रुसद्वारा युक्रेनी राजधानीमा आक्रमण- विश्व - कान्तिपुर समाचार

रुसद्वारा युक्रेनी राजधानीमा आक्रमण

बेलारूसलाई परमाणु अस्त्र बोक्ने क्षेप्यास्त्र दिने पुटिनको घोषणा
एजेन्सी

किभ/मस्को — युक्रेनमाथि रुसी आक्रमणविरुद्ध ऐक्यबद्धना जनाउन जी–७ का नेताहरू जर्मनीमा छलफलमा जुटिरहेका बेला रुसी फौजले युक्रेनको राजधानी किभमा आइतबार भीषण आक्रमण गरेको छ ।

रुसी सेनाको आक्रमणमा क्षतिग्रस्त युक्रेनी राजधानी किभस्थित आवासीय भवन । तस्बिर : एपी

उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) शिखर सम्मेलनको तयारीमा रहेका नेताहरूलाई तर्साउने उद्देश्यले तीन सातापछि पुनः हमला भएको किभका नगर प्रमुख भिटाली क्लिट्स्कोले बताएका छन् । किभको पश्चिममा रहेको सर्नी सहरमा कम्तीमा तीन जनाको मृत्यु भएको र थप मानिस भग्नावशेषमा पुरिएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् । रुसी फौजले किभको आवासीय क्षेत्र र आसपासमा गरेको भीषण आक्रमणमा दुईजना घाइते भएका उनले जनाए ।

केही क्षेप्यास्त्रहरू बेलारुसबाट प्रहार गरिएको युक्रेनको दाबी छ । युक्रेन युद्धमा बेलारुसले रुसलाई सहयोग पुर्‍याएको भए पनि त्यहाँका सेना आधिकारिक रूपमा युद्धमा सामेल छैन । क्रेमलिनले बेलारुसलाई युद्धमा होम्नका लागि क्षेप्यास्त्र प्रहार गर्न लगाएको युक्रेनको गुप्तचर सेवाको दाबी छ । रुसी रक्षा मन्त्रालयले आवासीय क्षेत्रलाई लक्षित गरी आक्रमण नगरिएको जनाएको छ । युक्रेनी क्षेप्यास्त्र कारखानामा प्रहार गरेको मन्त्रालयको दाबी छ । ‘आर्टयोम कारखाना हाम्रो आक्रमणको लक्ष्य थियो । तर युक्रेनी पक्षले आक्रमणको प्रतिरक्षा गर्दा नजिकैको आवासीय भवनमा केही क्षति पुगेको छ,’ रुसी रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आइतबारको आक्रमणको केही घण्टापछि जी–७ का सदस्य राष्ट्रहरू क्यानडा, जापान र अमेरिकासँगै बेलायतले पनि मस्कोमाथि प्रतिबन्ध थप कडा पार्दै रुसी बहुमूल्य रत्न एवं धातुको आयात रोक्ने घोषणा गरेका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युरोपेली संघ र नाटोको भेलालाई सम्बोधन गर्ने अपेक्षा गरिएको बेला पोल्यान्डको सीमा नजिकका सहरमा पनि रुसी फौजले शनिबार आक्रमण गरेको थियो ।

रुस–युक्रेन युद्ध सुरु भएको चार महिना पुगिसक्दा पनि युद्ध रोकिने कुने संकेत देखिएको छैन । युक्रेनले नाटोको सदस्यता लिने तयारी गरेपछि रुसले आक्रमण सुरु गरेको हो । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता करिब ५ हजार युक्रेनी सर्वसाधारणको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ । ५ हजारभन्दा बढी घाइते भइसकेका छन् ।

त्यस्तै, युद्धका कारण दुवै पक्षका हजारौं सुरक्षाकर्मीले ज्यान गुमाएका छन् भने ६९ लाख युक्रेनी विस्थापित भइसकेका छन् । तीमध्ये ५८ लाखले शरणार्थीका लागि विभिन्न देशमा आवेदन दिएका छन् । २१ लाख स्वदेश फर्किसकेका राष्ट्रसंघीय शरणार्थी निकायले जनाएको छ । कम्तीमा ८० लाख युक्रेनी भने देशभित्रै विस्थापित भएको जनाइएको छ ।

