सार्कमा नमिल्ने, एससीओमा सँगसँगै- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्कमा नमिल्ने, एससीओमा सँगसँगै

‘भारत र पाकिस्तानले मिलेर सार्कलाई अघि बढाई दायरा फराकिलो पार्नुपर्ने हो तर सांघाई कोअपरेसन अर्गनाइजेसनमा भाग लिने र सार्कलाई निष्क्रिय पार्ने काम गरे’
जगदीश्वर पाण्डे

काठमाडौं — उज्वेकिस्तानको समरकन्दमा भदौ ३० र ३१ मा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मलेन सम्पन्न भयो । सम्मेलनमा आयोजक उज्वेकिस्तानसहित नेपालका दुई छिमेकी भारत र चीन, तथा सदस्य मुलुकहरू पाकिस्तान, रुस, ताजिकस्तान, उज्वेकिस्तान, काजाकिस्तान र किर्गिस्तान सहभागिता भए । भेलामा उपस्थित राष्ट्राअध्यक्ष तथा सरकार प्रमुखहरू संयुक्त रूपमा एउटै टेबुलमा बसे । उनीहरूले संयुक्त तस्बिर पनि खिचाए ।

बैठकको समापनमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सबैको सहमतिमा संयुक्त रूपमा वक्तव्य पनि जारी गरे । यसरी एससीओको भेलामा सहभागी हुने, भेलामा बसेर आफ्नो विचार राख्ने, तस्बिर खिचाउने र अन्त्यमा वक्तव्यका लागि सहमति पनि जनाउनेमा रुसका राष्ट्रपति भ्ल्यादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङसहित दक्षिण एसियाका दुई ठूला मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफ पनि थिए ।

सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएपछि दुई मुलुकमा विभाजन भएको भारत र पाकिस्तान त्यस बेलादेखि नै शत्रुको रूपमा व्यवहार गर्दै आइरहेका छन् । त्यसका बाबजुत पनि बेला–बेलामा दुई मुलुकबीच आइसब्रेक भएर सम्बन्ध सकारात्मकतातर्फ पनि अघि बढ्छ । तर दुवैपट्टि कट्टरपन्थी हाबी हुँदा दुई देशको सम्बन्धमा मात्र होइन, दक्षिण एसियाली क्षेत्रमै असर पर्दै आइरहेको छ ।

भारत–पाक द्वन्द्वका कारण सन् १९८५ मा स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अहिले ‘कोमामा’ जस्तै छ । दुई देशबीचको द्वन्द्वका कारण सन् २०१६ को नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन स्थगित भएको थियो । पाकिस्तानसँग सीमा क्षेत्रमा तनाव बढेपछि भारतले शिखर सम्मेलनमा सहभागिता जनाउनको लागि इस्लामाबादमा नजाने निर्णय गर्‍यो । लगत्तै अफगानिस्तान, बंगलोश र भुटानले पनि भारतलाई साथ लिएर पाकिस्तानमा नजाने निर्णय बाहिर ल्याएका थिए । सन् २०१४ मा नेपालमा १८ औं शिखर सम्मेलन भएयता सार्क ‘निष्क्रिय’ जस्तै भएको छ । २०१४ मा काठमाडौंमा १८ औं शिखर सम्मेलन भए यता नेपाल नेपाल सार्कको अध्यक्ष रहदै आएको छ । पाकिस्तानमा दुई वर्षपछि १९ औं शिखर सम्मेलन गरेर आफ्नो अध्यक्षता हस्तान्तरण गर्ने नेपालको योजना थियो । तर भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण त्यो हुन सकेन । त्यसका बाबजुत पनि नेपालले शिखर सम्मेलन गर्नका लागि पटक–पटक सदस्य राष्ट्रहरूलाई पहल गर्दै आइरहेको छ । तर सार्कमा भइरहेको व्यवहारको ठीक उल्टो भारत र पाकिस्तान एससीओमा भने सँगसँगै हिँडिरहेका छन् । यसपटक समरकन्दमा दुवै देशका प्रधानमन्त्री भए । उनीहरूले द्विपक्षीय शिष्टाचार भेटवार्ता त गरेनन्, तर भेलाका महत्त्वपूर्ण कार्यक्रममा सहभागी भए । सार्कमा एकअर्कालाई हेर्न नचाहने भारत र पाकिस्तानका शीर्ष नेतृत्वहरूले सँगै एउटै फ्रेममा फोटो पनि खिचाए ।

