुने गरेकी छन् ।

पुरुषरूको दबदबा रहेको ईटालीको राज्यसत्तामा चुनावमार्फत् कडा हस्तक्षेप गर्न सफल भएकी मेलोनी सन् २००८ देखि २०११ सम्म बर्लुस्कोनीको मन्त्रिपरिषद्‌मा युवामन्त्री बनेकी थिइन् ।

उनको दल परम्परागत, अति कठोर र अत्यन्त दक्षिणपन्थी भनेर आरोप लाग्ने गरेको छ । तर मेलोनीले भने त्यसलाई अस्वीकार गर्दै आएकी छन् । ‘हाम्रो पार्टी इटालियन कन्जरभेटिभहरूको पार्टी हो,’ उनले भन्ने गरेकी छन्, ‘हामी एक आधुनिक सरकारी दक्षिणपन्थी हौं, जसले आज इटालीमा २० मध्ये १५ क्षेत्र र सयौं नगरपालिकामा शासन गर्दछ ।’

प्रकाशित : आश्विन १०, २०७९ २१:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×