रुसी फौजले शनिबार मात्र सेभेरोदोनेत्स्कलाई ‘पूर्ण रूपमा कब्जा गरेको’ युक्रेनले जनाएको थियो । पूर्वी युक्रेनको उक्त सहरमाथि नियन्त्रण कायम गरेपछि रुसले लुहान्स्क र दोनेत्स्क क्षेत्रका थुप्रै भूभागमाथि कब्जा जमाउन सक्छ । आफ्नो सेनाले सेभेरोदोनेत्स्कमाथिको नियन्त्रण गुमाएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘रुसले नियन्त्रणमा लिएका सबै सहर’ फिर्ता लिने दाबी गरेका छन् । तर उनले रुससँगको युद्ध कठिन चरणमा प्रवेश गरेको र अझै कति नोक्सानी हुन्छ भन्ने यकिन नभएको बताए ।

यसैबीच, रुसले बेलारुसलाई छोटो दूरीका परमाणु अस्त्र प्रणाली दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसलाई परम्परागत र परमाणु दुवै प्रकारका बलिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गर्न सक्ने ‘इस्कान्डर–एम’ नामक प्रणाली प्रदान गरिने जनाएका हुन् । यो प्रणालीले ५ सय किलोमिटर टाढासम्म मार हान्न सक्छ ।

बेलारुसी समकक्षी एलेक्जेन्डर लुकासेन्कोसँगको बैठकमा पुटिनले केही महिनाभित्रै बेलारुसलाई ‘इस्कान्डर–एम’ नामक रणनीतिक क्षेप्यास्त्र प्रणाली हस्तान्तरण गर्ने बताएका हुन् । प्रणाली पठाउनेबारे सम्पूर्ण प्रक्रिया दुवै देशको रक्षा मन्त्रालयले हेर्ने पुटिनको भनाइ छ । सेन्ट पिटर्सबर्गमा रुसले बेलारुसी लडाकु विमानलाई परमाणु अस्त्र बोक्न सक्ने गरी परिमार्जन गर्न मद्दत गर्ने पनि जनाएका छन् ।

प्रकाशित : असार १३, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

न्यून बीजकीकरण र तस्करीका जुत्ता–चप्पलले स्वदेशी उद्योगलाई समस्या

राज्यसँगै उपभोक्ता पनि ठगिँदै
सीमा क्षेत्रमा बिक्री भइरहेका जुत्ता–चप्पलमध्ये ९० प्रतिशत नक्कली रहेको दाबी
राजु चौधरी

काठमाडौँ — सरकारले घोषणा गरेको सन्दर्भ पुस्तिकामा स्पोर्ट्स जुत्ताको सन्दर्भ मूल्य प्रतिजोर ८ डलर तोकिएको छ । तर यस्ता जुत्ता औसत मूल्यांकन २.४ डलरमै आयात हुने गरेको पाइएको छ । गत आर्थिक वर्षमा मात्रै ४ करोड ११ लाख ४६ जोर जुत्ता–चप्पल आए । तिनको औसत मूल्यांकन दर प्रतिजोर १ सय ७६ रुपैयाँ ४ पैसा थियो । त्यसमा भ्याट र भन्सार प्रतिजोर ७६ रुपैयाँ ८ पैसा जोडिएको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड ७ लाख ५४ हजार जोर जुत्ता–चप्पल भित्रियो । उक्त जुत्ताको औसत मूल्यांकन दर प्रतिजोर ३ सय ४ रुपैयाँ र राजस्व १ सय ४५ रुपैयाँ ३९ पैसा रहेको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले जनाएको छ । ‘तर भन्सार पुस्तिकामा तोकिएको सन्दर्भ मूल्यअनुसार आयात हुन्न । देखाउने एउटा र आयातका क्रममा मूल्यांकन फरक पार्ने गरिएको छ,’ एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले भने, ‘स्पोर्ट्स जुत्ताको सन्दर्भ मूल्य ८ डलर भए पनि २.४ डलरमै आयात भइराखेको छ । यो न्यून बीजकीकरणको एउटा नमुना हो ।’

एसोसिएसनको भनाइलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनले पनि पुष्टि गर्छ । करिब ५ वर्षअघि तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलसहितको अनुगमन टोलीले दरबारमार्गमा अनुगमन गर्दा १ हजार प्रतिशतसम्म मूल्य बढाएर जुत्ता–चप्पल बिक्री गरेको भेटिएको थियो । ब्रान्डेड नाम दिइएका जुत्ता–चप्पलको मूल्य अचाक्ली बढी लिइएको थियो । त्यसपछि अनुगमन टोलीले पसल सिलबन्दीसमेत गरेको थियो ।