भूराजनीतिक जानकार चन्द्रदेव भट्ट सार्कलाई ओझेलमा पारेर एससीओलाई अघि बढाउनुमा भारत र पाकिस्तानसहित चीन पनि भएको बताउँछन् । ‘एनसीओ चाहिँ धेरै रणनीतिक छ । पछिल्लो समयको फोकस भनेको मध्यएसिया हो । उक्त क्षेत्र विभिन्न हिसाबले स्रोतसाधनले भरिपूर्ण भएकाले सबैको ध्यान पुगेको हो,’ उनले भने । अमेरिका र चीनसँगै रुस पनि मध्य एसियामा केन्द्रित भएको भट्टको भनाइ छ । सार्कचाहिँ अगाडि नबढोस् भन्ने चीनको पनि चाहना हुन सक्ने उनको बुझाइ छ ।

अर्का भूराजनीतिक जानकार तथा कूटनीतिज्ञ दिनेश भट्टराई भारत र पाकिस्तान सार्कमा नमिल्ने र एससीओमा सहभागी भएर संयुक्त वक्तव्य निकाल्नु मुख्य कारण यी दुई क्षेत्रीय संगठनका राजनीतिक दायरा भएको मान्छन् । ‘भारत र पाकिस्तान सार्कमा मिलेर क्षेत्रीय संगठनलाई अघि बढाई दायरालाई फराकिलो पार्नुपर्ने हो । तर सार्कमा त्यो भएन,’ उनले भने, ‘तर एससीओमा भाग लिने र सार्कलाई निष्क्रिय पार्ने काम दुवै देशले गरे ।’

प्रकाशित : आश्विन ४, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीयको पहलमा अस्पताल

कान्तिपुर संवाददाता

सोलुखुम्बु — सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा स्थानीयको पहलमा निर्मित ५० बेडको दूधकोसी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवन निर्माण गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अस्पताल भवनको उद्घाटन गरे ।

अस्पताल निर्माणका लागि गाउँपालिकाले महायज्ञ लगाएर ७ करोड रुपैयाँ उठाएको थियो । उक्त रकममा थपेर अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । उनका अनुसार अस्पताल १५ करोडमा, बहुप्राविधिक शिक्षालय ५ करोडमा र गाउँपालिकाको प्रशासनिक भवन पौने ७ करोड लागतमा बनेको हो । ‘जिल्लामै पहिलोपटक सुविधायुक्त अस्पताल जनताबाट चन्दा उठाएर बनाएका हौं,’ राईले भने, ‘जनताको पहलमा करोडौंको अस्पताल बनाउन सफल भएका छौं ।’

उक्त कार्यक्रममा दाहालले स्थानीको त्याग एवं योगदानको प्रशंसा गरे । उनले संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताए । ‘संघीय निजामती ऐन र सुरक्षा ऐनहरू बनाउन बाँकी छ, संविधानको मर्मअनुरूप तल्लो तहलाई अधिकार सम्पन्न बनाउने ठूलो अभिभारा छ,’ उनले भने । उनले घुमाउरो पारामा पुनः एकपटक देशको कार्यकारी प्रमुख हुने संकेत गर्दै भने, ‘जनयुद्ध र शान्ति प्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र समृद्धिको एकपटक नेतृत्व गर्ने उत्कट चाहना छ ।’

गाउँपालिका केन्द्र मुक्लीमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले संविधानको रक्षामार्फत अब आर्थिक क्रान्तिमा होमिने बताए । माओवादीकै कारणले मुलुकमा परिवर्तन सम्भव भएको भन्दै औद्योगीकरणमार्फत समाजवादी दिशामा अगाडि बढ्ने उद्घोष गरे । ‘कृषि र उद्योगिक विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छु,’ उनले भने, ‘अब मुलुकमा रोजगारी सिर्जना हुन्छ, स्थानीय तहहरू सम्पन्न हुनेछन् र विकासले नयाँ गति लिनेछ ।’

प्रकाशित : आश्विन ४, २०७९ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×