कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेक्ससमा ट्रकभित्र मृत भेटिएकामध्ये २२ जना मेक्सिकन भएको पुष्टि

काठमाडौँ — मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रकभित्र मृत भेटिएकामध्ये कम्तीमा २२ जना आफ्ना नागरिक भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले मृत्यु भएकामध्ये कम्तीमा २२ जना मेक्सिकोका नागरिक भएको बताएका हुन् ।

टेक्ससमा ट्रकभित्र मृत भेटिएकामध्ये २२ जना मेक्सिकन भएको पुष्टि

उनले जम्मा ५० जना मृत भेटिएकोसमेत बताएका छन् । तर सीएनएन, बीबीसी, गार्जियनलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ४६ जनाको मृत्यु भएको बताएका छन् । मृत्यु भएका सबै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने आप्रवासी भएको बताइएको छ । गर्मीका कारण 'हिट स्ट्रोक'बाट उनीहरूको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

त्यस्तै मेक्सिकोका विदेशमन्त्री मार्सेलो एबर्रार्डका अनुसार ग्वाटेमालाका ७ जना, २ जना होन्डुरसका नागरिक रहेका छन् । त्यस्तै अन्य मृतकको भने पहिचान हुन बाँकी रहेको उनले जानकारी दिएका छन् । उनले ट्विटरमा घटनाबारे जानकारी दिँदै भनेका छन्, 'अमेरिकी अधिकारीहरूबाट प्राप्त जानकारीअनुसार ५० जनाको मृत्यु भएको छ । त्यसमध्ये २२ मेक्सिकन, ७ ग्वाटेमालाका र २ जना होन्डुरसका रहेका छन् । अरुको पहिचान हुन बाँकी छ । हामी शोकमा छौँ । यो ठूलो क्षति हो । घटनाको अनुसन्धानका लागि हामी अमेरिकालाई सहयोग गर्छौं ।'

ट्रकबाट ४ जना बालबालिकासहित १६ जनालाई जीवितै उद्धार गरी अस्पताल भर्ना गरिएको छ । उनीहरू गर्मीबाट थकित र हिट स्ट्रोक भएको अवस्थामा भेटिएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि मेक्सिकोका विदेशमन्त्री मार्सेलो एबर्रार्डले अस्पताल लगिएकामध्ये २ जना ग्वाटेमालाका नागरिक भएको बताएका थिए ।

गैरकानुनी रूपमा अमेरिका छिर्ने आप्रवासीहरू मेक्सिकोको बाटो रोज्ने गरेका छन् । उनीहरू एजेन्टको सहारामा जोखिम मोल्दै अमेरिका छिर्ने गरेका छन् । यही विषयले अमेरिका र मेक्सिकोबीचको सम्बन्धसमेत चिसिने गरेको छ । यसअघि पनि सन् २०१७ मा पनि सान एन्टोनियोको वालमार्टमा एउटा ट्रकमा १० जनाको शव भेटिएको र सन् २००३ मा पनि सान एन्टोनियोकै दक्षिणी क्षेत्र स्वेल्टरिङमा १९ जना मृत फेला परेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : असार १४, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?