कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

झन् क्रूर बन्दै म्यान्मारको सैनिक सरकार

पूर्वसांसदसहित ४ जना अधिकारकर्मीलाई मृत्युदण्ड
आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप
एजेन्सीहरू

यांगुन — निर्वाचित सरकारलाई अपदस्थ गरी डेढ वर्षअघि शासनसत्ता हातमा लिएको म्यान्मारको सैनिक सरकार झन् त्रूर बन्दै गएको छ । सैन्य ‘कु’ यता गरिएको विरोध प्रदर्शनमा सहभागी सयौंको ज्यान लिएको सैनिक सरकारले पूर्वसांसदसहित ४ जना लोकतन्त्रवादी नेतालाई सोमबार मृत्युदण्ड दिएको छ । म्यान्मारमा करिब तीन दशकपछिको यो पहिलो मृत्युदण्ड भएको बताइएको छ ।

झन् क्रूर बन्दै म्यान्मारको सैनिक सरकार

पूर्वसांसद फ्यो जेया थअ र अधिकारकर्मी को जिम्मीलाई आतंकवादी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै, मृत्युदण्ड दिइएकामा ह्ला म्यो आङ र आङ थुरा जअ छन् ।

म्यान्मारको अदालतले गत जुनमा उनीहरूलाई मृत्युदण्डको घोषणा गरेको थियो । उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका थिए । बन्द इजलासमा अन्यायपूर्ण र अपारदर्शी सुनुवाइ गरी उनीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको भन्दै मानवअधिकारवादी संस्थाहरूले आलोचना गरेका थिए ।

इन्सेन कारागारमा सोमबार जम्मा भएका मृत्युदण्ड सुनाइएकाका आफन्तले उनीहरूको अवस्था सूचना खोजिरहेका थिए । जेया थअकी आमाले आफूलाई छोरालाई कहिले मृत्युदण्ड दिइने भन्नेबारे केही जानकारी नदिइएको बताइन् । जसका कारण आफूले परम्पराअनुसार छोराको अन्तिम संस्कारका लागि तयारीसमेत गर्न नपाएको बताइन् ।

जुन्ता सरकारले मृत्युदण्ड दिएका अभियन्ताहरू को जिम्मी(बायाँ) र फो जिया था(दायाँ) । तस्बिर : बीबीसी

‘शुक्रबार अनलाइनमार्फत कुराकानी गर्दा मेरो छोरा निकै स्वस्थ्य र हसमुख देखिएको थियो । उसले आफ्नो चस्मा, शब्दकोश र केही पैसा मगाएपछि आज मात्र मैले ल्याइदिएकी थिएँ,’ खिन विन मेले भनिन्, ‘उनीहरूले मेरो छोरालाई मार्लान् भन्ने सोचेकी पनि थिइनँ । मलाई छोरा छैन भन्ने विश्वास नै लागेको छैन ।’

त्यसैगरी, को जिम्मीकी बहिनीले पनि आफूहरूले दिदीको शव नपाएको बताइन् । मृत्युदण्ड दिइएकाका परिवारजनले उनीहरूको सूचनाबारे जानकारी माग्दै आवेदन दिएका छन् । म्यान्मारको सरकारी सञ्चारमाध्यम ‘ग्लोबल न्युज लाइट अफ म्यान्मार’ ले ‘क्रूर र अमानवीय आतंकवादी कार्य गरेको तथा त्यस्तो कार्यका लागि प्रबन्ध मिलाएको र निर्देशन दिएका कारण चार जनालाई मृत्युदण्ड दिइएको’ जनाएको छ । उक्त सञ्चारमाध्यमले उनीहरूलाई प्रतिआतंकवाद कानुनअनुसार मुद्दा चलाइएको जनाए पनि कहाँ र कहिले मृत्युदण्ड दिइयो भन्नेबार केही उल्लेख गरेको छैन ।

