कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजस्थानमा चर्कियो हिन्दु–मुस्लिम तनाव

पैगम्बर मोहम्मदबारे नेताले दिएका अभिव्यक्तिलाई समर्थन गरेको आरोपमा एक हिन्दुको हत्या
एजेन्सी

जइपुर — भारतको राजस्थान राज्यको उदयीपुर जिल्लामा एक व्यक्तिको हत्या गरिएपछि धार्मिक तनाव उत्पन्न भएको छ ।

राजस्थानमा चर्कियो हिन्दु–मुस्लिम तनाव

दुई मुस्लिम युवकले उदयीपुर जिल्लाका लुगा सिलाउने काम गर्दै आएका कन्हैया लालको हत्या गरेका हुन् । लालको हत्याका समयमा उनीहरूले खिचेको भिडियोसमेत अनलाइनमा राखेका छन् । राजस्थान प्रहरीले भिडियोमा देखिएका दुई युवालाई पक्राउ गरिएको जनाएको छ ।

इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे भारतीय नेताका विवादास्पद टिप्पणीलाई समर्थन गरेपछि प्रतिशोधस्वरूप ती व्यक्तिको हत्या गरिएको उनीहरूको दाबी छ । घटनापछि विरोध चर्केपछि राज्य सरकारले धेरै मानिसहरूलाई एकै स्थानमा भेला हुन रोक लगाएको छ । त्यसका साथै राजस्थानमा इन्टरनेट सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी सामाजिक सञ्जालमा सार्वजनिक अर्को एक भिडियोमा उनीहरूले उक्त हत्याबारे गौरवपूर्ण रूपमा कुरा गरेका छन् । भिडियोमा ती युवकले खुँडा नचाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएका छन् । राजस्थानका एक प्रहरी अधिकारीले हत्याको भिडियो ‘हेर्नका लागि निकै डरलाग्दो’ रहेको भन्दै प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

राजस्थानका मुख्यमन्त्री अशोक गेहलटले जनतालाई शान्त र संयमित रहन आह्वान गरेका छन् । भारतको केन्द्र सरकारले घटनाबारे अनुसन्धान गर्न नेसनल इन्भेस्टिगेटिभ एजेन्सी (एनआईए) लाई आदेश दिएको छ । एनआईए प्रतिआतंकवादको विषयमा अनुसन्धान गर्ने देशको प्रमुख निकाय हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार हत्या गर्नुअघि ती दुई युवक ग्राहकका रूपमा कन्हैया लालको पसलमा प्रवेश गरेका थिए । लुगा सिलाउन अर्डर गरेका उनीहरूले नापजाँच गर्ने क्रममा कन्हैयालाई आक्रमण गरेका थिए ।

कन्हैयाले आफ्नो सामाजिक सञ्जालमा भारतीय जनता पार्टी (भाजपा) का पूर्वप्रवक्ता नूपुर शर्माको समर्थन गर्दै पोस्ट गरेका थिए । शर्माले गत महिना पैगम्बर मोहम्मदबारे विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । शर्माको टिप्पणीपछि दर्जनौं इस्लाम देश र भारतबीच कूटनीतिक विवाद निम्तिएको थियो । कतिपय देशले कूटनीतिक विरोध जनाएपछि भाजपाले शर्मालाई पार्टीबाट निलम्बन गरेको थियो । शर्माको अभिव्यक्तिपछि भारतमा धार्मिक प्रदर्शनहरू भएका थिए । विरोधका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड गरिनुका साथै हिंसा भड्केको थियो ।

हत्या हुनुभन्दा तीन साताअघि धार्मिक भावनामाथि आघात पुर्‍याएको आरोपमा प्रहरीले कन्हैयालाई पक्राउ गरेको थियो । रिहा भएलगत्तै भने कन्हैयाले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीसँग सुरक्षा माग गरेका थिए । प्रहरीले केही हिन्दु र मुस्लिम अगुवाहरूसँग बैठक गरी शान्ति कायम गर्ने प्रयास गरेको थियो । एक प्रहरी अधिकारीका अनुसार बैठकपछि कन्हैयाले तत्काल कसैलाई कारबाही गर्न आवश्यक नभएको बताएका थिए ।

कन्हैयाको हत्याको भारतका प्रमुख राजनीतिक नेताहरूले भर्त्सना गरेका छन् । भाजपा नेतृ तथा राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा राजेले घटनाप्रति कंग्रेस पार्टी जिम्मेवार रहेको दोष लगाएकी छन् । हत्याको विरोधमा भाजपाका नेताहरूले भारतीय राजधानी नयाँदिल्लीमा र्‍याली गर्ने बताएका छन् ।

कंग्रेस नेता राहुल गान्धीले कन्हैयाको हत्याले आफू स्तब्ध भएको जनाएका छन् । आक्रमणकारीलाई तत्काल कारबाही गरिनुपर्ने उनको माग छ । कपितय मुस्लिम संस्थाहरूले पनि हत्याको भर्त्सना गरेका छन् ।

अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डले घटनाप्रति निन्दा गर्दै भारतीय कानुन र इस्लाम धर्मग्रन्थविरुद्धको कार्य भएको जनाएको छ । ‘कानुन हातमा लिन कसैलाई पनि छुट छैन । कसैको हत्या गर्ने काम भर्त्सनायोग्य कार्य हो,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एआईएमआईएम पार्टीका प्रमुख असदुद्दीन ओवैसीले घटनाको कडा निन्दा गर्दै भनेका छन्, ‘उदयीपुरमा भएको क्रूर हत्या निन्दनीय छ । यस्तो हत्याको कसैले पनि समर्थन गर्न सक्दैन । हाम्रो पार्टीले सधैं यस्तो हिंसाको विरोधमा रहेको छ । कसैलाई पनि कानुन हातमा लिने अधिकार छैन ।’ उनले विधिको शासन कायम राख्न र अपराधीलाई कडा सजाय दिन सरकारसँग माग गरेका छन् ।

जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री

ओमार अब्दुल्लाहले पनि घटनाको निन्दा गर्दै कुनै पनि सभ्य समाजमा यस्ता घटनालाई स्थान दिन नहुने बताएका छन् । घटनाबारे अनुसन्धान गरी दोषीलाई कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै पूर्वक्रिकेटर इरफान पठानले घटनाको निन्दा गर्दै लेखेका छन्, ‘तपाईं कुन धर्म मान्नुहुन्छ, त्यसले केही फरक पर्दैन । एक निर्दोषको ज्यान लिनु भनेको पूरै मानवतालाई क्षति पुर्‍याउनु हो ।’

प्रकाशित : असार १६, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?