भारतमा हिमपहिरोमा परी चार जनाको मृत्यु- विश्व - कान्तिपुर समाचार

भारतमा हिमपहिरोमा परी चार जनाको मृत्यु

रासस

नयाँ दिल्ली — भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् । 'फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये करिब आठ जनालाई उद्धार गरिसकिएको छ र बाँकी एक हिउले बनेको चिरूवाभित्र फसेका छन्,' राष्ट्रिय विपद् व्यवस्थापन बलका रिधिम अग्रवालले एएफपीसँग भने ।

'हिउँ परिरहेको थियो तर अहिले मौसममा सुधार आएको छ र हामीले वायु सेना र अन्य एजेन्सीहरूको सहयोगमा उद्धार अभियान सुरु गरिसकेका छौं । जबसम्म मौसमले साथ दिन्छ र फसेकाहरू सुरक्षित हुँदैनन् तबसम्म उद्धार जारी रहनेछ । उक्त समूह स्थानीय पर्वतारोहण संस्थाका प्रशिक्षार्थीहरू थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरु पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

गत अगष्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेला परेको थियो ।

प्रकाशित : आश्विन १८, २०७९ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल विकासको प्रस्थान विन्दु के हो ?

इन्डोनेसियाले बालीको पर्यटनलाई संसारभरि बेच्न सक्छ भने हामीले हाम्रो कला, संस्कृति र विविधता किन बेच्न सक्दैनौँ ?
बामदेव पौडेल

आउँदो मंसिर चार गते हुन गैरहेको आमचुनावका लागि राजनीतिक दलहरू अहिले आ-आफ्नो घोषणापत्र लेख्न व्यस्त छन् ।  यो चुनाव सरकारमा कुन दललाई चुन्ने भन्ने छनोट मात्रै होइन, हाम्रो सामाजिक, आर्थिक विकासका चुनौती र विकासको मोडलबारे बहस गर्ने अवसर पनि हो ।

देश सुहाउँदो कस्तो विकास मोडल बनाउने भन्नेबारे लेखिएको पहिलो श्रृंखलाको अर्को भागको रूपमा लेखिएको यो लेख हाम्रो प्रस्थान विन्दु के हो त भन्नेबारे केन्द्रित छ । फेरि पनि दोहोर्‍याएर भन्नुपर्दा हाम्रो विकासको लक्ष्य देशमा काम गर्न सक्षम जनसंख्यालाई देश सुहाउँदो विकासको नयाँ मोडलमार्फत् उच्च उत्पादकत्व सहितको उत्पादनका क्रियाकलापमा सरिक बनाउने वातावरण बनाउनु हो ताकि ‘आर्जेको कमाइले राम्रो घरपरिवार बसाउन सकियोस्, छोराछोरी राम्ररी पढाउन सकियोस् र आवश्यक परेका बेला औषधीमूलो गर्न पाइयोस् ।’ दीर्घकालीन गन्तव्य त यही नै हो तर प्रश्न उठ्छ कहाँबाट सुरू गर्ने ?

मूलमन्त्रबाट सुरू गरौँ–‘उद्योग र व्यापार नगरी देश धनी हुँदैन ।’

हामी साँच्चिकै दीर्घकालीन सोचसहितको विकास चाहन्छौं भने यसै मूलमन्त्रमा टेकी अरू सब विकास गतिविधिहरू परिचालित हुनुपर्छ । यस मूलमन्त्रभित्र रोजगारी सिर्जना, दक्ष जनशक्ति विकास, कृषि विकास, पर्यटन विकास, निर्यात बृद्धि , सम्पन्न समाज निर्माण सबै विषय समेटिन आउँछन् । विकास भएका देशहरूलाई हेरौं (बेलायतको विकास उद्योग र व्यापारबाटै सुरू भएको थियो जसले कुनै बखत विश्वभर साम्राज्य फैलाएको थियो र अहिले पनि विश्वको एक सम्पन्न राष्ट्रको रूपमा गनिन्छ । दक्षिण कोरियाको चमत्कारबारे त धेरै नभनी राखौं जबकि कोरियन सामान नगएका देशहरू अहिले संसारमा विरलै होलान् । भारतमा सन् १९९० को सुरूमा पीभी नरसिंह रावले खुला व्यापार नीति सुरू नगरेको भए सायदै भारत अहिले विश्व आर्थिक शक्तिको रूपमा गनिने थियो होला । अर्जेन्टिना अहिलेको अमेरिका जस्तै थियो बीसौं शताब्दीको सुरूतिर जब सन् १८८० देखि १९२९ सम्म अर्जेन्टिनाले व्यापक सामान तथा सेवा युरोप निर्यात गरेको थियो, कुनैबेला त यो आफैलाई कोलोनी बनाएको स्पेनभन्दा दोब्बर र त्यसबेलाका फ्रान्स र जर्मनीभन्दा पनि धनी बनेको थियो । उदाहरण कति छन् कति !

