कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

६ हजार वर्गकिलोमिटर भूभाग फिर्ता लिएको युक्रेनको दाबी

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो
एजेन्सी

किभ — रुसी फौजविरुद्धको प्रत्याक्रमणका क्रममा युक्रेनी सेनाले रुसले नियन्त्रणमा लिएका थप क्षेत्र आफ्नो कब्जामा लिएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । जेलेन्स्कीका अनुसार सेप्टेम्बरयता युक्रेनी सेनाले पूर्व र दक्षिणमा रुसले नियन्त्रणमा लिएको ६ हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्र फिर्ता लिएको हो । तर जेलेन्स्कीको दाबी पुष्टि हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।

६ हजार वर्गकिलोमिटर भूभाग फिर्ता लिएको युक्रेनको दाबी

उत्तर–पूर्वी खर्किभ क्षेत्रका प्रमुख सहरहरू गुमाएको स्वीकार गरेको रुसी अधिकारीको भनाइ छ । त्यसलाई युक्रेनको ठूलो प्रगति ठानिएको छ । रुसले भने लुहान्स्क र दोनेत्स्क क्षेत्रमा ध्यान केन्द्रित गर्न आफ्नो सेनालाई संगठित पारेको दाबी गरेको छ ।

अमेरिकास्थित थिंक ट्यांक ‘द इन्स्टिच्युट फर द स्टडी अफ वार’ (आईएसडब्लू) का मेसन क्लार्कले पछिल्लो घटनाक्रमले रुसी सेनाको पराजय पुष्टि भएको दाबी गरेका छन् । युक्रेनले पुनः नियन्त्रणमा लिएका क्षेत्रमा रुसी फौजले थुप्रै उपकरण छाडेको जनाइएको छ ।

‘सेप्टेम्बर सुरुयता हाम्रा योद्धाहरूले पूर्व र दक्षिणका ६ हजार वर्गकिलोमिटरभन्दा बढी युक्रेनी क्षेत्रफललाई स्वतन्त्र पारिसकेका छन्,’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले बिहीबार एक हजार, शनिबार दुई हजार र आइतबार तथा सोमबार तीन हजार गरी ६ हजार वर्गकिलोमिटर भूभाग पुनः नियन्त्रणमा लिएको दाबी गरेका हुन् । रुसी फौजविरुद्धका जवाफी आक्रमणमा संलग्न युक्रेनी सेनाका ब्रिगेडलाई धन्यवाद दिँदै जेलेन्स्कीले सैनिकहरूलाई वास्तविक नायकको संज्ञा दिएका बीबीसीले उल्लेख गरेको छ ।

यद्यपि, उनले रुसी सेनाको नियन्त्रणबाट फिर्ता लिएका युक्रेनी सहर तथा गाउँ कुन–कुन हुन् भन्नेबारे केही उल्लेख गरेनन् । रुसले यसअघि खर्किभ क्षेत्रका इज्युम र कुपिआन्स्क सहर युक्रेनी सेनाले नियन्त्रणमा लिएको स्वीकार गरेको थियो । ती सहरहरू पूर्वी क्षेत्रमा रुसी फौजका लागि सामान आपूर्ति गर्न निकै महत्त्वपूर्ण मानिन्छन् ।

बेलायती रक्षा अधिकारीहरूले युक्रेनी सेनाको पछिल्लो सफलताले रुसी सैन्य परिचालनसम्बन्धी योजनामा प्रभाव पार्ने बताएका छन् । तर रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले आफ्नो लक्ष्य प्राप्त नगरेसम्म युक्रेनविरुद्धको कारबाही नरोकिने चेतावनी दिएका छन् ।

क्राइमियासँगको सीमामा रहेको दक्षिणी खेर्सन क्षेत्रमा पनि युक्रेनी सेनाले महत्त्वपूर्ण प्रगति हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसले सन् २०१४ मा युक्रेनी प्रायद्वीप क्राइमियालाई आफ्नो कब्जामा लिएको थियो ।

ती क्षेत्रका रुसी गुप्तचर अधिकारी तथा सैन्य कमाण्डरहरू आफ्ना परिवारका सदस्यलाई रुसी भूभागमा सार्न थालेका युक्रेनी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै द गार्जियनले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनी फौजले महत्त्वपूर्ण प्रगति गरेको बताएका छन् । तर पनि युद्धको नतिजाका विषयमा प्रतिक्रिया जनाउने समय भने आइनसकेको उनको भनाइ छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध आक्रमणको आदेश दिएका थिए । त्यसयता रुसी सेनाले युक्रेनको ६ लाख ३ हजार ६ सय २८ वर्गकिलोमिटरमध्ये करिब २० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरिसकेको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी फौजले पूर्वी युक्रेनमा विद्युत् अवरुद्ध गरी मानिसहरूलाई उज्यालो र न्यानोबाट वञ्चित गरेको आरोप लगाएका थिए । जसका कारण खर्किभ र दोनेत्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका उनको भनाइ छ ।

खर्किभका मेयर इहोर तेरेखोभले सहरका अधिकांश क्षेत्रमा बिजुली र पानी आपूर्ति बन्द भएको बताएका बीबीसीले उल्लेख गरेको छ । आपत्कालीन सेवाका कर्मचारीले विद्युत् आपूर्ति सहज पार्ने प्रयास गरिरहेका उनको भनाइ छ । त्यस्तै, सुमी क्षेत्रका गभर्नरले पनि करिब डेढ सय घरमा विद्युत् अवरुद्ध भएको जनाएका छन् ।

यसैबीच, युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । युक्रेनी पुनर्मिलन मन्त्रालयका अनुसार दोनेत्स्क क्षेत्रबाट एक महिनामा करिब ३० हजार जनालाई किभ नियन्त्रित स्थानमा सारिएको युक्रेनी पुनर्निर्माण मन्त्रालयले जनाएको छ । दोनेत्स्क क्षेत्र रुस नियन्त्रित दक्षिण युक्रेनको खेर्सन र जापोरिज्जा क्षेत्रबाट ५० हजार जनालाई युक्रेन नियन्त्रित स्थानमा सारिएको छ । युक्रेनले गत अगस्टदेखि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण थालेको हो । उपप्रधानमन्त्री इरिना भेरेस्चुकले द्वन्द्वग्रस्त अन्य क्षेत्रबाट पनि नागरिकलाई सुरक्षित स्थानमा सार्न सकिने जनाएकी छन् ।

प्रकाशित : भाद्र २९, २०७९ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×