कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्सको डढेलो निभाउन युरोपेली देशहरूको सहयोग

कान्तिपुर संवाददाता

पेरिस — एक सातादेखि फ्रान्समा लागेको डढेलो नियन्त्रणमा लिन नसकेपछि शुक्रबारदेखि अन्य युरोपेली मुलुकका पाँच अग्नि नियत्रक र अग्नि नियन्त्रक विमानले संयुक्त पहल थालेका छन् ।

फ्रान्सको डढेलो निभाउन युरोपेली देशहरूको सहयोग

फ्रान्सको जिरोन्डे क्षेत्रमा लागेको डढेलोले खासगरी चार दिनदेखि झन् विशाल रुप लिँदै गएपछि फ्रान्स एक्लैले नियन्त्रणमा लिन नसक्ने देखिएको हो ।

फ्रान्सेली अधिकारीहरूले बिहीबार साँझ देशको दक्षिणपश्चिम क्षेत्र ज्यादै सुख्खा बनेकोले ज्वालामुखी झैं आगो फैलिएको र त्यो बढ्दै गएर फ्रान्सका अन्य धेरै भागमा फैलिन सक्ने चेतावनी दिएका थिए ।

फ्रान्सेली विशेषज्ञहरूले बिहीबार साँझ दिएको चेतावनीपछि राष्ट्रपति इमानुएल म्याक्रोनले थप पाँच युरोपेली सहयोगीहरूले देशभरका आठ ठूला डढेलोसँग शुक्रबार बिहानैदेखि लडिरहेको आफ्नो ट्विटरमा उल्लेख गरेका हुन् ।

उनले आफ्नो ट्विटरमा जर्मनी, ग्रिस र पोल्याण्डले फ्रान्सको डढेलो नियन्त्रणमा सहयोग थालेको र केही समयभित्रै रोमानिया र अस्ट्रियाका अग्निनियन्त्रहरू समेत थपिने उल्लेख गरेका छन् ।

फ्रान्सको दक्षिणमा रहेको जिरोन्डे क्षेत्रमा लागेको डढेलोले १७ घर जलाएको छ भने करिब ११ हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । फ्रान्सका करिब एक हजार एक सय अग्नि नियन्त्रक र पाँच वटा अग्नि नियन्त्रक हवाई जहाजलेसमेत डढेलो नियन्त्रणमा लिनुको साटो झनै फैलिएपछि अन्य युरोपेली देशको सहयोग लिइएको हो ।

यस क्षेत्रको तापक्रम बिहीबार ४० सेल्सियस पुगेको र हावा फरक फरक दिशाबाट तीव्र रुपमा बहेपछि आगो निभाउन समस्या भएको अग्नि नियन्त्रकहरूको भनाइ उल्लेख गर्दै फ्रान्सेली टिभीहरूले सार्वजनिक गरेका छन् ।

बिहीबार मध्यान्हसम्म जिरोन्डे क्षेत्रमा मात्रै ६,८०० हेक्टर वन जलेको बी एफएम टिभीले उल्लेख गरेको छ । 'हामीले आगो फैलिनबाट रोक्न रातभर लड्यौं । विशेषगरी बेलिन-बेलियट गाउँको रक्षा गर्नका लागि । तर आगो नियन्त्रणमा ल्याउन सकिएन,' जिरोन्डे फायर एण्ड रेस्क्यू सेवाका लेफ्टिनेन्ट कर्णेल आर्नो मेन्डुसेले पत्रकारहरूलाई भने ।

डढेलोबाट निस्किएको धुवाँले स्पेनतर्फ जाने बोर्दो र बायोन सहरको मुख्य राजमार्ग ए ६३ बन्द गर्न बाध्य बनाएको छ । हाल फ्रान्सका धेरै भागहरूमा आठ वटा ठूला डढेलो फैलिएका छन् । गृहमन्त्री गेराल्ड डार्मानिनले स्वीडेन र इटालीले मद्दतको लागि आगो निभाउने विमानहरू पठाउन लागेको बताएका छन् ।

गत जुलाइमा पनि यही क्षेत्रमा एक साताभन्दा बढी समयसम्म डढेलो लागेको थियो । हाल लागेको डढेलोको पछाडि मानवीय हात हुनसक्ने आशंका गर्दै त्यसलाई मानव अपराधका रुपमा परिभाषित गरिने प्रहरी अधिकारीहरूले बताएका छन् । प्रहरीले आगो झोस्नेको खोजी गरिरहेको र पत्ता लगाएमा १५ वर्ष जेल सजाय र १६ हजार युरोसम्म जरिवाना गर्ने बताएको छ ।

प्रकाशित : श्रावण २७, २०७९ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?