भारतमा हिमपहिरोमा परी मृत्यु हुने पर्वतारोहीको संख्या १० पुग्यो, अझै १८ बेपत्ता- विश्व - कान्तिपुर समाचार

भारतमा हिमपहिरोमा परी मृत्यु हुने पर्वतारोहीको संख्या १० पुग्यो, अझै १८ बेपत्ता

रासस

नयाँ दिल्ली — भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वित्तीय’ हिमालको चुचुरोनजिक मंगलबार बिहान भएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी वेपत्ता भएका थिए ।

उनीहरूमध्ये चार जनालाई सोही दिन मृत अवस्थामा भेटिएको थियो । भारी हिमपात र वर्षाका कारण रातिमा खोजी असम्भव भएको थियो । यद्यपि भारतीय वायु सेना र स्थानीय विपद् एजेन्सीले उद्धार कार्यमा सहयोग गरिरहेका बताइएको छ ।

'उद्धार टोलीले १० जनाको शव फेला पारेको छ,’ उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा भनेको छ ।

समुन्द्री सतहबाट करिब चार हजार ९०० मिटर (१६ हजार फिट) को उचाईमा रहेको हिमपहिरोबाट हालसम्म १४ जनाको उद्धार गरिएको छ भने पाँच जनाको उत्तरकाशीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी फुटेजमा उद्धार गरिएका धेरै आरोहीहरू शहरमा आइपुगेको र अधिकारीहरूको सुरक्षामा बिना कुनै सहायता हिँडडुल गरिरहेको देखिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीटरमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी भारतीय आरोही सविता कंसवालको मृत्यु भएको पुष्टि गरेका छन् ।

विश्वको सर्वोच्च शिखर र नजिकैको मकालु हिमाल १६ दिनमा आरोहण गरी महिलाहरूतर्फको रेकर्ड बनाएका थिए । धामीले हिमपहिरोमा परी घाइते भएका र मृतकका परिवारलाई सरकारले तत्काल आर्थिक सहयोग गर्ने बताए । राज्य विपद् निकायका प्रवक्ता रिधिम अग्रवालले एएफपीलाई बताएअनुसार हिमपहिरो खसेपछि आरोहीहरू हिउको चिरामा फसेका थिए ।

नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङका अनुसार आरोहणमा ३४ जना प्रशिक्षार्थी, सात जना प्रशिक्षक र एक जना नर्सिङ असिस्टेन्ट रहेका छन् । उद्धारकार्यमा सघाउन वायु सेनाका दुई वटा हेलिकप्टर पठाइएको विपद् व्यवस्थापन विभागका वरिष्ठ अधिकारी देवेन्द्रसिंह पटवालले एएफपीलाई जानकारी दिए ।

प्रकाशित : आश्विन १९, २०७९ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्

टीकाको दिन यस्तो देखियो शीतल निवास [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आमसर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई टीका लगाइदिएकी छन् । राष्ट्रपति निवास बालुवाटारमा बुधबार राष्ट्रपति भण्डारीले आमसर्वसाधारणहरुलाई बडा दसैंको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधानसेनापति प्रभुराम शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, अख्तियार प्रमुख प्रेमकुमार राई, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाका सांसदहरु, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुलाई टीका लगाइदिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टीका लगाइदिएकी छन् । बुधबार दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा लामबद्ध थिए ।


प्रकाशित : आश्विन १९, २०७९ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×