अधिकार माग्दै इरानी महिला सडकमा - विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अधिकार माग्दै इरानी महिला सडकमा 

हिजाबसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि चर्केको हिंसामा ४१ जनाको मृत्यु
बुद्धिसागर मरासिनी

काठमाडौँ — इरानी धार्मिक प्रहरीद्वारा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन चर्कंदै गएको छ ।कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले गत साता पक्राउ गरेको थियो । २२ वर्षीया अमिनीको पक्राउ परेको तीन दिनपछि हिरासतमा मृत्यु भएको हो ।

इरानी प्रहरीले हिजाबसम्बन्धी नियमको प्रशिक्षणका क्रममा अकस्मात् हृदयाघात भएर अमिनीको मृत्यु भएको परिवारलाई बताएको थियो । तर पक्राउ पर्नुअघि अमिनीमा कुनै पनि स्वास्थ्य समस्या नरहेको उनको परिवारले जनाएको छ । पक्राउपछि अमिनीलाई प्रहरी भ्यानमा राखिएको र टाउकोलगायतका अंगमा कुटपिट गरिएको प्रत्यक्षदर्शीले देखेका बीबीसीले जनाएको छ ।

अमिनीका बुबा अमजादले ‘मृत्युपछि आफ्नी छोरीको शरीर हेर्न नदिइएको’ बताएका छन् । ‘अमिनीको अनुहार र खुट्टा मात्र देखिने गरी शव दाहसंस्कारका लागि तयार गरेर राखिएको थियो,’ उनले भनेका छन्, ‘उनको खुट्टामा चोटहरू थिए ।’ प्रहरीले छोरीको मृत्युबारे आफूलाई ढाँटेको उनको भनाइ छ ।

अमिनीको मृत्युपछि ‘लामो समयदेखि महिलाले नरुचाएको कानुन’ को विरोधमा प्रदर्शन चर्केको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । त्यसका साथै हिजाब कानुन पालना गराउने धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ ले गरेको अपमान र दण्ड सम्झिएका इरानी महिला आक्रामक रूपमा सडकमा उत्रेका हुन् ।

बीबीसीका अनुसार पछिल्लो समय ३१ प्रान्तका कम्तीमा ८० सहरमा प्रदर्शनहरू भएका छन् । विरोध चर्कंदै गएपछि प्रहरीले व्यापक दमन गरेको जनाइएको छ । जसका कारण ४१ जनाको ज्यान गइसकेको र ७ सयभन्दा बढी पक्राउ परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मालेकीले ६० महिलासहित ७३९ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनका अनुसार मृत्यु हुनेमा पाँच जना सुरक्षा अधिकारी छन् । तर, ज्यान गुमाउने प्रदर्शनकारीको संख्या अझै बढिरहेको मानव अधिकारवादी समूहहरूको दाबी छ ।ओस्लोस्थित इरान मानवअधिकारले सुरक्षाकर्मीको दमनका कारण कम्तीमा ५० जनाको मृत्यु भएको जनाएको छ । अमिनीको मृत्युबारे समाचार प्रकाशन गर्ने सुधारवादी अखबार सार्गका निलोफर हामेदीसहित ११ जना पत्रकार र केही अधिकारकर्मीलाई सुरक्षा फौजले पक्राउ गरेको ‘द टाइम्स अफ इजरायल’ ले जनाएको छ ।

महिलाहरूको अगुवाइमा सुरु भएको प्रदर्शनलाई पछिल्लो समय पुरुषले पनि साथ दिएका छन् । उनीहरूले इरानको कठोर धार्मिक कानुन खारेजीको चर्को रूपमा माग गरेका छन् । महिलाहरूले सार्वजनिक स्थानमा अनुहार र हातबाहेक सबै अंग ढाक्नुपर्ने नियमको उनीहरूले विरोध गरिरहेका छन् । त्यस्तै, महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यको समेत आवाज उठेको छ ।