टाढा नगई आफ्नै देशलाई हेरौं। सायद हामी नेपालको इतिहास सबैले पढेका छौं होला हाई स्कुलतिर वा त्यसपछि । सायद देशको इतिहासभरिमै नेपाल त्यसबेला सबभन्दा सम्पन्न थियो जतिबेला नेपाल लिच्छवीकालमा गुज्रिरहेको थियो र त्यसबेलाका राजाहरूले भोटसँग राम्रो व्यापार सम्बन्ध राखेका थिए ।

उद्योग र व्यापार त गर्ने तर यसैसँग अर्को ठूलो प्रश्न तेर्सिन्छ– के हामीजस्तो सानो देशले प्रतिस्पर्धात्मक व्यापार गर्न सक्छौं त ? फेरि पनि उदाहरणबाटै पुष्टी गरौं। दक्षिणी युरोपमा मेडिटेरेनियन समुद्रको किनारमा रहेको मोनाको जहाँ हाम्रो चारवटा सिंहदरबारले अर्जेजति जमीनमा करिब २ वर्ग किलोमिटरमा फैलिएको छ र जो लामो समयदेखि सार्वभौमसम्पन्न देश हो । यो देश अहिले संसारको सबभन्दा बढी प्रतिव्यक्ति आय भएको देशको नामले चर्चित छ । के गर्छ त मोनाको ? पर्यटन, बैँकिङ सेवा, क्यासिनो यसको अर्थतन्त्रको धरोहरहरू हुन् जहाँका करिब ४० हजार जनसंख्या संसारकै उच्च जीवनस्तर बाँचिरहेका छन् र यहाँ आफ्नै जनसंख्याभन्दा बढी ५० हजार कामदार फ्रान्सबाट दैनिक रेलबाट आएर काम गरेर साँझ घर फर्कन्छन् । लुगा, गलैँचा, जडिबुटी वा औद्योगिक सामानहरू मात्र बेच्नु पर्छ भन्ने छैन । समस्या भूगोलको पनि होइन, समस्या हो त इच्छाशक्ति र नयाँ सोचको ।

इच्छाशक्ति पनि जरूरी छ र नयाँ सोचसहित अगाडि बढ्नु पनि छ तर त्यसपछि अर्को अझ ठूलो प्रश्न यहाँ सोझिन्छ (के कस्ता उद्योग र कस्ता व्यापारमा हाम्रा सम्भावना छन् र हाम्रो प्रस्थान विन्दु के हो ?

अघिल्लो लेखमा कृषिमा प्राथमिकतासहितको विकास नेपालको विकासका लागि एक प्रस्थान विन्दु हुन सक्ने औँल्याइएको थियो । यो सही देखिन्छ विद्यमान जनशक्तिको दक्षतालाई आधार मान्दा जस्तो कि दक्षिण कोरियाले गरेको थियो विकासका सुरूका वर्षहरूमा । तर यसलाई भने अलि रणनीतिक रूपमा प्रयोग गर्नु पर्नेहुन्छ । यही नै हाम्रो प्राथमिकता हो नभनी तत्कालका लागि यसलाई विदेशमा रहेको ठूलो अर्ध दक्ष जनशक्ति स्वदेश भित्राउने रणनीतिक आधारको रूपमा लिनु पर्छ । यो किन आवश्यक छ भने अर्थतन्त्र निर्माणमा मानव स्रोतको निकै ठूलो भूमिका रहन्छ र यस अर्थमा युवाशक्तिले देशभित्रै योगदान गर्नसक्ने वातावरण बनाउनुपर्छ ।

