ईपीएस कामदारलाई पेन्सन बिमामा सहभागी गराउन माग- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएस कामदारलाई पेन्सन बिमामा सहभागी गराउन माग

गोकुल थोकर

सोल — रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा रहेका कामदारहरूले राष्ट्रिय पेन्सन बिमा (खुकमिन एनगुम) मा सहभागी गराउन माग गरेका छन् । श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र ईपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालसँगको भर्चुअल बैठकका क्रममा कामदारहरूले उक्त माग राखेका हुन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा १६ वटा देशका कामदार आउँछन् । त्यसमध्ये थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र किर्गिस्थानका कामदारले मात्रै कोरियाली राष्ट्रिय पेन्सन बिमा पाइरहेका छन् । ‘पेन्सनमा सहभागी कामदार घर जाँदा हाम्रोभन्दा धेरै राम्रो पैसा पाउँछन् । नेपालले पनि समयमै यो प्रणालीमा सहभागी भएको भए कोरिया आउने हामी कामदार लाभान्वित हुन्थ्यौं,’ दक्षिण कोरियाको योङइनमा काम गर्ने अजय सोडारीले भने ।

कोरियाली राष्ट्रिय बिमामा कामदारको ४.५ प्रतिशत र रोजगारदाताका तर्फबाट ४.५ प्रतिशत गरी ९ प्रतिशत पैसा जम्मा गर्नुपर्ने नियम छ । ‘एउटा कामदारले पाँच वर्ष काम गर्‍यो भने घर जाने समयमा अहिलेकै तलबले पनि १२ लाख रुपैयाँभन्दा बढी पैसा पाउँछ,’ ख्याङ्गीदो नाम्याङमा काम गर्ने पूर्णमान तामाङले भने ।

यस्तो सुविधाका लागि नेपाल सरकारले पहल गर्नुपर्ने कार्यक्रम आयोजकमध्येका एक गुरुदत्त न्यौपानेले बताए । रोजगार अनुमति प्रणाली (ईपीएस) बारे हुन लागेको नयाँ एमओयूमा नेपाली कामदारलाई पनि राष्ट्रिय पेन्सन बिमामा सहभागी गराउने मन्त्री शेरबहादुर कुँवरले आश्वसन दिएका जनाइएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्

कोरियामा एक नेपालीको मृत्यु

गोकुल थोकर

सोल — दक्षिण कोरियामा एक नेपालीको औद्योगिक दुर्घटनामा मृत्यु भएको छ । छुङ्छननाम्दोको छङयाङगुनको बंगुर फर्ममा कार्यरत लमजुङका इन्द्र गुरुङको शुक्रबार मृत्यु भएको हो । 

लमजुङ परिवार दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष मेघ वाइबाले ढलको पाइप मर्मतको क्रममा दुर्घटनामा परी गुरुङको मृत्यु भएको जानकारी दिए । ‘बंगुरको मलमूत्रबाट ग्यास निकाल्ने गरेको रहेछ । केही दिनदेखि त्यो पाइप बन्द भएकोले बनाउन जाँदा विषाक्त ग्यास निस्केर मृत्यु भएको अनुमान रहेछ । त्यहाँ सीसीटीभी पनि रहेनछ । थप कुरा अनुसन्धानपछि भन्न सकिने प्रहरीले बताएका छन्,’उनले भने । गुरुङसँगै काम गर्ने ३० वर्षीय कोरियालीको पनि सोही घटनामा मृत्यु भएको छ ।

दुई वर्षअघि पनि बंगुर फर्ममा काम गर्ने क्रममा विषाक्त ग्यासका कारण दुई जना नेपालीले ज्यान गुमाएकाथिए । कोरियाली मजदुर युनियनहरुले कामदारका लागि सुरक्षा माग्दै आए पनि सरकारले बेवास्ता गर्दै आएको छ । ‘कोरियामा ज्यान गुमाउने विदेशी धेरै छन् । औद्योगिक दुर्घटनामा रोजगारदाताको हेलचेक्र्याइँ मुख्य कारण हो । त्यसैले त्यस्ता रोजगारदातालाई कडा कारबही गरे धेरै कामदारको ज्यान बच्नसक्थ्यो,’ प्रवासी मजदुर युनियनका महासचिव मधुसुधन ओझाले भने ।

प्रत्येक वर्ष ८ हजारभन्दा बढी औद्योगिक दुर्घटना भएको कोरियाली श्रम मन्त्रालयको तथ्यांकले देखाउँछ ।

प्रकाशित : आश्विन २, २०७९ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×