संयुक्त राष्ट्रसंघका अनुसार यसअघि म्यान्मारमा सन् १९८८ मा झुन्डाएर मृत्युदण्ड दिइएको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मृत्युदण्ड दिने कार्यको भर्त्सना गरेका छन् । उनले त्यस्तो कार्य ‘कुनै पनि व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षासम्बन्धी अधिकारको निर्मम हनन भएको’ बताएका छन् ।

सैन्य ‘कु’ को विरोधमा गठन गरिएको छाया सरकारले मृत्युदण्डको निन्दा गरेको छ । लोकतन्त्रवादी, विद्रोही समूहका प्रतिनिधि र एनएलडीका सदस्य संलग्न छाया सरकारले ‘अन्याय र अत्याचार गर्ने हत्यारा जुन्टा (सैनिक) सरकारलाई अन्तर्राष्ट्रिय समुदायले’ सजाय दिनुपर्ने बताएको छ ।

म्यान्मारको सेनाले सन् २०२१ मा देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो । लोकतन्त्रवादी नेतृ आङ सान सूची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो ।

सैन्य ‘कु’ पछि म्यान्मारमा देशव्यापी प्रदर्शन चर्किएको थियो । तर प्रदर्शन दमन गर्न सेनाले अत्यधिक बल प्रयोग गरेपछि सयौं प्रदर्शनकारी, अधिकारकर्मी तथा पत्रकारको ज्यान गएको थियो । घटनापछि विश्व समुदायले सैनिक सरकारविरुद्ध कदमहरू चालेका छन् ।

सैनिक ‘कु’ यता सूचीलाई नजरबन्दमा राखिएको छ । सरकारले उनीविरुद्ध लगाएका भ्रष्टाचारलगायतका आरोपमा दोषी ठहरिए उनलाई १ सय ५० वर्षसम्म जेल सजाय हुन सक्छ ।

गत सन् २०२१ को फेब्रुअरीयता म्यान्मारको सेनाले २ हजार १ सय १४ जनाको हत्या गरेको र करिब १५ हजार जनालाई पक्राउ गरिसकेको छ । मृत्युदण्ड दिइएकामध्ये ५३ वर्षीय को जिम्मी म्यान्मारमा सन् १९८८ मा सैनिक सरकारविरुद्धको विद्रोहका बेला सक्रिय ‘८८–जेनेरेसन विद्यार्थी समूह’ का मुख्य सदस्य हुन् । उनकी श्रीमती निलार थेइनले पनि लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता हुन् । सन् २००७ मा भिक्षुहरूको नेतृत्वमा गरिएको सरकारविरोधी प्रदर्शनमा जिम्मी र उनकी पत्नीले १९८८ का सक्रिय कार्यकर्ता र प्रदर्शनकारीलाई परिचालन गरेका थिए ।

सन् २०१२ मा रिहा हुनुअघि जिम्मीले विभिन्न समय कारावास सजाय काटेका थिए । पछिल्लो पटक सैनिक सरकारले हातहतियार लुकाएर राखेको अभियोगमा गत अक्टोबरमा पक्राउ गरेको थियो ।

४१ वर्षका फ्यो जेया थअ हिप–हप गायकबाट नेसनल लिग फर डेमोक्रेसीका सांसद बनेका थिए । उनको ‘एसिड’ ब्यान्डले म्यान्मारमै पहिलोपटक हिपहप गीतको एल्बम निकालेको थियो । उनले आफ्ना गीतमार्फत सैनिक सरकारको आलोचना गर्ने गर्थे ।

राजनीतिमा प्रवेश गरेसँगै आङ सान सूचीको निकै निकट बन्न पुगेका थअ विश्व नेताहरूसँग सुकीले गरेका अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुने गरेका थिए । उनलाई आतंकवादी क्रियाकलाप गरेको आरोपमा गत नोभेम्बरमा पक्राउ गरिएको हो । मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गरेका थअ र जिम्मीले जुन महिनामा मुद्दा हारेका थिए ।

मृत्युदण्ड दिइएका अन्य दुई जनाबारे भने खासै जानकारी नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती दुई जनाले सेनाको जासुस बताएकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रकाशित : श्रावण १०, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×