शिव सेना सांसद ईडीद्वारा पक्राउ

राजेश मिश्र

नयाँदिल्ली — भारतमा केन्द्रीय सरकार मातहतको प्रवर्तन निर्देशनालय (ईडी) ले एकपछि अर्को विपक्षी दलका नेतामाथि कारबाही बढाउँदै लगेको छ । ईडी आर्थिक मामिलामा छानबिन गर्ने निकाय हो ।

शिव सेना सांसद ईडीद्वारा पक्राउ

ईडीको पछिल्लो कारबाहीमा महराष्ट्रका शिव सेना सांसद सञ्जय राउत परेका छन् । उनी शिव सेनामा उद्धव ठाकरे पक्षीय नेता हुन् । भाजपा सरकारको कडा आलोचकका रूपमा चिनिने उनलाई ईडीले आइतबार पक्राउ गरेको हो ।

ईडीको कारबाहीमा प्रमुख प्रतिपक्षी दल कंग्रेसका अध्यक्ष सोनिया गान्धी, कंग्रेस नेता तथा उनका छोरा राहुल गान्धी पनि परेका छन् । ईडीले पछिल्लो समय लगातार दुवै नेतालाई दिल्लीस्थित आफ्नो कार्यालयमा बोलाएर घण्टौं बयान लिइसकेको छ । महाराष्ट्रमा पक्राउ परेका राउतसहितको शिव सेनाको गुट कंग्रेस गठबन्धनमा छ । त्यहाँ कंग्रेसको समर्थनमा शिव सेनाले सरकार बनाएको थियो । तर, केही दिन अगाडि मात्रै शिव सेना विभाजित भएर एउटा गुटले भाजपासँग गठबन्धन गरेर सरकार बनाएको हो ।

ईडीका अधिकारीले राउतसँग ९ घण्टा बयान लिएपछि अनुसन्धानमा सहयोग नगरेको भन्दै उनलाई पक्राउ गरेको हो ।

महराष्ट्रमा जमिन घोटाला काण्डमा राउतको संलग्नताको विषयमा ईडीले अनुसध्नका गरिरहेको छ । उक्त घोटाला १ हजार ३४ करोडको रहेको मानिएको छ । राउतले भने आफूले कुनै आर्थिक घोटाला नगरेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनले आफूलाई फसाउन भाजपाको चाल मात्रै रहेको बताएका छन् । महाराष्ट्रको प्रदेश अध्यक्ष नाना पाटोलले मोदी सरकारको विरोधमा बोल्ने जोसुकैमाथि ईडीले कारबाही अघि बढाउन थालेको भन्दै विगतको अंग्रेज सरकारसँग भाजपा सरकारको तुलना गरेका छन् ।

दिल्ली सरकारमा आम आदमी पार्टीका मन्त्री सत्येन्द्र जैनलाई ईडीले गत ३० मेमा पक्राउ गरेको थियो । उनी अनुसन्धानका क्रममा अहिलेसम्म ईडीको हिरासतमै छन् । उनीमाथि मनी लाउन्ड्रिङसम्बन्धी मुद्दा छ । यसैबीच, दिल्लीका उपमुख्यमन्त्री आपका वरिष्ठ नेता मनीष सिसोदियामाथि पनि केन्द्रीय जाँच एजेन्सी सीबीआईले दिल्लीमा रक्सीसम्बन्धी लिइएको एक नीतिमा भ्रष्टाचार भएको विषयमा छानबिन गर्ने भएको छ । त्यस्तै, पश्चिम बंगालमा मन्त्री रहेका पार्थ चटर्जीलाई पनि भर्खरै मात्र ईडीले पक्राउ गरेको छ । उनी ममता बनर्जीको नेतृत्वको तृणमूल कंग्रेसका नेता हुन् । बनर्जी, उनको पार्टी र उनी नेतृत्वको सरकार भाजपाको कट्टर विरोधीका रूपमा स्थापित छन् । उनीमाथि शिक्षक भर्नामा भ्रष्टाचारको आरोप छ ।

कंग्रेस अध्यक्ष गान्धी र उनका छोरा राहुलमाथि नेसनल हेराल्ड पत्रिकासम्बन्धी पुरानो मुद्दामा ईडीले अनुसन्धान बढाएको छ । दुवै नेताले ईडीको कार्यालयमा पुगेर घण्टौं बयान दिएपछि उनका समर्थक र पार्टीका कार्यकर्ताहरूले लगातार प्रदर्शन गरेका थिए । ईडीलाई बयान दिन गएका बेला राहुलले ईडीका अधिकारीलाई ‘के तपाईंहरू भाजपाका नेतालाई पनि यसरी बोलाउनुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।

विपक्षी दलका नेताहरूले भाजपा नेतृत्वको सरकारले सरकारी एजेन्सीको दुरुपयोग गरेर विरोधी तर्साएको आरोप लगाएका छन् । भाजपा नेताहरू भने भ्रष्टाचार गरेपछि कारबाहीका लागि जोसुकै तयार हुनुपर्ने बताउँदै विपक्षी दलका नेतामाथि प्रहार गर्दै आएका छन् । कंग्रेस, आम आदमी पार्टी वा तृणमूल कंग्रेस जस्ता विपक्षी दलका नेताहरू रक्षात्मक अवस्थामा पुग्न थालेका बेला महाराष्ट्रमा भाजपा गठबन्धनभन्दा बाहिर रहेको शिव सेना पनि त्यही पंक्तिमा थपिएको छ ।

प्रकाशित : श्रावण १६, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?