कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षविरुद्ध सिंगापुरमा मुद्दा

एजेन्सी

काठमाडौँ — श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षविरुद्ध अधिकारकर्मीहरूको एक अन्तर्राष्ट्रिय संस्थाले पक्राउको माग गर्दै मुद्दा दायर गरेको छ । श्रीलंकामा आन्दोलन चर्किएपछि भागेर सिंगापुर पुगेका राजापाक्ष विरुद्ध सिंगापुरमा उजुरी दिइएको हो ।

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षविरुद्ध सिंगापुरमा मुद्दा

सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा शनिबार दर्ता गरिएको ६३ पृष्ठ लामो उजुरीमा श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षले श्रीलंकामा चलेको २५ वर्ष लामो गृहयुद्धमा जेनेभा महासन्धिको उल्लंघन गर्नुका साथै मानवअधिकार हनन् गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्टरनेसनल ट्रुथ एन्ड जस्टिस प्रोजेक्ट (आईटीजेपी)का तर्फबाट राजापाक्षविरुद्ध शनिबार मुद्दा दायर गरिएको उक्त संस्थाकी कार्यकारी निर्देशक यस्मिन सुकाले पुष्टि गरेकी हुन् ।

श्रीलंकामा २००९ मा अन्त्य भएको गृहयुद्धको क्रममा तत्कालीन पृथकतावादी विद्रोही लिट्टे र सरकारका तर्फबाट मानवअधिकार उल्लंघनका साथै दुर्व्यवहारका घटना भएको बताइन्छ ।

श्रीलंकामा राजापाक्षविरुद्ध देशव्यापी प्रदर्शन चर्किएपछि जुलाइ १३ मा उनी भागेर सिंगापुर पुगेका थिए । साथै उनले सिंगापुरबाटै राजीनामा पठाएका थिए।

गोटाबायाले २००८ मा युद्ध क्षेत्रबाट संयुक्त राष्ट्र संघ र दातृ निकायहरूलाई फिर्ता जान आदेश दिँदै नागरिकहरूमाथि सेनाले गरेको नरसंहारमा उनको संलग्नता रहेको भन्दै उनी आलोचित बन्ने गरेका छन् । सिंगापुरमा उनीमाथि दायर गरिएको मुद्दामा उनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको छ ।

राजापाक्षले भने आफूमाथि लाग्ने गरेका आरोप अस्वीकार गर्दै आएका छन् । उनीमाथिको मुद्दाबारे सिंगापुरका महान्यायाधिवक्ताले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित : श्रावण ८, २०७९ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?