कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अष्ट्रेलियाको सिड्नीमा भारी वर्षा र बाढी

एक जनाको मृत्यु । दसौं हजारलाई सुरक्षित स्थानमा सारिँदै ।
नारायण खड्का

अस्ट्रेलिया — केही दिनदेखि लगातार परेको वर्षाका कारण अस्ट्रेलियास्थित सिड्नीको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै आएको बाढीमा परी अहिलेसम्म एक जनाको मृत्यु भइसकेको छ भने दसौं हजारलाई बासस्थान छोडेर सुरक्षित स्थानमा जान अधिकारीहरूले आदेश दिएका छन् ।

अष्ट्रेलियाको सिड्नीमा भारी वर्षा र बाढी

सिड्नीका दर्जनौं स्थानमा वर्षापछि आएको बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । न्यु साउथ वेल्स राज्यका प्रिमियर डोमिनिक पेरोटेले सोमबार आपतकालीन सेवामा खटिएका अधिकारीको आदेश सुन्न आग्रह गरेका छन् ।

उनले करिब ३२ हजार सर्वसाधारण अधिकारीद्वारा बाढीबाट सुरक्षित रहन जारी गरिएको आदेश तथा चेतावनीका कारण प्रभावित भएको जनाएका छन् । आपतकालीन सेवाका अधिकारीले सिड्नीका बाढी प्रभावित क्षेत्रका करिब ३० हजार जनतालाई सुरक्षित स्थानमा सर्नका लागि आग्रह गरेका छन् । राज्यको आपतकालीन सेवाकी कमिस्नर कारलिन योर्कले ७४ स्थानमा रहेका स्थानीयवासीलाई खाली गर्न दिइएको आदेश र ६२ स्थानका लागि जारी चेतावनी यथावत रहने बताएकी छन् ।

यहाँस्थित मौसम विभागले राज्यको केन्द्रीय तटीय क्षेत्रमा अझ भारी वर्षा र चर्को हावाहुरीको सम्भावना रहेको चेतावनी दिएको छ । बाढीका कारण आइतबार एक व्यक्तिको मृत्यु भएको छ ।

राज्यको होक्सबरी क्षेत्रमा रहेका स्थान धेरै प्रभावित बनेका छन् भने इलावरा, हन्टर र सिड्नीको सहरी क्षेत्रमा अझ भारी वर्षा हुनसक्ने विभागलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । सोमबार राज्यका आपतकालीन व्यवस्थापन मन्त्री मुर्रे वाटले २ सय सुरक्षाकर्मी र दुईवटा हेलिकोप्टर सहयोगका लागि तयारी अवस्थामा राखिएको जनाएका छन् ।

उनले अहिल्यै रास्ट्रिय आपतकाल घोषणा गर्ने सम्भावना नरहे पनि राज्यस्तरमा भने आपतकाल घोषणा हुनसक्ने बताएको स्थानीय समाचारमा उल्लेख गरिएको छ । यसैगरी हङकङस्थित एक सिपिङ कम्पनीको हजारौं लिटर इन्धन लिएर आएको पानीजहाज सिड्नीस्थित रोयल नेसनल पार्क नजिकै इन्जिन बन्द भएका कारण रोकिएको समाचारमा जनाइएको छ ।

सिड्नीका तटीय क्षेत्रमा मंगलबारसम्म बाढी आउनसक्ने अनुमान मौसम विभागले गरेको छ । तर मंगलबारदेखि वर्षा कम हुने र अवस्थामा सुधार आउने अनुमन गरिएको छ । बाढीका कारण घर छोड्न बाध्य बनेका सर्वसाधारणलाई अधिकारीले अस्थायी बसोबासको व्यवस्था गरेका छन् । आपतकालीन सेवाका कर्मचारीले वर्षाका कारण समस्यामा परेका दर्जनौं स्थानीयवासीलाई उद्धार गरेका छन् ।

मंगलबारदेखि मौसममा सुधार हुने अपेक्षा गरिएको भए पनि अधिकारीले सर्वसधारणलाई आपतकालीन काममा खटिएका कर्मचारीको सुझाव मान्न आग्रह गरेका छन् ।

प्रकाशित : असार २०, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?