विरोधका क्रममा महिलाहरूले सार्वजनिक स्थानमा नै कपाल काटेका र हिजाब जलाएका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनीहरूले ‘तानाशाहीलाई फाँसी दे’ भन्दै नाराबाजी गरेका सीएनएनले जनाएको छ । राजधानी तेहरानका विभिन्न विश्वविद्यालयमा पनि विद्यार्थीहरूले आन्दोलन चर्काएका जनाइएको छ ।

अधिकारको माग गर्दै इरानी महिलाहरूले विरोध प्रदर्शन चर्काएको यो पहिलो पटक भने होइन । सन् १९७९ को इस्लामिक विद्रोहयता नै इरानी महिलाले हिजाब कानुनलाई चुनौती दिँदै आएका छन् । सन् २०१७ मा एक महिलाले इरानी राजधानी तेहरानको मध्यभागमा हिजाब निकालेर लाठीमा राखेर हल्लाएपछि यसले अभियानकै रूप लिएको हो ।

पछिल्लो विरोध प्रदर्शन सन् २०१९ यताकै ठूलो भएको बताइएको छ । लामो समयदेखि अमेरिकालगायतका पश्चिमा देशले लगाएका विभिन्न प्रतिबन्धका कारण इरानी अर्थतन्त्र निकै प्रभावित भएको छ । जसका कारण इरानी जनताको जनजीवन कष्टकर बन्दै गएको छ ।

पछिल्ला प्रदर्शनहरू देशको शासन प्रणालीको केन्द्रमा रहेका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीप्रति लक्षित छन् । खामेनीको उत्तराधिकारीका रूपमा हेरिएका मोज्ताबाविरुद्ध पनि चर्का नाराबाजीहरू गरिएको छ ।

कतिपय सहरमा प्रदर्शनकारीले प्रहरी कार्यालय र सरकारी भवनमा आगो लगाइदिएका छन् । सिया बाहुल्य मसहद सहरबाट सार्वजनिक भिडियोमा एक महिलाले प्रहरीको गाडीमा उभिएर ‘इस्लामिक गणराज्य हामीलाई चाहिँदैन’ भन्दै आक्रोश व्यक्त गरेकी छन् । त्यस्तै, गिलान प्रान्तमा एक बूढी महिलाले आफ्नो हिजाब निकाल्दै ‘खामेनीलाई मृत्युदण्ड देऊ’ भन्दै नारा लगाएकी बीबीसीले जनाएको छ ।

अमिनीको घर रहेको क्षेत्र कुर्दिस्तानमा निकै भयानक प्रदर्शन र झडपहरू भएका छन् । कुर्दिस्तानमा मात्रै कम्तीमा १५ प्रदर्शनकारी मारिएका जनाइएको छ । कुर्दिस मानवअधिकार समूह हेंगले बुधबार एकै दिन सरकारी फौजबाट ८ जना मारिएका जनाएको छ ।

विगतका वर्षमा फाट्टफुट्ट विरोध प्रदर्शनहरू हुने गरेका भए पनि यस पटक आर्थिक संकटले प्रदर्शनकारी थप रुष्ट बनेका देखिएको छ । परमाणु कार्यक्रमको प्रतिक्रियामा अमेरिकाले कठोर प्रतिबन्ध लगाएपछि इरानले अर्थतन्त्रको मुख्य स्रोत तेल बिक्री गर्न पाएको छैन । त्यसमाथि भ्रष्टाचार र आर्थिक दुरवस्थाका कारण लामो समयदेखि इरानीहरूले महँगी, बेरोजगारी र खाद्यान्न अभावको समस्या झेल्न बाध्य छन् ।

केहि दिनयताका प्रदर्शनमा पुरुषहरूको पनि सहभागिता बढेसँगै देशको आर्थिक अवस्था र भ्रष्टाचारविरुद्ध पनि आवाज उठ्न थालेको छ । ‘यसले इरानी नेतृत्वमाथि नै गम्भीर असर पुग्ने देखिएको छ,’ स्थानीय पत्रकार राना रहिमपुरले भनिन् ।