युनिभर्सल ग्रुपकी कार्यकारी निर्देशक विदुषी राणा पनि जुत्ता–चप्पलमा एकदमै ठूलो चोरी पैठारी भइरहेको दाबी गर्छिन् । चीनबाट न्यून बीजकीकरण गरी गलत सजावटसहित जुत्ता–चप्पल भित्रिन्छ । ‘१० डलरको जुत्ता आयात हुँदा तिनले दुई डलरको मात्रै राजस्व तिरेका छन् । बेबी सुजका नाममा ठूला जुत्ता पनि ल्याइन्छ,’ गोल्ड स्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशकसमेत रहेकी राणाले भनिन्, ‘जुत्ता–चप्पल तस्करी गर्ने र भन्सारका कर्मचारीको मिलेमतो गरी परिमाणमा पनि ठगी हुन्छ । जस्तो कि, सय जोर जुत्ता आयात गर्दा करिब १० जोरको मात्रै भन्सार तिर्ने गरिन्छ ।’

मुलुकभर करिब १५ सय जुत्ता–चप्पल उद्योग रहेको एसोसिएसनको तथ्यांक छ । एसोसिएसनमै आबद्ध डेढ सय सदस्य छन् । सबै उद्योग गरेर तिनको वार्षिक उत्पादन क्षमता १६ करोड जोर जुत्ता–चप्पल हो । यसमध्ये आन्तरिक खपत १० करोड जोर हो । स्वदेशी उद्योगले यहाँ हुने मागअनुसार उत्पादन गर्ने गरेका छैनन् । आयातित सामानसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादन घटाएको उनीहरूले बताउने गरेका छन् । त्यसैले बर्सेनि करोडौं रुपैयाँ बराबरको जुत्ता–चप्पल आयात भइरहेको छ । त्यसमध्ये न्यून बीजकीकरण र चोरी पैठारीबाट पनि राम्रै परिमाणमा जुत्ता–चप्पल आइरहेको उद्योगीहरूको दाबी छ । ‘यही अवस्थाले ७०/८० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन्,’ एसोसिएसनका अध्यक्ष घिमिरेले भने ।

केही कम्पनीले जुत्ताको सोल र अप्पर बाहिरबाट किलोमा आयात गर्ने गरेको एसोसिएसनले बताएको छ । नेपालमा मेड इन नेपाल, रिबुक, नाइकी, एडिडासलगायतको ट्याग लगाएर बिक्री गर्ने गरिएको छ । यस्ता जुत्ता काठमाडौंको महाबौद्ध, असन, रत्नपार्कलगायत क्षेत्रमा बढी पाइन्छ । यसरी हुने गैरकानुनी धन्दा तत्काल रोक्नुपर्ने स्वदेशी जुत्ता उद्योगीहरूको भनाइ छ । ‘सरकारी नीतिका कारण चोरी पैठारी मौलाएको छ । दक्षिण नाकाबाट चोरी पैठारी बढ्दो छ,’ एसोसिएसनका उपाध्यक्ष रुद्र न्यौपानेले भने, ‘यसले स्वदेशी उद्योगीलाई धेरै मार परेको छ । उपभोक्ता पनि न्यून गुणस्तरका सामान किन्न बाध्य छन् ।’

पछिल्लो समय सबैभन्दा चिनियाँ ब्रान्डका नक्कली जुत्ता आयात भइरहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । मूल्य सस्तो भए पनि सर्वसाधारण गुणस्तरमा ठगिएको उनको भनाइ छ । ‘न्यून बीजकीकरण र चोरी पैठारीले सीमित कर्मचारी/व्यापारीलाई फाइदा भयो । उपभोक्तासँगै सरकार पनि ठगियो,’ उनले भने ।

