कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सी-पुटिन वार्ताको प्राथमिकतामा युक्रेन युद्ध

चिनियाँ राष्ट्रपति सी ऐतिहासिक रूपमा तेस्रो कार्यकाल सत्तामा रहिरहन चाहन्छन् भने युक्रेनमाथिको सैन्य आक्रमणपछि रुसी राष्ट्रपति पुटिनको पश्चिमा देशसँगको सम्बन्ध निकै खस्किएको छ
एजेन्सीहरू

मस्को/बेइजिङ — युक्रेनसँगको युद्ध चर्किरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग भेटवार्ता गर्ने भएका छन् । दुई नेताबीच हुने भेटमा युक्रेन युद्धका साथै विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा छलफल हुने बीबीसीले जनाएको छ ।

सी-पुटिन वार्ताको प्राथमिकतामा युक्रेन युद्ध

उज्वेकिस्तानमा बिहीबार र शुक्रबार हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनको अवसरमा दुई नेताबीच भेट वार्ता तय भएको हो । सन् २०२० को सुरुवातमा कोरोना भाइरसको महामारी सुरु भएयता चिनियाँ राष्ट्रपति सी पहिलो विदेश भ्रमणमा निस्कन लागेका हुन् ।

चिनियाँ राष्ट्रपति सी ऐतिहासिक रूपमा तेस्रो कार्यकाल सत्तामा रहिरहन चाहन्छन् भने युक्रेनमाथिको सैन्य आक्रमणपछि रुसी राष्ट्रपति पुटिनको पश्चिमा देशसँगको सम्बन्ध निकै खस्किएको छ ।

आगामी अक्टोबरमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट उनी अभूतपूर्व तेस्रो कार्यकालका लागि निर्वाचित हुने विश्लेषकहरू बताउँछन् । चिनियाँ राष्ट्रपति सीले बुधबारदेखि आफ्नो तीनदिने भ्रमण सुरु गरिसकेका छन् । बुधबार कजाकस्तान पुगेका सी बिहीबार उज्वेकिस्तान पुगेर एससीओ शिखर सम्मेलनमा सहभागी हुनेछन् । उज्वेकिस्तानको समरकन्दमा उनले रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मस्को र बेइजिङ दुवैले दुई नेताबीचको वार्ताका विषयमा थप जानकारी भने सार्वजनिक गरेका छैनन् ।

एससीओ शिखर सम्मेलनमा उज्वेकिस्तानसँगै भारत, पाकिस्तान, इरान, कजाकस्तान, किर्गिस्तान र ताजिकिस्तानका नेताहरू सहभागी हुनेछन् । सीबाहेक पुटिनले भारत, पाकिस्तान, टर्की र इरानका नेताहरूसँग पनि वार्ता गर्ने तय भएको छ । ‘तर चिनियाँ राष्ट्रपतिसँगको भेट ठोस रुपमा महत्त्वपूर्ण हुनेछ,’ क्रेमलिनका विदेश नीति प्रवक्ता युरी उसाकोभले भने । बृहत् तहको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा सम्मलेन हुन लागेको उनको भनाइ छ ।

कोरोनाविरुद्ध शून्य सहनशीलता नीति लागू गरेको चीनका अधिकांश सहर हाल लकडाउनको अवस्थामा छन् । भाइरससँगसँगै बाँच्नुपर्ने भन्दै विश्वका विभिन्न देशमा सबै सेवाहरू खुला गरिएको भए पनि बेइजिङले पछिल्लो समय संक्रमण फैलिएका सहर पूर्ण रूपमा बन्द गर्दै आइरहेको छ । यसअघि राष्ट्रपति सीले सन् २०२० को जनवरीमा म्यान्मारको भ्रमण गरेका थिए । त्यसयता उनी हङकङबाहेक अन्यत्र गएका थिएनन् ।

गत जुलाईमा इरानको राजधानी तेहरानमा पुटिनले टर्की र इरानी नेताहरूसँग भेट गरेका थिए । पुटिन र सीबीच यसअघि गत फेबु्रअरीमा बेइजिङमा भएको शीतकालीन ओलिम्पिक्सका अवसरमा भेट भएको थियो ।

रुस–युक्रेन युद्ध जारी रहेका बेला दुई नेताबीच हुने भेटवार्तालाई विश्लेषकहरूले ‘पश्चिमा देशहरूविरुद्धको शक्ति प्रदर्शन’ का रूपमा हेरेका छन् । दुई नेताबीच फेब्रुअरीमा भएको भेटपछि जारी संयुक्त विज्ञप्तिमा दुई देशबीच सम्बन्धको सीमा नरहेको उल्लेख गरिएको थियो । त्यसको केही दिनमा रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको हो ।

रुसी कदमको हालसम्म आलोचना नगरेको चीन रुसविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धमा पनि सामेल भएको छैन । पछिल्लो समय दुई देशबीचको व्यापार बढ्दै गएको बीबीसीले उल्लेख गरेको छ । युक्रेनमाथि आक्रमण गरेपछि भारत र चीनमा रुसी तेलको आयात बढेको छ ।

रुससँग मात्र नभई पछिल्लो समय अमेरिकालगायतका पश्चिमा देशको चीनसँग पनि सम्बन्ध चिसिएको छ । खासगरी अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणका कारण पनि अमेरिका–चीन सम्बन्ध तनावपूर्ण छ । चीनले ताइवानलाई आफ्नो भूभाग भएको दाबी गर्दै उचित समयमा मूल भूमिमा गाभ्ने जनाउँदै आएको छ ।

दुई वर्षभन्दा बढी समयमा, लकडाउन र धरमराएको अर्थतन्त्रजस्ता विभिन्न राष्ट्रिय चुनौतीहरूका बाबजुद चीन छोड्ने निर्णयलाई चिनियाँ जानकारहरूले राष्ट्रपति सीको आफ्नो नेतृत्वप्रतिको आत्मविश्वासका रूपमा व्याख्या गर्छन् ।

सन् २००१ मा स्थापित एससीओ एक युरेसियाली राजनीतिक, आर्थिक र सुरक्षा संगठन हो । चीन, रुस, कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानले स्थापना गरेको एससीओमा इरान पनि आबद्ध हुने प्रयासमा छ । सम्मेलनका क्रममा सदस्य राष्ट्रहरूले व्यापारका विविध आयामबारे छलफल गर्ने गर्छन् ।

चीनले युरोपमा आफ्नो व्यापार विस्तार गर्न नयाँ रेलमार्गहरूको सञ्चालन गर्न चाहिरहेको छ । तर अन्य माध्यमार्फत पनि चीनसँग जोडिन मध्य एसियाली देशहरू निकै उत्सुक रहेका कतिपयको भनाइ छ । यसअघि किर्गिस्तानले चीन र उज्वेकिस्तान जोड्ने नयाँ मार्ग सन् २०२३ मा निर्माण सुरु गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित : भाद्र ३०, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?