तर सरकार भने प्रदर्शनकारीका माग सुन्ने भन्दा पनि दमन गर्ने बाटोमा देखिएको छ । धेरै स्थानमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले पानीको फोहोरा, अश्रुग्यास र लाठी प्रहार गरेका देखिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा ठूलो संख्यामा तैनाथ दंगा प्रहरी तथा सादा पोसाकमा खटिएका बसिल अर्धसैनिकहरूले प्रदर्शनकारीलाई बन्दुक र पानीको फोहोरा प्रयोग गरिरहेको देखिन्छ ।

मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ । त्यस्तै, इरानी रिभोलुसनरी गार्ड्सले देशमा भइरहेको प्रदर्शनलाई ‘देशद्रोही कार्य’ को संज्ञा दिँदै मानिसलाई पाठ सिकाउन प्रदर्शन दबाउनुको विकल्प नभएको बताएको छ ।

प्रदर्शन अनियन्त्रित बन्दै गएपछि इरानी राष्ट्रपति इब्राहिम राइसीले ‘देशको शान्ति सुरक्षामा खलल पुर्‍याउनेहरूसँग ‘निर्णायक रूपमा व्यवहार गर्न’ आह्वान गरेका अल जजिराले जनाएको छ । ‘विरोध र सार्वजनिक सुरक्षामा खलल’ बीच भिन्नता देखिनुपर्ने बताउँदै उनले पछिल्लो कार्य ‘दंगा र दुष्टता’ भएको दाबी गरेका छन् ।

इरानमा पछिल्लो समय चर्किएको प्रदर्शन तीन वर्षयताकै ठूलो हो । इन्धनको मूल्य वृद्धिको विरोधमा सन् २०१९ को नोभेम्बरमा सुरु भएको आन्दोलनलाई सरकारले दमन गर्ने क्रममा १ हजार ५ सय जना मारिएका समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त आन्दोलनलाई इरानको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण बताइएको छ ।

मुस्लिम महिलाहरूले परम्परागत रूपमा टाउको ढाक्न प्रयोग गर्ने वस्त्र हो हिजाब । यो लगाउँदा मानिसको टाउकोदेखि घाँटी हुँदै छातीसम्म छोपिन्छ । तर अनुहार भने खुला रहन्छ । अरबी शब्द ‘हिजाब’ को अर्थ अवरोध हो । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि हिजाब कानुन लागू गरेको हो । त्यसयता इरानी महिलाहरू घरबाहिर निस्कँदा अनिवार्य रूपमा हिजाब लगाउँदै आएका छन् । इरान घुम्न जाने अन्य देशका नागरिकले पनि त्यहाँका महिलाले जसरी हिजाब लगाउनुपर्ने नियम छ ।

इस्लामिक कानुनअनुसार महिलाले घरबाहिर निस्कँदा आफ्नो अनुहार र हात (नाडीसम्म) बाहेक सम्पूर्ण अंग छोप्नुपर्छ । तर यथार्थमा भने यो नियम पूर्ण रूपमा कार्यान्वयनमा भने आएको देखिँदैन । यद्यपि, केही महिलाले भने यो कानुनको पालना गर्ने गरेका छन् । इरानमा यो कानुन लागू गरिएसँगै महिलाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । त्यसयता उनीहरूले पटकपटक उक्त कानुनको सार्वजनिक रूपमा विरोधसमेत गर्दै आएका छन् ।

बासिज अर्धसैनिकले सहयोग गर्ने धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ ले हिजाबसम्बन्धी कानुन कार्यान्वयन गर्दै आएको छ । यसले तोकिएको नियमअनुसार हिजाबको प्रयोग भए/नभएको हेर्ने, महिलाले आफ्नो केश तथा शरीर ढाके/नढाकेको हेर्ने र शृंगारका सामग्रीको प्रयोगलाई दुरुत्साहन गर्ने काम गर्छ । हिजाबको प्रयोग सही तरिकाले नभएको खण्डमा चेतावनी दिने, जरिवाना लिने र पक्राउसमेत गर्नका लागि गस्त–इ–इरसादलाई गठन गरिएको थियो । तर हालै गरिएको सुधारअन्तर्गत केही समयपछि उक्त फौजले ती काम गर्न नपाउने बताइएको छ । त्यसको साटो ७ हजार सादा पोसाकका धार्मिक प्रहरीले हिजाबसम्बन्धी नियम उल्लंघन गर्ने महिलाका विषयमा प्रहरीलाई जानकारी दिने जनाइएको छ ।

