कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमा आत्मघाती विस्फोट : १९ जना मारिए, २७ घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा १९ जना मारिएका छन् । साथै २७ जना घाइते भएका छन् । राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको दश्त ए बर्ची इलाकामा शुक्रबार बिहान विस्फोट भएको हो ।

अफगानिस्तानमा आत्मघाती विस्फोट : १९ जना मारिए, २७ घाइते

प्रहरी प्रवक्ता खालिद जाद्रानका अनुसार काज एजुकेसन सेन्टरमा विद्यार्थीहरू परीक्षाको तयारी गरिरहँदा विस्फोट गराइएको थियो । जुन क्षेत्र अल्पसंख्यक हजारा समुदायको बढी बसोबास रहेको छ ।

'उक्त शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा विद्यार्थीहरू विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीमा थिए । दूर्भाग्यवश १९ जनाको मृत्यु भयो । २७ जना घाइते भएका छन्,' प्रहरी प्रवक्ता खालिद जाद्रानले बताए ।

दुर्घटना स्थलबाट पीडितहरूलाई उठाउँदै गरेको र रगताम्य भएका भिडियो र तस्बिरहरू स्थानीय मिडियाले सार्वजनिक गरेका छन् । घाइते हुने र मारिनेमा स्कुले विद्यार्थीहरू पनि परेको अलजजीराले जनाएको छ ।

विस्फोट भएको समयमा त्यहाँ ६ सय विद्यार्थीहरू रहेकोमा घाइते हुने अधिकांश पीडित छात्राहरू रहेको बताइएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार हजारा समुदायले यस क्षेत्रमा वर्षौंदेखि तालिबानको सतावट खेप्नु परेको आरोप लगाउने गरेको छ । गत वर्ष भने यस क्षेत्रमा सशस्त्र विद्रोही समूह आईएसआईएसले यही क्षेत्रमा आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो । जहाँ विद्यार्थीहरूसहित २४ जना मारिएका थिए ।

साथै यसै वर्षको अप्रिलमा छुट्टाछुट्टै शैक्षिक संस्थामा भएका दुईवटा बम विस्फोटमा ६ जना मारिनुका साथै २० जना घाइते भएका थिए ।

प्रकाशित : आश्विन १४, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?