कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी हुँदैछ बेलायती महारानीको अन्त्येष्टि तयारी

नवीन पोखरेल

लन्डन — बेलायती महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न तयारीहरू भइरहेका छन् ।आगामी सोमबार (सेप्टेम्बर १९) मध्य लन्डनस्थित वेस्टमिन्स्टर आबी गिर्जाघरमा समाधिस्थ गरिनुअघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीर चार दिन अन्तिम श्रद्धाञ्जलीका लागि वेस्टमिन्स्टर हलमा राखिनेछ ।

यसरी हुँदैछ बेलायती महारानीको अन्त्येष्टि तयारी

उक्त समयमा सर्वसाधारण मानिसहरूले पंक्तिबद्ध भएर श्रद्धाञ्जली अर्पण गर्न पाउने छन् । यसअघि एडिन्बरास्थित सेन्ट जाइल्स् कथीड्रलमा महारानीको शव २४ घण्टा राखेपछि मंगलबार बेलुका लन्डनस्थित बकिंघम राजदरबारमा ल्याइएको थियो ।

स्वर्गीय महारानीप्रति श्रद्धा व्यक्त गर्न हजारौं मानिस लन्डन आउने क्रम जारी छ । लाखौं मानिसले रानीको कफिन अवलोकन गर्ने भएकाले अतिरिक्त रेल सेवा पनि सञ्चालन गरिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ । वेस्ट मिनिस्टर सिटी काउन्सिलले सडक, पोल र भित्ताको सरसफाइ सुरु गरेको छ ।

संसारभरिबाट राष्ट्रमण्डल मुलुकका राष्ट्राध्यक्षहरू, सरकार प्रमुख तथा उच्च अधिकारीहरू स्वर्गीय महारानीप्रति सम्मान व्यक्त गर्न लन्डन आइपुग्ने अपेक्षा गरिएको छ । बीबीसीका अनुसार अमेरिकी रास्ट्रपति जो बाइडेन, अस्ट्रेलिया, क्यानडा तथा न्युजिल्यान्डका प्रधानमन्त्रीहरू अन्त्येष्टि समारोहमा सहभागी हुने निश्चित भएको छ ।

त्यस्तै बेल्जियम तथा स्पेनका राजा एवं रानीले पनि अन्त्येष्टि समारोहमा सहभागी हुने जनाएका बताइएको छ । वेस्ट मिनिस्टर आबीमा करिब दुई हजार दुई सय जना अट्छन् । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको गत बिहीबार ९६ वर्षमा निधन भएपछि चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको नयाँ राजा घोषित भइसकेका छन् ।

चाल्र्सलाई शनिबार लन्डनको सेन्ट जेम्स दरबारमा एक्सेसन काउन्सिल सदस्यहरूमाझ आधिकारिक रूपमा राजा घोषणा गरिएको हो । एलिजाबेथ द्वितीया बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहेकी राष्ट्राध्यक्ष हुन् । महारानी बेलायतबाहेक १४ वटा मुलुकको राष्ट्रप्रमुख रहेकी थिइन् ।

अन्त्येष्टिमा सहभागी हुन नेपालबाट दुई जनालाई आमन्त्रण गरिएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासकी उपनियोग प्रमुख रोशन खनालले नेपालबाट परराष्ट्रमन्त्री नारायण खड्काले सोमबारको अन्त्येष्टि समारोहमा भाग लिने जनाएकी छन् ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गत मंगलबार बेलायती महारानीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग प्रमुख एवम् अन्तर्राष्ट्रिय संघसंस्थाका लागि लन्डनको लांकास्टर हाउसमा राखिएको शोक पुस्तिकामा नेपाली राजदूत आचार्यले हस्ताक्षर गरे ।

त्यस अवसरमा राजदूत आचार्यले महारानीको निधनमा गहिरो दु:ख व्यक्त गर्दै उनको नि:स्वार्थ सेवा र समर्पणको उच्च मूल्यांकन गरेको दूतावासले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?