कतारमा के भैरहेको छ, त्यही हेर्दा यो पुष्टी हुन्छ । नेपालीहरूले कतार गएर दसौं रङ्गशालाहरू ठडाए जो हामीले प्रत्यक्ष केही महिनापछि हाम्रा टेलिभिजनका स्क्रिनहरूमा देख्ने छौं। दसैंको केही समयपछि आउने विश्वकप हाम्रो अर्को दसैं हुनेछ यस वर्ष तर खेल हेर्दै गर्दा के पाठ सिक्न जरूरी पनि छ भने मानिसले नगरे के नहुने रहेछ खाली वातावरणमात्र बनाउने कुरो रहेछ । देशले वातावरणमात्र बनाइदिएको भए रङ्गशाला नै नबनाए पनि ती पौरखी हातहरूले अरू केही त बनाउँथे देशभित्रै । बनाए वापत् आम्दानी त पाए तर त्यही आम्दानीलाई पनि हामी लगानीको वातावरण बनाइदिन सकेनौं र सो आम्दानी विदेशबाट वस्तु आयात गरी सबै उपभोगमा रित्यायौं । यसका अतिरिक्त पारिवारिक विखण्डन, लगातारका मृत्युका रूवाउने कथाहरू त कति लेख्न सकिन्छ कति । यिनै कारणले पनि त्यो जनशक्ति देशमा फर्काउन जरूरी छ र कृषि विकासलाई त्यसको प्रमुख संवाहक बनाउनुपर्छ ।

दीर्घकालीन रणनीति

फेरि पनि कृषिबाट विकास हाम्रो दीर्घकालीन रणनीतिमा पर्नु हुँदैन । खेतीमा आधुनिकता हुँदा त्यसले रोजगारी दिने भनेको थोरैलाई मात्र हो । विश्वभरिमा कृषि उत्पादनसम्बन्धी तथ्याङ्कहरूलाई हेर्दा संसारमा तीनवटा खाद्य ‘हब’ हरू देखिन्छन्– संयुक्त राज्य अमेरिका, चीन, र भारत । तिनीहरूलाई रसिया, ब्राजिल र क्यानडाले पछ्याएका छन् । यिनै देशहरूले नै संसारको करिब आठ अरब जनसंख्याको धेरैजसो खाद्य आपूर्ति धानेका छन् र अन्य देशहरूको योगदान यी छ वटा देशहरूको तुलनामा थोरै मात्र छ । संसारभरि खाइने पाउरोटीको पिठो त्यहीँबाट आउँछ । हामीले पेट्रोल पम्पमा तेल हाल्दा खालि तेल देख्छौँ वा सायद आवाज मात्र सुन्छौँ तर त्यो तेलमा हालिने एथनोल संसारभर ब्राजिलले पुर्‍याउन भ्याएको छ । यी देशमा कृषिमा लागेकाहरू श्रमशक्तिको तुलनामा अमेरिकामा सबभन्दा कम १.४ प्रतिशत र सबभन्दा बढी भारतमा ४२.६ प्रतिशत छ जो प्रत्येक वर्ष व्यापक रूपले घट्दो क्रममा छ । यसले के देखाउँछ भने यो प्रतिस्पर्धी जमानामा हामी खेतीमा फड्को मारेर खेती उत्पादन गरेर धनी हुने क्षमता त राख्दैनौं नै र केही गरी राम्रो गरे पनि ठूलो जनशक्ति त्यसमा काममा लगाउन सक्दैनौं । कृषि हाम्रो विदेशबाट फर्किने समुदायको उचित व्यवस्थापनमार्फत् कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गरी औद्योगिकीकरणमा फड्को मार्ने प्रस्थान विन्दु मात्र हुनसक्छ छोटो समयको लागि ।

जान त उद्योग र व्यापारमा नै जानुपर्छ । हो हामी यसमा तुरून्तै फड्को मार्ने अवस्थामा छैनौं तर अहिलेलाई यसका पूर्वाधारहरू बनाउन सक्छौं र कृषिको विकाससहितको प्रस्थान विन्दुमा उद्योग र व्यापारको पूर्वाधार विकास पनि त्यसैमा समावेश हुनुपर्छ ।

उद्योग र व्यापारका पूर्वाधारहरू बनाउनु पूर्व हाम्रा सम्भावनाहरू के हुन् त ? त्यसलाई नयाँ सोचसहित हेरौं । अर्थशास्त्रमा एउटा सिद्धान्त छ ‘इकनमिज् अफ् स्केल’ जसले के भन्छ भने हामीले जति धेरै उत्पादन र बजारीकरण गर्न सक्यो वस्तुको प्रतिगोटा उत्पादन लागत कम हुँदै जान्छ र हामी प्रतिस्पर्धी बन्छौं। त्यस्तै अर्को तुलनात्मक लाभ भन्ने व्यापारको सिध्दान्त छ जसले के भन्छ भने हामीले त्यस्ता वस्तु बनाउनु र बेच्नुपर्छ जसको अवसर लागत कम हुन्छ । यी दुबै सिध्दान्तले के देखाउँछ भने हामी वस्तु निर्यातमा त्यति सक्षम छैनौं किनकि हाम्रो लागत धेरै पर्छ अन्य प्रतिस्पर्धीको तुलनामा भौगोलिक परिस्थिति र सानो आन्तरिक बजारका कारण । यद्यपि, यसमा पनि केही रणनीतिक उपायहरू छन् जसबारे यहाँ छोटकरीमा व्याख्या गरिने छ । हाम्रो बढी सम्भावना सेवा बिक्रीमै छ । अझ खासगरी भन्नु पर्दा पर्यटन सेवा । यो पनि व्यापार नै हो र यो पर्यटन सेवाको बिक्री हो । यो यस्तो व्यापार हो जसमा ग्राहकलाई घरमै ल्याउनुपर्छ न कि कहीँकतै बाहिर पसल थाप्ने वा देश बाहिरको बजार खोज्ने हो हाम्रो सेवा बेच्न ।