पछिल्लो समय खासगरी सहरी धनी वर्गका महिलाले हिजाबसम्बन्धी नियम पूर्ण रूपमा पालना नगरेको पाइन्छ । त्यस्ता महिलाले उक्त नियमलाई आंशिक रूपमा उल्लंघन गर्ने गरेका छन् । उनीहरूले सम्भव भएसम्म टाउकोको पछाडिपट्टि मात्र हिजाब लगाउने तथा गर्मीयाममा खुला राख्ने गर्छन् । इरानमा जस्तै, साउदी अरब, मलेसिया, सुडानलगायतका देशमा पनि धार्मिक प्रहरीको व्यवस्था छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : आश्विन १०, २०७९ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमै चराको अवैध किनबेच

गैरकानुनी रुपमा बिक्रीका लागि राखिएका ७ सय चरा नियन्त्रणमा, बेचबिखन गर्नेहरु तारिखमा छुटे
गोविन्द पोखरेल

काठमाडौँ — अनुगमन संयन्त्र फितलो भएको मौका छोप्दै काठमाडौंमा उपत्यकामा चराको अवैध कारोबार बढेको पाइएको छ । काठमाडौंको स्वयम्भू, लाजिम्पाट, पानीपोखरी क्षेत्रमा अवैध रूपमा चरा बिक्रीवितरण हुने गरेको पाइएको हो । 

बारम्बार सूचना आउन थालेपछि नियन्त्रणका लागि जिल्ला वन कार्यालय काठमाडौंले गरेको अपरेसनबाट विभिन्न स्थानमा ७ सयभन्दा बढी चराहरू नियन्त्रणमा लिइएको छ । वन कार्यालयसहित, प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो र पन्छी संरक्षण संघले ग्राहक बनेर अनुगमन गर्दा दर्जनौं पसलबाट अवैध रूपमा बेच्नका लागि ठिक्क पारिएका १५ प्रजातिका ६ सयभन्दा बढी चरा बरामद गरिएको सहायक वन अधिकृत धनमाया सुनुवारले बताइन् ।

अनुगमनका क्रममा स्ट्रबेरी फिन्च, जेब्रा फिन्च, बेंगोली फिन्च, डायमन्ड डोभ, बज्री, काकातिल, लभबर्ड, रेड ब्रेस्टेड प्याराकिट, तोपचरा, कन्ठे सुगा, लक्का पिजन, जाभा फिन्ज, ग्रीन चिट प्याराकिट, स्केली ब्रेस्टेड मुनिया, प्लम हेडेड प्याराकिट प्रजातिहरूको अवैध रूपमा बिक्रीवितरण भइरहेको पाइएको थियो ।

नियन्त्रणमा लिइएका चराहरूलाई जावलाखेलस्थित सदर चिडियाखाना पठाइएको छ । बरामद गरिएका चराहरूमध्ये काग भेला सुगा, बाया तोपचरा, कोटेरो मुनिया र सुगा प्रजाति नेपालका वन जंगलहरूमा पाइने संघका पन्छीविद् सन्तोष बजगाईंले बताए । तीमध्ये भेला सुगा आईयूसीएन नेपालको रातो पुस्तिकामा संवेदनशील अवस्थामा रहेको भन्ने सूचीकृत प्रजाति हो । साइटिसको अनुसूची–२ मा समेत यो प्रजाति सूचीकृत छ । स्वीकृतिबिना यो चरा ओसारपसार गर्न नपाइने बजगाईंले बताए ।

