कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युक्रेनी भूभाग रुसमा गाभ्दै पुटिन

लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनका जनताले जनमत संग्रहमार्फत रुसमा गाभिने निर्णय गरेका रुसी अधिकारीको दाबी
एजेन्सीहरू

किभ/मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ४ वटा भूभागलाई औपचारिक रूपमा आफ्नो देशमा गाभेको घोषणा गर्ने भएका छन् । रुसले पाँच दिन लामो जनमतसंग्रह गरेपछि त्यसको नतिजाअनुसार युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई शुक्रबार औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको हो ।

युक्रेनी भूभाग रुसमा गाभ्दै पुटिन

युक्रेनको दक्षिण पूर्वमा रहेका ती क्षेत्रहरू रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ । जनमतसंग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीहरूले दाबी गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनले एक समारोहबीच ती क्षेत्र आफ्नो देशमा गाभिएको घोषणामा हस्ताक्षर गरेपछि विशेष भाषण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ । त्यसका लागि राजधानी मस्कोस्थित रेड स्क्वायरमा भव्य मञ्च तयार गरिसकिएको बीबीसीले जनाएको छ ।

समारोहमा अतिक्रमित क्षेत्रका दुई पृथकतावादी नेताहरूसमेत सहभागी हुने जनाइएको छ । त्यसैगरी, राष्ट्रपति पुटिनले आफ्नो ७० औं जन्मदिनको तीन दिनघघि अर्थात् अक्टोबर ४ मा रुसको माथिल्लो सदनमा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेका भए पनि रुसी संसद्ले ती क्षेत्र आफ्नो देशमा गाभिएको अनुमोदन गर्ने जनाइएको छ ।

रुसको पछिल्लो कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमको झल्को दिएको छ । अमेरिका, युरोपेली संघलगायत पश्चिमा शक्तिले क्राइमियाको जस्तै यो पटकको जनमत संग्रहलाई पनि यसअघि नै अवैधानिक घोषणा गरिसकेका छन् ।

यद्यपि, रुस आफ्नो निर्णयबाट पछि हट्ने कुनै सम्भावना छैन । युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनमा रुसले पाँच दिन लगाएर जनमतसंग्रह गरेको हो । रुसले सुरक्षाकर्मी र कर्मचारीलाई मतदानका लागि घरघरमा खटाई ती भूभाग आफ्नो देशमा गाभ्ने पक्षमा मत दिन दबाब दिएका कतिपयको दाबी छ ।

त्यसका साथै, रुसी राष्ट्रिय गान बजाएर मतदान सुरु गरिएको र रुसी पक्षले सर्वसाधारणलाई प्रभावित पारेका कारण जनमतसंग्रह औपचारिकता मात्रै भएको पश्चिमा देशका अधिकारीहरूको दाबी छ ।

क्रेमलिनले मतपरिणम यसअघि तयार गरिसकेको र जनमत संग्रहलाई युक्रेनी क्षेत्रलाई अवैध रूपमा हडप्ने साधनका रूपमा प्रयोग गरेको पश्चिमा देशहरूको दाबी छ । जनमतसंग्रह अवैध बताउँदै ती देशहरूले रुसी कदमलाई स्वीकार नगर्ने बताउँदै आएका छन् ।

जनमतसंग्रहपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरू लगाउने जनाएको छ । त्यस्तै युरोपेली संघले पनि आठौं चरणको प्रतिबन्धको तयारी गरेको छ । जर्मन विदेशमन्त्री अनालेना बयरबोकले रुसले बन्दुकको त्रासमा अतिक्रमित भूभागका जनताको घर, कार्यक्षेत्र र जीवन लुटेको आरोप लगाएका छन् । ‘यो स्वतन्त्र र निष्पक्ष चुनावको विपरीत हो । यो शान्तिको विपक्षमा छ र यो तानाशाही शान्ति हो,’ उनले भनेका छन् ।

रुसले आफूमा गाभ्ने निर्णय गरेका ४ वटा भूभाग शतप्रतिशत भने आफ्नो नियन्त्रणमा छैनन् । लुहान्स्कको लगभग सबै क्षेत्र रुसले कब्जा गरेको भए पनि दोनेत्स्कको ४० प्रतिशत भूभाग युक्रेनको नियन्त्रणमा छ ।

रुसले सन् २०१४ मार्चमा पनि रुसले युक्रेनी क्षेत्र क्राइमियालाई पनि आफूमा गाभोका थियो । त्यतिबेला ९५ प्रतिशतभन्दा बढी जनताले रुसमा समाहित हुने मत दिएका जनाइएको थियो ।

राष्ट्रपति पुटिनले गत बुधबार युक्रेनमा युद्धलाई तीव्रता दिन थप ३ लाख अतिरिक्त सैनिक परिचालन गर्ने घोषणा गरेका थिए । त्यसको विरोधमा रुसभित्रै पनि विरोध प्रदर्शनहरू भइरहेका छन् भने युद्धमा सहभागी हुनुपर्ने चिन्ताले रुस छाड्नेहरूको संख्या बढेको छ ।

२९ लाख सैनिक रहेको रुसमा अहिले ९ लाख मात्रै सक्रिय सेवामा छन् । यसअघि कुनै पनि समय सैन्य सेवा रहेका करिब २० लाख जगेडा सैनिकमध्ये अहिले ३ लाखलाई युक्रेन युद्धमा खटाउनका लागि सेवामा फिर्ता बोलाइएको हो । युक्रेमाथिको युद्धमा परिचालन गर्न लागिएको छ । सरकारको घोषणाअनुरूप युद्धमा सामेल हुन नपरोस् भन्न हजारौं रुसी नागरिक परिवारसहित नै मुलुक छोडिरहेका छन् ।

पुटिनको घोषणाको विरोधमा सहभागी करिब २५ सय प्रदर्शनकारी पक्राउ परिसकेका संयुक्त राष्ट्रसंघले जनाएको छ । करिब तीन दर्जन रुसी सहरहरूमा प्रदर्शनहरू भइरहेको र पक्राउ परेका करिब ८ सय जना हाल हिरासतमै रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि सैन्य कारबाही थालेको हो । त्यसयता युक्रेन तथा रुसका हजारौं सैनिक तथा सर्वसाधारणको ज्यान गइसकेको छ भने दसौं लाख विस्थापित भइसकेका छन् ।

प्रकाशित : आश्विन १४, २०७९ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?