कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदीमा पानी सुकेपछि युरोपमा ढुवानी समस्या

पेरिस — लामो समयदेखिको चर्को खडेरीका कारण युरोपका अधिकांश देशका नदीमा पानीको स्तर घट्दै गएपछि ढुवानीमा समस्या भएको छ । जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो, बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्यान्ड्सको मुसलगायतका मुख्य नदीमा पानीको स्तर नाटकीय रूपमा घट्न थालेपछि ढुवानीमा गम्भीर असर परेको हो । 

नदीमा पानी सुकेपछि युरोपमा ढुवानी समस्या

युरोपकै सबैभन्दा लामो दानुबे नदी युरोपेली मुलुकका १० देश भएर बग्छ । यसमा पानीको स्तर घट्दै गएपछि जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हंगेरी, क्रोएसिया, सर्बिया, रोमानिया, बुल्गेरिया, माल्दोभाको जल यातायातमा समस्या परेको युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले जनाएको छ ।

जर्मनीको राइन नदीमा पानीको स्तर घट्दै गएको र आगामी दिनमा गम्भीर रूपमा न्यून बिन्दुमा पुग्न सक्ने आकलन जर्मन अधिकारीहरूको छ । राइन नदीबाट हुने ढुवानी सवारीसाधनबाट हुनेभन्दा बढी रहेकाले नदीको पानी घट्दा त्यसले कोइला र पेट्रोललगायत ढुवानी गर्न झन् कठिन बनाउँदै लगेको छ ।

रुसी ग्यासमा करिब ४० प्रतिशत निर्भर रहेको जर्मनी रुसले नर्ड स्ट्रिम–१ पाइप लाइनबाट ग्यास आपूर्ति घटाइदिएपछि अप्ठ्यारोमा छ । अब नदीमा पानीको स्तर घटेर कोइला ढुवानीमा समेत असर परेपछि जर्मनीमा मात्रै नभई युरोपभरि नै ऊर्जा संकट बढ्ने देखिएको छ । जर्मनीको यातायात मन्त्रालयका प्रवक्ता टिम अलेक्जान्ड्रिनले राइन नदी समुद्रमा जोडिने स्थान काउबमा घाँटी साँघुरो र पानीको सतह कम भएपछि साना जहाजहरू मात्रै पार गर्न सम्भव छ ।

राइन नदीमा पानीको स्तर घट्दा नेदरल्यान्ड्सको जल यातायात र कृषिमा निकै ठूलो प्रभाव परेको जनाइएको छ । पछिल्लो समय फ्रान्स र इटालीले पनि उच्च खडेरीको सामना गरिरहेका छन् । इटालीको सबैभन्दा ठूलो पो नदीमा पानीको सतह ९ मिटरले घटेको छ । त्यस्तै, फ्रान्सको ल्वार नदी पैदलै हिँडेर तर्न सकिने भएपछि ढुवानी र सिँचाइमा गम्भीर असर परेको छ ।

जर्मनीमा ऊर्जाको संकट परेको र यातायात महँगो परिरहेका बेला नदीबाट हुने यातायातलाई असर परेपछि ऊर्जा संकट र मूल्यवृद्धि हुने क्यापिटल इकोनोमिक्सका युरोपेली प्रमुख अर्थशास्त्री एर्न्ड्यु कनिंघमको भनाइ छ ।

नदीमा पानीको तह घटेपछि सर्बिया, इटाली, स्पेन, पोर्चुगलमा समेत असर पुगेको छ । सर्बियाका अधिकारीहरूले जलमार्गलाई गहिरो बनाउन र जहाजलाई सहज रूपमा चलाउन डेन्युब नदीको बालुवा निकाल्न थालेको बताएका छन् । युरोपेली आयोग संयुक्त अनुसन्धान केन्द्र (ईसी–जेआरसी) ले हालको खडेरी ५ सय वर्षमा सबैभन्दा खराब हुन सक्ने चेतावनी दिएको छ ।

प्रकाशित : भाद्र १, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?