कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी सभामुख पेलोसीलाई ताइवानको उच्च नागरिक सम्मान

पेलोसीको भ्रमण चिनियाँ सार्वभौमसत्तामाथि आक्रमण : विदेशमन्त्री वाङ
कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सभामुख नान्सी पेलोसीलाई ताइवानले उच्च नागरिक सम्मान 'अर्डर अफ पर्पसियस क्लाउड्स विथ स्पेसियल ग्रान्ड कोर्डन' प्रदान गरेको छ । बुधबार राजधानी ताइपेईमा भएको कार्यक्रममा ताइवानी राष्ट्रपति साई इङ वेनले पेलोसीलाई उक्त सम्मान प्रदान गरेकी हुन् । उक्त अवार्ड प्रदान गर्नुअघि दुवै जना एकअर्काप्रति झुकेर सम्मान व्यक्त गरेका थिए । 

अमेरिकी सभामुख पेलोसीलाई ताइवानको उच्च नागरिक सम्मान

ताइपेईस्थित राष्ट्रपति भवनमा भएको कार्यक्रमलाई दुवै जनाले सम्बोधन गरेका थिए । चिनियाँ चेतावनीबीच ताइवान पुगेकी सभामुख पेलोसीले ताइवानप्रति अमेरिकाको ऐक्यबद्धता रहेको बताइन् । उनले भनिन्, 'ताइवानप्रतिको हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिन हाम्रो प्रतिनिधिमण्डल भ्रमणमा आएको हो । हामी हाम्रो प्रगाढ मित्रताप्रति गर्व गर्छौं।'

एसिया भ्रमणका क्रममा पेलोसी मंगलबार साँझ ताइवानको राजधानी ताइपेई सिटीस्थित सोङसान विमानस्थलमा उत्रिएकी हुन् । अमेरिकी उच्च अधिकारीको भ्रमण र चीनको प्रतिक्रियाले दुई शक्ति राष्ट्रबीच तनाव चर्काएको छ ।

२५ वर्षयता ताइवान भ्रमण गर्ने पेलोसी पहिलो अमेरिकी उच्च अधिकारी हुन् । सन् १९९७ मा तत्कालीन अमेरिकी सभामुख न्युट गिंगरिचले ताइवान भ्रमण गरेका थिए । पेलोसीको कार्यालयले भने यसअघि ताइवान भ्रमणबारे औपचारिक जानकारी दिएको थिएन ।

यसैबीच पेलोसीको भ्रमणले 'एक चीन' नीति उल्लंघन गरेको चीनले आरोप लगाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको सार्वभौमसत्तामाथि अमेरिकाले आक्रमण गरेको भन्दै आलोचना गरेका छन् । विदेशमन्त्री वाङले अमेरिकालाई चारवटा कुरा बन्द गर्न आग्रह गरेका छन् । चीनको एकीकरण प्रक्रिया(ताइवानसँग), चीनको विकासको बाधक बन्न खोज्ने, भूराजनीतिक अवस्थालाई तोडमोड गर्ने र सही र गलतबीचमा द्विविधा उत्पन्न गराउने काम अमेरिकाले बन्द गर्नुपर्ने उनको भनाइ छ । २४ घण्टाभित्र वाङले पेलोसीको भ्रमणलाई लिएर दोस्रो पटक वक्तव्य जारी गरेका हुन् ।

ताइवानलाई आफ्नो अभिन्न भूभाग भन्दै आएको चीनले त्यहाँ अमेरिकी अधिकारीलाई बोलाएको विषयमा शृंखलाबद्ध रूपमा आक्रामक अभिव्यक्ति दिइरहेको छ । पेलोसी ताइवान पुग्नुअघि चीनका विदेशमन्त्री वाङ यीले ताइवान मामिलामा अमेरिकी राजनीतिज्ञले आगोसँग खेलेको भन्दै त्यसको परिणाम सुखद नहुने प्रतिक्रिया दिएका थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई उपयुक्त समयमा चीनमा एकीकृत गर्ने बताउँदै आएका छन् । ‘मातृभूमिको एकीकरण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ । र, यो अवश्य पूरा हुनेछ,’ चीनबाट राजशाही अन्त्य भएको ११० औं वर्षगाँठका अवसरमा राष्ट्रपति सीले भनेका थिए । राष्ट्रपति सीले ‘एक देश : दुई प्रणाली’ अन्तर्गत शान्तिपूर्ण रूपमा ताइवानसँग एकीकरण गर्न चाहेको बताएका थिए । ताइवानले भने बेइजिङका क्रियाकलाप ‘घुसपैठ, उत्पीडन र उत्तेजक’ भएको जनाउँदै त्यस्ता कदम रोक्न आह्वान गर्दै आएको छ ।

सन् १९४० को दशकमा चर्किएको गृहयुद्धले चीन र ताइवान अलग भएका हुन् । माओ त्सेतुङका कम्युनिस्ट सेना र चियाङ काई सेकका कोमिङ्ताङ सेना मिलेर देशलाई जापानी उपनिवेशबाट मुक्त गराएपछि राज्यशक्तिमा पुग्न आपसमा लडेका थिए । भीषण लडाइँपछि चियाङ र उनको कुमिङ्ताङ सरकारका अधिकारी सन् १९४९ मा भागेर ताइवान पुगेका थिए । धेरै समयसम्म ताइवानमा यही समूहको दबदबा थियो । स्थानीय नागरिकले सरकार तानाशाही भएको भन्दै व्यापक विरोध गरेपछि चियाङका छोरा चियाङ चिङ कुओले प्रजातान्त्रीकरणको अभ्यास गरेका थिए । पछि राष्ट्रपति ली तेङ हुईले संवैधानिक परिवर्तन गर्दै प्रजातान्त्रिक राजनीतिक व्यवस्थातर्फ मुलुकलाई लगे । उनलाई ताइवानको ‘प्रजातन्त्रका पिता’ पनि भनिन्छ ।

आफ्नो छुट्टै संविधान रहेको ताइवानमा नेताहरू लोकतान्त्रिक प्रक्रियाबाट चुनिन्छन् । तर चीनले भने ताइवान आफ्नो अभिन्न भुभाग भएको भन्दै उचित समयमा एकीकरण गरेरै छाड्ने बताउँदै आएको छ । संसारका धेरै मुलुक र ताइवानबीच दुई देशको रूपमा दौत्य सम्बन्ध छैन । तर ताइवानले आफ्नो रक्षा गर्न पाउने विषयसँग सम्बन्धित कानुन अमेरिकाले बनाएको छ । ताइवानसँग झन्डै ३ लाख सक्रिय सेना छन् ।

प्रकाशित : श्रावण १८, २०७९ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?