कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा प्रकोप न्यूनीकरण सम्मेलन

नारायण खड्का

अस्ट्रेलिया — एसिया प्रशान्त क्षेत्रका ४० देशका मन्त्री सम्मिलित प्रकोप जोखिम न्यूनीकरण सम्मेलन सोमबार अस्ट्रेलियामा सुरु भएको छ । ४ दिनसम्म चल्ने सम्मेलनले यस क्षेत्रमा हुन सक्ने विपद्को न्यूनीकरण, व्यवस्थापन, सहयोग विस्तार, सहकार्य लगायतका विषयमा कार्ययोजना तयार गर्ने जनाइएको छ ।

अस्ट्रेलियामा प्रकोप न्यूनीकरण सम्मेलन

अस्ट्रेलियाली सरकार तथा संयुक्त रास्ट्रसंघको प्रकोप जोखिम न्यूनीकरण कार्यालयको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा ४० देशका मन्त्रीका साथै उच्च अधिकारी, विज्ञ, निजी क्षेत्रलगायतका करिब ३ हजारले सहभागिता जनाएका छन् । भूकम्प, बाढीपहिरो, खडेरी, आँधीलगायत प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका तथा यस्ता समस्यालाई झेलिरहेका देशहरूलाई सहयोग पुर्‍याउने तथा जोखिम न्यूनीकरणका लागि सामूहिक रूपमा गर्न सक्ने उपायका बारेमा योजना निर्माण गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।

विकास मूलका गतिविधिका क्रममा जोखिम कम गर्नका लागि ध्यान दिनुपर्ने भएकाले त्यसलाई जोड दिनुपर्ने आयोजकको भनाइ छ । प्रकोपले राज्य तथा जनतालाई मात्र नभएर सरकारका हरेक अंग, तह र क्षेत्रलाई असर गर्ने भएकाले यसको न्यूनीकरणका लागि सामूहिक योजनामा सम्मेलनले महत्त्वपूर्ण घोषणापत्र सार्वजनिक गर्नेछ । क्विन्सल्यान्डको राजधानी ब्रिसबेनमा सुरु सम्मेलनमा नेपालका तर्फबाट गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको टोली सहभागी छ । त्यसका साथै अन्य विभिन्न संस्थाका करिब ३ दर्जनको उपस्थिति छ । क्यानबेरास्थित नेपाली दूतावासका अधिकारीले सचिवको नेतृत्वमा सहभागिता हुने बताइए पनि कार्यक्रमबारे थप केही जानकारी नभएको बताए । ‘हामीलाई सचिवजीको नेतृत्वमा सहभागिता हुने भन्ने जानकारी आएको हो, त्यसबाहेक अन्य जानकारी छैन्,’ अस्ट्रेलियास्थित राजदूत कैलाशराज पोखरेलले कान्तिपुरसँग भने ।

सम्मेलनमा नेपाली टोलीमा अस्ट्रेलियाबाट डा. भरतराज पौडेल र ज्योति केसीले सहभागिता जनाउने भएका छन् । नेपालबाट मन्त्री नै सहभागिता हुनुपर्ने भए पनि निर्वाचन नजिक आइरहेकाले मन्त्रीको सहभागिता नजनाउने निर्णय लिएको बताइएको छ । नेपाली टोलीबाट सहभागिता जनाइरहेका पौडेलले नेपाल भूकम्प, बाढी तथा खडेरीको उच्च जोखिममा रहेको देश भएको र सम्मेलनमा अन्य विभिन्न देशका मन्त्री तथा उच्च अधिकारीसँग प्रत्यक्ष भेट हुने भएकाले सहभागिता महत्त्वपूर्ण र प्रभावकारी हुने दाबी गरे । उनले नेपालले एसिया प्रशान्त क्षेत्रमा मन्त्रीस्तरीय उपस्थिति जनाउने अवसर गुमाएको सुनाए । सोमबार सहभागी मन्त्रीहरूबीच एसिया प्रशान्त क्षेत्रमा प्रकोप न्यूनीकरणका लागि अझ प्रभावकारी सहकार्य तथा समन्वय गर्ने विषयमा छलफल भएको जनाइएको छ । प्रकोप न्यूनीकरण, सहकार्य, फोहोर व्यवस्थापन, सामुदायिक शिक्षा, बहुक्षेत्रीय तथा क्षेत्रीय साझेदारीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।

प्रकाशित : आश्विन ४, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?