अनुगमन टोलीले १ सय ९४ वटा बेंगोली फिन्च चरा स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । यस्तै, १८ वटा भेला सुगा, २ सय ४० वटा बज्री चरा नियन्त्रणमा लिइएको थियो । स्वयम्भू क्षेत्रबाट १ सय ७६ वटा र लाजिम्पाटबाट ६५ वटा कोटेरो मुनिया चरा बरामद भएको सुनुवारले जानकारी दिइन् ।

नेपालमा चराको व्यापार गर्न निषेध छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ (साइटिस ऐन) अनुसार दुर्लभ वा लोपोन्मुख वन्यजन्तुको वा वनस्पतिको वा सोको नमुना अनुमतिबिना खरिदबिक्री गर्न, आफूसँग राख्न, किनबेच गर्न गराउन पाइँदैन । चरा बिक्री गर्न राख्ने पसलेहरूमध्ये ४ जनालाई बयान लिएर छाडिएको छ । उनीहरूले अवैध तरिकाबाट भारतका विभिन्न ठाउँबाट चराहरू काठमाडौं भित्र्याउने गरेको खुलेको छ । अनुगमनका क्रममा चराको अवैध व्यापार तथा व्यवसाय मुख्यतः काठमाडौंको स्वयम्भू क्षेत्रमा हुने गरेको पाइएको छ । अनुगमन टोलीले ती क्षेत्रमा ग्राहक बनेर पसलहरूमा छापा मारेको थियो ।

पन्छी संरक्षण संघका अनुसार नेपालमा पाइने चराहरूको अवैध चोरीसिकार हुने चराको प्रजाति संख्या ३५ छन् । अनलाइन तथा पसलहरूमा चराको व्यापारका लागि ग्राहकहरू आउने गरेका छन् । बिक्रीवितरणका लागि राखिएको चराको मूल्य २५० देखि १७ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । बोल्ने सुगाको मूल्य सबैभन्दा बढी हुने गरेको अनुगमन टोलीले जनाएको छ । यस्तै, नेपालमा पाइने कण्ठे सुगा पनि विभिन्न ठाउँमा बिक्री हुँदै आएको छ ।

वन्यजन्तुको अखेटोपहार तथा अवैध व्यपार सम्बन्धमा अनुसन्धान गरिरहेका सन्देश न्यौपाने मानिसको संस्कृतिसँग पनि जोडिएकाले चराहरूको अवैध कारोबार सजिलै नियन्त्रणमा आउन नसक्ने बताउँछन् । ‘मानिसहरूले घरघरमा परेवा, सुगा पाल्ने गरेका छन् । धार्मिक कार्यका लागि मयुरको प्वाँख प्रयोग गर्छन्,’ उनले कान्तिपुरसित भने, ‘नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय बोर्डर खुला भएकाले चरा लुकाएर ल्याउन सजिलो भएको छ ।’ सरोकारवाला निकायले गम्भीर रूपमा लिने र सीमानाकामा कडाइ गर्ने हो भने नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालले अवैध रूपमा चरा बिक्रीवितरण गर्न नपाइने बताए । संलग्नलाई १० लाख रुपैयाँ जरिवाना वा १५ वर्षसम्मको कैद वा दुवै सजाय हुने कानुन छ । नेपालमा चरा पालन गर्नका लागि कानुनी व्यवस्था पूर्ण रूपमा नभएको उनले बताए । चरा पाल्नेको स्रोत खुलाउनुपर्ने, प्रजाति र स्रोत खुलाउन नसके कारबाहीको व्यवस्था रहेको उनले जानकारी दिए ।

‘कानुनतः चराचुरुंगीको बिक्रीवितरण गर्न पाइँदैन,’ ढकालले भने, ‘भइरहेको खुल्यो, हामी अनुगमन गरिरहेका छौं । विदेशबाट ल्याइएको हो भने प्रक्रिया पूरा गरे/नगरेको हेर्नुपर्ने हुन्छ । खुलेआम किनबेच कानुनको उल्लंघन हो ।’

प्रकाशित : आश्विन १०, २०७९ ०९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×