कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८
श्रीलंका संकट

कहाँ छन् राष्ट्रपति र प्रधानमन्त्री ? आन्दोलनको अगुवाइ कसले गरिराखेको छ ?

काठमाडौँ — श्रीलंकामा दसौं हजार नागरिक सडकमा ओर्लिएर प्रदर्शन गर्न थालेपछि यहाँका राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री रणिल विक्रमासिंघे आफ्नो निवास छाडेर सुरक्षित स्थानतर्फ गएका छन् ।

कहाँ छन् राष्ट्रपति र प्रधानमन्त्री ? आन्दोलनको अगुवाइ कसले गरिराखेको छ ?

प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास कब्जा गरिरहँदा राजापाक्षे भने अज्ञात स्थानमा सुरक्षित रूपमा बसेको भनिएको छ । जबकि प्रधानमन्त्री विक्रमासिंघे राजधानी कोलम्बोबाट नजिकै तर सुरक्षाकर्मीहरूबाट संरक्षित स्थानमा बसेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

शनिबार बिहान ठूलो संख्यामा प्रदर्शनकारीहरू राष्ट्रपतिको निवास घेराउ गर्न त्यसतर्फ लम्कनुअघि नै प्रहरीले भने कर्फ्यू घोषणा गरिसकेको थियो । तर उक्त कर्फ्यूको कुनै प्रभाव देखिएन । शुक्रबार राति अवेर कर्फ्यू घोषणा गरेसँगै राष्ट्रपतिलाई सुरक्षाकर्मीहरूले नै कोलम्बोमा रहेको निवासबाट भाग्ने बन्दोबस्त मिलाएका थिए ।

स्थानीय मिडियाका अनुसार गोटाबाया उनका भाइ पूर्वराष्ट्रपति एवं पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपति छँदा आफ्नै सुरक्षाका लागि तयार पारेको बंकरमा लुकेको हुनसक्ने पनि कतिपयको आकलन छ । जहाँबाट गोटाबायाका लागि कोलम्बो बन्दरगाह हुँदै नौसेनाको शिविरमा लगिएको हुनसक्ने विज्ञहरूको भनाइ छ ।

जब कि महिन्दाले आफू राष्ट्रपति छँदा नै नौसेना शिविरमा हातहतियारसहित कडा सुरक्षा व्यवस्था तयारी अवस्थामा राख्ने गरेका थिए । महिन्दाका सहयोगीको रुपमा काम गरिसकेका विश्लेषक कुसल परेरले अलजजिरालाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, 'मलाई लाग्छ गोटाबाया राजपाक्षेलाई भूमिगत बंकरबाट नजिकैको श्रीलंका नौसेना शिविरमा लगिएको हुनसक्छ । त्यसपछि सुरक्षासँगै नौसेनाले अर्को ठाउँमा लगेको हुन सक्छ।'

यद्यपि उक्त युद्धपोत हाल कुन स्थानमा हुनसक्छ भन्ने अधिकांशले आकलन गर्न नसक्ने उनको दाबी छ । कतिपय विज्ञहरूले भने सैन्य उच्च स्रोतको हवाला दिँदै गोटाबाया यतिबेला समुद्रमा नौसेनाको जहाजमा रहेको दाबी गरेका छन् ।

अलजजिरामा प्रकाशित रिपोर्टमा राष्ट्रपतिको गोप्य स्रोतको हवाला दिँदै भनिएको छ, 'गोटाबाया श्रीलंकाको सीमा नजिककै जहाजमा हुन सक्छन् । तर अवस्था खराब बन्दै गयो भने उनी देशबाटै भाग्ने तयारीमा छन् ।'

सोमबार सुरक्षा अधिकारीहरूको बैठक तय गरिएको थियो । जहाँ अन्य नेताहरूको सुरक्षा व्यवस्था कसरी गर्ने भन्ने पनि एजेन्डामा थियो । यद्यपि उनीहरूले राष्ट्रपति कहाँ छन् भन्नेबारे कुनै छलफल गर्ने योजना नरहेको सुरक्षा अधिकारीहरू बताउँछन् । सुरक्षा अधिकारीहरू राष्ट्रपति अहिले कहाँ छन् सोध्नु नै अनुपयुक्त प्रश्न भएको बताउँछन् ।