घरमै ग्राहक ल्याउन त्यति सजिलो त छैन तर प्रकृति वा हाम्रो भाग्यले हामीलाई केही हदसम्म साथ दिएको छ । यसमा नयाँ सोचसहित अगाडि बढ्नुपर्ने हुन्छ । तथ्य बुझिराखौँ कि हामी प्राकृतिक सौन्दर्यले सुसज्जित संसारकै सबैभन्दा सुन्दर देश हाम्रा सुन्दरताहरू हेर्न मानिसहरू आउँछन भनेर धेरै छाति फुलाउन जरूरी पनि छैन किनकि नेपालमा भएका जस्ता सुन्दर ठाउँहरू संसारमा थुप्रै छन् । युरोपका आल्पसका सुन्दर पहाडका दृश्यहरू नेपालको घान्द्रुक र वरिपरिको तुलनामा नराम्रा छैनन् । युरोपियन, अमेरिकनहरूलाई नेपालको जति लोभ देखाए पनि उनीहरू आल्पस नै बढी रोज्छन् । पूर्वी एसियाका धनाढ्यहरू हाम्रा त्रिशुली र अरूण नदीहरूका राफ्टिङको जति प्रचार गरे पनि उनीहरूको बढी रोजाइमा अष्ट्रेलियाको टुली रिभर, कोस्टारिकाको पाकुयर रिभर र अमेरिकाको कोलोराडो रिभर हुन जान्छ । यसैले मुख्यकुरा के हो भने कुन ग्राहकलाई हामीले बजारीकरण गर्ने हो र हाम्रा सौन्दर्यहरूलाई अरूको भन्दा आकर्षक कसरी बनाउने भन्ने हो ।

युरोप, अमेरिका र दक्षिण एसिया बाहेकका अन्य देशका सम्पन्न पर्यटकलाई हामीले बेच्ने पर्यटन सेवा भनेको सगरमाथा र गौतम बुध्दको हो, जो हामीले गरिरहेका छौँ । यसबाहेक गर्न सकिने र निकै सम्भावना बोकेको एउटा क्षेत्र छ जसको पूर्वाधार निर्माणको लागि अहिलेबाटै कार्यारम्भ हुन जरूरी छ । यो देश सुहाउँदो विकासको मोडलसँग पनि मेल खान्छ र हालसम्म खास चर्चामा नआएको तर उच्च सम्भावना बोकेको पर्यटन सम्भावना हो । यो भौगोलिक, धार्मिक, जैविक अनि सांस्कृतिक विविधता पर्यटन हो जसले पश्चिमा देशका पर्यटकहरू तान्नसक्ने प्रचूर सम्भावना बोकेको छ । उत्तरदेखि दक्षिणको करिब दुईसय किलोमिटर मात्रको चौडाइमा हामीले करिब करिब समुद्र सतहदेखि संसारको उच्च भाग सगरमाथासम्मका विविधता देखाउन सक्छौँ र यो पनि भौगोलिकमात्र नभई अन्य क्षेत्रमा पनि । यो भयो पूर्वको कुरा पश्चिममा यसै विविधतालाई समेटी देशको दक्षिणी भागदेखि मानसरोवर र कैलाशसम्मको करिडोर बनाउन सकिन्छ । हामी भूकम्पका प्लेटहरूको ‘कोलिजन जोन’मात्र होइनौँ कि उत्तर र दक्षिणका संस्कृतिहरूको ‘कोलिजन जोन’ पनि हौँ जसले हामीमा यति धेरै सांस्कृतिक विविधता दिएको छ कि हेर्नलायक नै छ जो संसारको अन्य भागमा विरलै पाइन्छ र पश्चिमाहरू जहाँ सांस्कृतिक विविधताको खडेरी छ र यो एउटा आकर्षक गन्तव्य हुनेमा द्विविधा छैन ।

