अमेरिकामा इयान आँधीको कहर

एजेन्सी

फ्लोरिडा — समुद्री आँधी इयानले अमेरिकाको फ्लोरिडा र साउथ क्यारोलिनामा व्यापक क्षति निम्त्याएको छ । शुक्रबार साँझसम्म फ्लोरिडामा मात्रै २१ जनाको मृत्यु भइसकेको छ । उच्च गतिको हावा, वर्षा र बाढीले समुद्री तटीय क्षेत्रका लाखौं मानिस प्रभावित भएका छन् ।

अमेरिकामा इयान आँधीको कहर

घर, भवनलगायतका संरचना भत्किएका छन् भने जलमग्न सडक तथा बस्तीमा कार, बस, पानीजहाज तैरिरहेका देख्न सकिन्छ ।

फ्लोरिडामा मात्रै १६ लाख घर विद्युत्विहीन भएका छन् । साउथ क्यारोलिनामा यो संख्या २ लाखभन्दा माथि छ । समुद्रबाट १३० किलोमिटर टाढाको दक्षिणी सहर चाल्र्सटनमा पहिरो गएको छ । रुखहरू भाँचिएर कतिपय सडकमा आउजाउ ठप्प छ ।

हाल आँधीको गति केही कम भए पनि खतरामुक्त अवस्था सिर्जना भइनसकेको भन्दै नेसनल हुरिकेन सेन्टरले (एनएचसी) सबैलाई सचेत गराएको छ । मध्य फ्लोरिडाका नदीहरूमा आगामी सातासम्ममा जलस्तरले रेकर्ड कायम गर्ने उसको दाबी छ । नर्थ क्यारोलिना र भर्जिनियाका केही स्थानमा शनिबार रातिदेखि उच्च गतिसहितको वर्षा र बाढीको खतरा रहेको पनि एनएचसीको प्रक्षेपण छ । ‘हाल प्रतिघण्टा ८५ किमिको गतिमा आँधी उत्तरतर्फ अगाडि बढिरहेको छ,’ एनएचसीले भनेको छ, ‘गति र क्षतिका आधारमा यो चौथो तहको आँधी हो ।’ यसअघि सन् २००५ मा लुसियाना राज्यमा पाँचौं तहको कट्रिना आँधीले १८ सयभन्दा बढीको ज्यान लिएको र सवा खर्ब डलरको क्षति भएको थियो ।

राष्ट्रपति जो बाइडेनले इयान अमेरिकी इतिहासमै सबैभन्दा विध्वंसक प्राकृतिक विपत्ति बन्ने देखिएको बताएका छन् । शुक्रबार

ह्वाइटहाउसमा बोल्दै उनले क्षतिको विवरण संकलन भइरहेको जनाए । अमेरिकी अध्ययन संस्था कोरलजिकअनुसार हालसम्म ४७ अर्ब बराबरको धनमालको क्षति भइसकेको छ ।

साताको सुरुवातमा इयानले क्युबामा विध्वंस मच्चाएको थियो । १ करोड १० लाखको बसोबास रहेको पूरा राज्यमै विद्युत् सेवा ठप्प हुन पुगेको थियो भने हजारौं घर र संरचनाहरू भत्किएका थिए ।

प्रकाशित : आश्विन १६, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?