कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

तागत देखाउने ‘अटारी–वाघा परेड’

राजेश मिश्र

अटारी, पन्जाब — दक्षिण एसियाका छिमेकी देश भारत र पाकिस्तानलाई ‘स्थायी शत्रु’ का रूपमा लिने गरिन्छ । सन् १९४७ मा विभाजन भएयता यी दुई राष्ट्रबीचको सम्बन्ध सुमधुर भएको इतिहास छैन ।

तागत देखाउने ‘अटारी–वाघा परेड’

दुई देशबीचका सीमामा दुवैतिरका सैनिकहरू युद्धका लागि सधैंजसो तम्तयार अवस्थामा रहन्छन् । तर, यी देशबीच एउटा यस्तो सीमा नाका छ, जहाँ दुवै देशका सैनिकहरू सँगै परेड खेल्छन् । अमृतसर (भारत) र लाहोर (पाकिस्तान) दुवै सहरबाट करिब ३० किलोमिटरको दूरीमा दुई देशलाई छुट्याउने अटारी–वाघा बोर्डर छ । भारततर्फ अटारी र पाकिस्तानतर्फ वाघा सीमावर्ती गाउँ हुन् ।

दुई देशबीच स्थलमार्ग हुँदै औपचारिक आवागमन र व्यापार हुने एक मात्र बाटो पनि यही नै हो । चिल्लो राजमार्गले सीमा वारपारको भूमि जोडिएको छ । दुई देशबीचको सम्बन्ध सहज भएका बेला यही बाटोबाट सर्वसाधारणले आवतजावत गर्न पाउँछन्, दुई देशबीच बस सञ्चालन हुने गर्छ । तर, त्यो सुविधा सानो तनाव हुनासाथ बन्द हुन्छ ।


त्यही बोर्डरमा वर्षौंदेखि भाइचारा र युद्धको नियम झल्काउने गरी दुवै देशका सैनिकले संयुक्त रूपमा परेडको अभ्यास गर्छन् । एकले अर्कालाई आफू बलियो रहेको संकेत गर्छन् र छुट्निे बेला हात मिलाउँछन् । सन् १९५९ देखि थालिएको उक्त चलनले निरन्तरता पाइरहेको छ । तनावपूर्ण सम्बन्ध रहेका दुई देशका सैनिकले गर्ने संयुक्त परेडले विश्वभरका पर्यटकलाई लोभ्याउने गर्छ । कोरोनापछि बन्दै गएको सहज वातावरणमा उक्त परेड हेर्न पुनः हजारौं मानिस पञ्जाब आउन थालिसकेका छन् ।

सूर्यास्त हुनुअघि सीमाको दुवैतिर आमुन्ने–सामुन्ने थोरै दूरीमा सैनिकहरूले परेड थाल्छन् । सूर्यास्त हुनै लाग्दा दुवै देशका सैनिकहरू नजिकै पुग्छन् । फरक–फरक पोलमा रहेका आ–आफ्नो देशका राष्ट्रिय झन्डा सम्मानका साथ निकाल्छन् । त्यही झन्डा उतार्ने समारोहलाई ‘बिटिङ रिट्रिट सेरोमनी’ नाम दिइएको छ । झन्डा उतार्नुपूर्व गरिने सैनिक परेड रोचक मानिन्छ । ४५ मिनेटसम्म दुवैतिरका सैनिकले खुट्टा बजार्ने, हात उचाल्ने, छाती फुलाउने गतिविधि गर्दै परेड खेल्छन् । दुवै पक्षका सैनिकले एकअर्कालाई देखाउँदै गर्ने परेडले केहीबेर सीमा क्षेत्र युद्ध मैदानजस्तो पनि देखिन्छ । तर, त्यो सांकेतिक मात्रै हुन्छ । दुवैले एकअर्कालाई आफूभन्दा कमजोर देखाउने प्रयास गर्छन् ।


परेड हेर्न दिल्लीबाट आइपुगेका प्रभु मनी ट्रान्सफर भारत शाखा प्रमुख सुनिल मिश्रले दुवैतिरका नागरिकले राष्ट्रिय झण्डा लिएर आफ्ना देशका सैनिकको मनोवल बढाउन गर्ने हुटिङ लगायतका क्रियाकलापले कुनै रंगशालामा भारत र पाकिस्तानबीचको क्रिकेट म्याच हेरिरहेको अनुभवसमेत दिएको बताउँछन् । परेड अवधिमा दुवैतिर देशभक्तिको गीत बजाइएका कारण दर्शकले अर्कापट्टिको आवाज भने सुन्दैनन् । दुवैतर्फका स्थानीयले आफ्नो देशका सैनिकलाई हौसला प्रदान गर्छन् । एउटै लय र एकै समयमा दुवै देशका सैनिकले सम्मानपूर्वक आफ्ना देशका झन्डा उतारेपछि एकअर्कासँग हात मिलाउँदै छुट्टिन्छन् । र, त्यसपछि सीमाको ढोका बन्द गरिन्छ ।

दुई देशबीचको सीमामा सन् १९५९ देखि यस्तो परेड हुँदै आएको छ । दुई देशबीच सहयोग र सौहार्द वातावरण कायम राख्न र सूर्यास्तपछि कुनै तनाव वा युद्ध नहोस् भन्नका लागि साँझ झन्डा उतार्ने र सीमामा बनाइएको ढोका बन्द गर्ने चलन बसालिएको हो ।

प्रकाशित : असार २१, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×