भन्सार कार्यालयबाट सस्ता जुत्ता–चप्पल भित्रिए पनि सोही मूल्यमा बजारमा पाइँदैन । भन्सार नाकाबाट सस्तोमा भित्रिएका जुत्ता–चप्पल बजारमा चर्को मूल्यमा बिक्री हुन्छन् । ‘न्यून बीजकीकरण विगतदेखिकै समस्या हो, जुत्ता–चप्पलमा मात्रै नभई अन्य वस्तुमा पनि यस्तै समस्या छ,’ भन्सार विभागका एक अधिकारीले भने, ‘यस विषयमा पटकपटक छलफल पनि हुन्छ । तर समस्याको अन्त्य गरिँदैन ।’

चीनसँगै खुला सीमाका कारण भारतबाट पनि नक्कली जुत्ता आउँछन् । चोरीका जुत्ता भित्र्याउन सीमा क्षेत्रमा ठुल्ठूला गोदाम घर निर्माण भएको छ । नेपाल भित्र्याउनकै लागि दिनभर जुत्ता संकलन भइरहेको गोल्ड स्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक राणाको दाबी छ । ‘हामीले भारतका सबै नाकामा अध्ययन गरेका थियौं । रातिराति साइकल, पैदल, रिक्सा, ट्रकमा ल्याइन्छ ।

एउटै साइकलले दिनमा ५ सय ट्रिपसम्म गरेका छन्,’ उनले भनिन्, ‘सीमामा रहेका धेरैजसो पसल (करिब ९० प्रतिशत) मा नक्कली जुत्ता भेटिन्छन् । चीनबाट न्यून बीजकीकरण र भारतबाट शतप्रतिशत नै तस्करी हुन्छ ।’

न्यून बीजकीकरण र चोरी पैठारी मौलाउँदा सरकार भने मौन छ । सीमा क्षेत्रका बजारमा अनुगमन भएको छैन । कर/राजस्व छली, न्यून बीजकीकरणबारे भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, स्थानीय प्रहरीलगायतले अनुगमन गर्नुपर्ने हो । तर चोरी पैठारीको अनुगमन हुन नसकेको स्वदेशी जुत्ता उद्योगीहरूको गुनासो छ ।

‘जुत्ताको बाहिरी भागमा नाइकी, भित्र डिभालगायत लेखिएको पाइन्छ । काठमाडौंको महाबैद्धलगायत क्षेत्रमा करिब ३० प्रतिशत नक्कली जुत्ता बिक्री हुने गरेको छ,’ राणाले दाबी गरिन्, ‘यसमा सरकारबाट कुनै अनुगमन भएन । भन्सार र भ्याट तिरे, हामी प्रतिस्पर्धा गर्न तयार छौं । तर सबैलाई कानुनी दायरामा ल्याउनुपर्‍यो ।’ आयातका क्रममा भन्सार बिन्दुमै कडाइ गर्नुपर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माको भनाइ छ । ‘न्यून बीजकीकरण कर छलीको विषय हो । यसमा राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागले कडाइसाथ अनुगमन गर्नुपर्छ । मूल्यांकनको काम भन्सार विभागको हो, भन्सारमा पनि कडाइ गर्नुपर्‍यो,’ महानिर्देशक शर्माले भने, ‘मूल्यका सन्दर्भमा प्रज्ञापन पत्रअनुसार वाणिज्यले हेर्ने हो । हाम्रो जनशक्तिले भ्याएसम्म हामी पनि अनुगमन गर्छौं ।’

समाधान के ?

बजारमा देखिएको समस्या २/३ तरिकाले समाधान गर्न सकिन्छ । पहिलो उपाय आयातित जुत्तामा अनिवार्य एमआरपी राख्नुपर्छ । जुत्ता–चप्पलमा आयातकर्ताको कम्पनी, नाम, ठेगाना, फोन, कोड नम्बरसहित उल्लेख हुँदा राज्यले चाहेका बेला सजिलै अनुगमन गर्न सक्छ । चोरी पैठारी रोक्न जुत्ताको एलसी खोलेर मात्रै आयातको व्यवस्था गर्नुपर्ने सरोकारवाला बताउँछन् । यसले राजस्व छली पनि रोकिन्छ । अर्को प्रभावकारी अनुगमन नै हो । सरकारी निकायबाट निरन्तर अनुगमन आवश्यक छ । भन्सार र सीमा नाकामा कडाइ गरेर निरन्तर अनुगमन भए बजार २/३ महिनामा सुधार हुन सक्ने स्वदेशी जुत्ता उद्योगीहरूको भनाइ छ ।

प्रकाशित : असार १३, २०७९ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×