पर्यटनबारे थप भन्नुपर्दा हो हामीले युरोपियन र अमेरिकनलाई हाम्रा नदीनाला र पहाड देखाउन ल्याउन नसकौँला तर उत्तरी भारतको विशाल जनसागरलाई यो महत्वपूर्ण छ र नेपाल उनीहरूको गन्तव्य बनाउन सकिन्छ । यही बजारमात्र पनि हाम्रो ठूलो बजार हो । इन्डोनेसियाले बालीको पर्यटनलाई संसारभरि बेच्न सक्छ भने हामीले हाम्रो कला, संस्कृति र विविधता किन बेच्न सक्दैनौँ ? इन्डोनेसियाले बालीको छिमेकी लोम्बोकको पर्यटनलाई पनि मुस्लिम देशमा लक्षित गरेर बेचिरहेको छ भने हामीले दक्षिणी भागलाई भारतीय बजार निर्देशित र उत्तरी भागलाई चीन निर्देशित पर्यटनको विकास किन गर्न सक्दैनौँ ?

पर्यटनबाट बाहिर निस्किऔँ । भनिन्छ नि अहिलेका धनीहरू मिहिनेत गरेर भन्दा पनि ‘स्मार्ट’ बनेर धनी बनेका हुन् । यसैगरी देश पनि ‘स्मार्ट’ बनेरै धनी हुने हो । ‘निश मार्केटिङ’ स्मार्ट बन्ने मध्यकै एउटा उपाय हो । हामी कसरी स्मार्ट बन्ने र निश मार्केटिङमा हाम्रा सम्भावनाहरू के के छन् ? भौगोलिक अवस्थितिका कारण हामीले यस्तो व्यापार गर्नुपर्छ कि जसमा उत्पादनको सीमान्त लागत अर्थात् ‘मार्जिनल कस्ट’ कम होस् । यसको उदाहरणमा सूचना प्रविधिसम्बन्धी उत्पादन हो जसको लागि हामीलाई समुद्र चाहिँदैन व्यापार गर्नलाई र यसले प्रतियुनिट उत्पादनको लागत हृवात्तै घटाउँछ । उदाहरण लिँदा क्यानडाले सस्तो मूल्यका वस्तुको व्यापार नगरी बढी मूल्य पर्ने वस्तु र सेवाहरू विशाल छिमेकी अमेरिकामा व्यापार गर्न सफल भएको छ । यस्तै स्वीट्जरल्याण्डले युरोपको विशाल बजार र विश्वमा घडीको व्यापारमा केन्द्रित गरेको छ । हामी पनि सूचना प्रविधि तथा उच्च भू–भागमा पाइने वस्तुहरूमा केन्द्रित गर्न सक्छौँ ‘निश मार्केटिङ’ मार्फत् ।

यसबाहेक थुप्रै कुरा छन् जो हामी गर्न सक्छौँ उद्योग र व्यापारका क्षेत्रमा । नेपाल एउटा शैक्षिक केद्र बन्न सक्ने प्रचूर सम्भावना छ खासगरी चीसो वातावरण र शान्त परिवेशका कारण । त्यस्तै ‘वर्ल्ड प्रडक्ट म्यान्डेटिङ’ र ‘ब्रान्च प्लान्टिङ’ जस्ता कुराको प्रशस्त सम्भावना देखिन्छ । यस लेखमा सबै समेट्न नसकिने भएकोले आगामी लेखहरूमा यीबारेमा विस्तृत्मा व्याख्या गरिने छ । हामी अहिले खालि कृषि र पर्यटनमा मात्र ध्यान दिई अरू केही नगरी बस्ने भनेको पनि होइन । विकास समाजका हरेक आयाममा देखिनुपर्छ । यसबारे आगामी लेखहरूमार्फत् आउने छन् । भन्न खोजिएको कुरा यतिमात्र हो कि यी हाम्रा प्रस्थान विन्दुहरू हुन् र यी कुरा तत्काल सरकारका नीतिहरूमार्फत् विकरणित हुनुपर्ने विषयहरू हुन् ।

फेरि पनि यी सब गर्नलाई दूरदर्शी, परिवर्तनको संवाहक र सक्षम नेतृत्व आवश्यक हुन्छ । यसका लागि आगामी चुनावमा त्यस्तो नेतृत्व छान्ने र चुन्ने जिम्मेवारी पनि हाम्रै हो ।

(नेपाल राष्ट्र बैँकका पूर्वअधिकृत डा. पौडेल क्यानडास्थित शेरिडान कलेजमा अर्थशास्त्रका प्राध्यापक हुन् ।)

प्रकाशित : आश्विन १८, २०७९ २१:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×