कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

फेरि राष्ट्रपति बन्न पाउलान् ट्रम्प ?

कागजपत्र लुकाएको आरोप पुष्टि भए ट्रम्प सन् २०२४ को राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न नपाउने कानुनविद्हरुको भनाइ
एजेन्सीहरू

वासिङ्टन — चुनावमा साँठगाँठ गरेको, संसद् भवनमा भएको दंगामा संलग्न रहेको तथा परिवारका सदस्यसँग जोडिएको व्यवसायलगायतका विषयमा अनुसन्धान जारी रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अर्को आरोप थपिएको छ ।

फेरि राष्ट्रपति बन्न पाउलान् ट्रम्प ?

अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकाल सकिएपछि सबै चिठीपत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेल राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ । ट्रम्पले आफू राष्ट्रपति भएका बेला महत्त्वपूर्ण सरकारी कागजात घरमा लुकाएको आरोपमा संघीय जाँच ब्युरो (एफबीआई) ले ट्रम्पको फ्लोरिडास्थित घरमा सोमबार छापा मारेको छ ।

अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो । ट्रम्पले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै आएका छन् ।

एफबीआईले छापा मारेपछि ट्रम्पले एक वक्तव्य जारी गर्दै फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा रहेको घर ‘एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ आरोप लगाएका थिए । एफबीआईले छापा मारेको समयमा ट्रम्प भने न्युयोर्कस्थित ट्रम्प टावरमा थिए ।

सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा आफूलाई उम्मेदवार बन्न नदिन ‘न्याय प्रणालीलाई हतियारका रूपमा प्रयोग गरिएको’ ट्रम्पको आरोप छ । तर पछिल्लो छानबिनपछि भने ट्रम्पको राजनीतिक भविष्यबारे पनि प्रश्न उठेको छ । पहिलेका तुलनामा पछिल्लो आरोप गम्भीर प्रकृतिको रहेको कानुनविद्हरूको भनाइ छ । आफ्नो कार्यकालमा कागजात लुकाएको छानबिनमा ट्रम्प दोषी ठहरिए भने पुनः राष्ट्रपतीय उम्मेदवार बन्न नपाउने दाबी कतिपयको छ । मार–ए–लागो रिसोर्टस्थित निवासमा छापा मारिएको र कागजात लुकाएको विषयको अनुसन्धान ट्रम्पमाथि मुद्दा लाग्न सक्ने दिशामा अघि बढेको अमेरिकी न्याय मन्त्रालयका पूर्वसरकारी वकिल जोसेफ मोरिनोको भनाइ छ । ‘राष्ट्रपतीय अभिलेख वा वर्गीकृत कागजपत्रसम्बन्धी कानुन उल्लंघन भएको एफबीआई वा संघीय वकिलले ठानेका छन् । त्यस कारण उनीहरूले अनुसन्धान अघि बढाएका हुन्,’ बीबीसीसँग मोरेनोले भने ।

अमेरिकी अपराध कानुनअनुसार कसैले जानीजानी कुनै पनि सरकारी अभिलेख, कामकारबाही, पुस्तक, नक्सा, कागजात वा अन्य वस्तु गैरकानुनी रूपमा नष्ट गरे, हटाए वा क्षति पुर्‍याए ३ वर्षसम्म कारावास सजाय हुन्छ । उक्त कानुनअनुसार दोषी ठहर भएको व्यक्ति कुनै पनि संघीय कार्यालयमा काम गर्न अयोग्य हुने उल्लेख छ । जसका आधारमा ट्रम्पमाथि लगाइएको आरोप पुष्टि भए उनको ह्वाइट हाउस फर्कने सकिन्छ । तर सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा ट्रम्प उम्मेदवार हुने टुंगो भने लागिसकेको छैन ।

‘यदि डोनाल्ड ट्रम्पले अमेरिकी अपराध कानुन उल्लंघन गरेका रहेछन् भने संघीय कार्यालयमा फेरि कहिल्यै काम गर्न नपाउने गरी सजाय हुन सक्छ,’ राष्ट्रपतीय इतिहासविद् माइकल बेसलसले भनेका छन् । तर यस्तो व्यवस्थाले कसैलाई पनि राष्ट्रपतीय चुनावमा उम्मेदवार हुन नरोक्ने केही कानुनविद्हरूको दाबी छ । नागरिकता, उमेर र आवासका आधारमा मात्रै कसैलाई राष्ट्रपतिको उम्मेदवार बन्न रोक्न सकिने उनीहरूको भनाइ छ । कुनै पनि कानुन संविधानभन्दा माथि नहुने संवैधानिक कानुनका प्राध्यापक बरिन काल्ट बताउँछन् । फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई राष्ट्रपतीय चुनावमा उम्मेदवार हुन नदिने प्रावधान नरहेको संवैधानिक तथा कानुनी विज्ञहरूको भनाइ छ ।

पूर्वराष्ट्रपति जर्ज डब्लू बुस मादक पदार्थ सेवन गरेर सवारी चलाएको अभियोगमा दोषी साबित भएका थिए । तर उनी दुई कार्यकाल अमेरिकाको राष्ट्रपति बने । अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बन्न संविधानमा नै न्यूनतम मापदण्ड तोकिएको छ । ३५ वर्ष उमेर पुगेको र अमेरिकामा जन्मेर कम्तीमा १४ वर्षदेखि त्यहाँ बसोबास गरिरहेको व्यक्ति उम्मेदवार हुन पाउँछ । यसको आधारमा संविधान र कानुन बाझिएको देखिन्छ । किनकि संविधानको प्रावधानविपरीत संघीय कानुनले फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतीय चुनामा उम्मेदवार हुन रोक लगाएको छ ।

‘संसद्ले नै महाभियोग अधिकार प्रयोग गरेर अयोग्य ठहर्‍याएको अवस्थामा बाहेक ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्न पाउने मोरेनोको भनाइ छ । कतिपय विज्ञहरूले भने ट्रम्पमाथि मुद्दा दायर भएको अवस्थामा सरकारी वकिलहरूले उनीमाथि उठ्न सक्ने योग्यताको प्रश्नमा पनि अदालतबाट स्पष्ट गर्न माग गर्न सक्छन् । तर पूर्वराष्ट्रपतिलाई अदालतबाट पनि उम्मेदवार हुनबाट रोक लाग्ने सम्भावना निकै कम रहेको काल्ट बताउँछन् ।

यसैबीच, पूर्वराष्ट्रपति ट्रम्पले न्युयोर्कमा जारी एक अनुसन्धानका क्रममा सोधिएका प्रश्नको जवाफ दिन अस्वीकार गरेका छन् । अन्तर्वार्ता रोक्न प्रयास गरेको भन्दै उनीविरुद्ध मुद्दा लगाइएको छ । ऋण र करका विषयमा ट्रम्प अर्गनाइजेसनले आफ्नो सम्पत्तिको झूटो मूल्यांकन गरेको अधिकारीहरूको भनाइ छ । ट्रम्पले भने आरोपको खण्डन गर्दै नागरिक अनुसन्धान गर्न चुनौती दिएका छन् ।

प्रकाशित : श्रावण २७, २०७९ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?