यद्यपि सामाजिक सञ्जालमा अडकलवाजी गर्ने काम भने रोकिएको छैन् । राष्ट्रपतिको निवास घेराउ गरेकै दिन सामाजिक सञ्जालमा दुईवटा नौसेनाका जहाजहरूमा हतारमा सामान लोड गर्दै गरेको दृश्य भाइरल नै बनाइएको थियो । जसले गर्दा पनि उनी देशबाहिर भाग्ने योजनामा समुद्रतिर सैन्य सुरक्षामा रहेको आकलन गर्न सक्ने आधार छन् । तैपनि ठ्याक्कै कहाँ र कसरी बसिरहेका छन् भनेर अहिलेसम्म कसैले भन्न सकेको छैन ।

प्रधानमन्त्रीको अवस्था

प्रधानमन्त्री विक्रमासिंघे भने आफ्नो पुरानो घरमा आगलागी भएसँगै बाक्लो सुरक्षाबीच नियमित कामकारबाही गरिरहेका छन् । सोमबार बिहान एक बैठकमा अरु मन्त्रीहरूले पनि राजीनामा दिन सहमति जनाएपछि विक्रमासिंघेले राजीनामा दिएर सर्वदलीय सरकार बनाउन तयार रहेको बताएका थिए । उनले विज्ञप्ति जारी गर्दै अब पदबाट छोड्ने उनको भनाइ थियो ।

टेम्पल ट्रीज नाम गरिएको उनको सरकारी निवासलाई पनि प्रदर्शनकारीले कब्जा जमाएपछि उनी त्यसभन्दा बाहिर सुरक्षित स्थानमा बसिरहेका छन् । तर उनी बसेको स्थान पनि सार्वजनिक गरिएको छैन । मन्त्रीसहित उच्च अधिकारीहरू प्रधानमन्त्री कहाँ बसिरहन्छन् भन्ने महत्त्वपूर्ण नभएको बरु उनले आफ्नो काम नियमित गरिराखेको महत्त्वपूर्ण रहेको बताउँछन् ।

यसैबीच प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा राजापाक्षेले जुलाई १३ मा आफ्नो राजीनामा औपचारिक रुपमा घोषणा गर्ने जनाइएको छ । यसबीचमा राष्ट्रपति र प्रधामन्त्रीबीच पनि राजनीतिक द्वन्द्व देखिएको छ । विज्ञहरूका अनुसार प्रधानमन्त्री विक्रमासिंघे नै राष्ट्रपतिको राजीनामाको पर्खाइमा छन् । र राष्ट्रपति पदमा उनी स्वयं बन्न खोजिरहेको बताइन्छ ।

श्रीलंकाको संविधान अनुसार यदि राष्ट्रपतिले राजीनामा दिएमा प्रधानमन्त्री स्वत अर्को अवस्था नभएसम्मका लागि कार्यवाहक राष्ट्रपति बन्नेछ । तर राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिएको अवस्थामा सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पाउनेछ ।

आर्थिक संकटले राजनीतिक संकट निम्त्याएको श्रीलंकाका सडकमा आगो बलिरहँदा ५ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघे फेरि सत्ताको शिखरमै अडिरहन चाहेका छन् । अर्का नेता गोटाबायालाई सिंगो देशका जनताले देशनिकाला गर्न खोजिरहँदा पनि लुकेरै बसिरहेका छन् तैपनि पदबाट हट्न तयार छैनन् ।

कसले गरिराखेको छ आन्दोलनको नेतृत्व ?

२ करोड २० लाख नागरिक रहेको श्रीलंकाको अर्थतन्त्र जसरी ध्वस्त बन्यो राजनीतिक अवस्था पनि उसैगरी संकटमा फसिसकेको छ । त्यसो त एक वर्ष लामो संघर्षको मैदानबाट नयाँ वा वैकल्पिक शक्तिसमेत उदाउन सकिरहेको छैन ।

प्रदर्शनकारीहरू स्वत:स्फुर्त रूपमा सडकमा ओर्लिन्छन् । र नेताका निवास तोडफोड र आगजनी गरिदिन्छन् । आन्दोलनको यो लामो श्रृंखलामा युवाहरूको पर्याप्त उपस्थिति छ । यद्यपि सडकमा दसौं हजार नागरिकको प्रदर्शनलाई अगुवाइ र व्यवस्थापन गर्ने नेतृत्व भने खड्किरहेको देखिन्छ ।

कुनै पनि आन्दोलनले पुरानो शक्तिलाई ढाल्दैन मात्र । नयाँ नेताहरू पनि जन्माउने गर्छ । श्रीलंकाली जनताको यो लामो संघर्ष र संकटकाबीच सत्ता हाँक्नसक्ने आन्दोलनकारी नेताहरूको भने कमी देखिएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : असार २७, २०७९ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×