कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या हजार पुग्यो

एजेन्सी

काबुल — अफगानिस्तानमा बुधबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १ हजार जनाको मृत्यु भएको छ । कम्तीमा १ हजार ५ सय जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या हजार पुग्यो

दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार बुधबार बिहान १.३० बजे भूकम्प गएको हो । भूकम्पको समयमा मानिसहरू सुतिरहेका कारण पनि धेरैको मृत्यु भएको अधिकारीहरूको भनाइ छ । अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार जमिनको सतहभन्दा ५१ किलोमिटर तल ६.१ म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पले पक्तिका प्रान्तमा बढी क्षति पुर्‍याएको छ । त्यहाँ दर्जनौं पहिरोहरू गएका र कच्ची घरहरू भत्किएका छन् ।

सामाजिक सञ्जालहरूमा सार्वजनिक तस्बिरमा सुरक्षाकर्मीले भग्नावशेषमा फसेकाको उद्धार गरिरहेका देखिन्छ । भग्नावशेषबाट निकालिएका घाइतेलाई स्ट्रेचरबाट अस्पताल पुर्‍याएको तस्बिरमा देखिन्छ । दुर्गम क्षेत्रका कतिपय घाइतेलाई भने हेलिकोप्टरबाट अस्पताल पुर्‍याइएको छ ।

पक्तिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हजिफिले भूकम्पका कारण १ हजार जनाले ज्यान गुमाएका र १ हजार ५ सय जनाभन्दा बढी घाइते भएका पुष्टि भइसकेको जनाएका छन् । उद्धार टोलीले भग्नावशेषमा पुरिएकाहरूको खोजी गरिरहेको हजिफिको भनाइ छ ।

‘पक्तिका प्रान्तका ४ जिल्लामा शक्तिशाली भूकम्प महशुस गरिएको छ । भूकम्पका कारण हाम्रा सयौं नागरिकको ज्यान गएको छ भने सयौं घरहरू ध्वस्त भएका छन्,’ तालिवान सरकारका प्रवक्ता बिलाल करिमीले ट्वीटरमा लेखेका छन् ।

तालिवान नेता हिबतुल्लाह अखुन्दजादाले भूकम्पका कारण सयौं घरहरू भत्किएका र मृतकको संख्या बढ्न सक्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि आग्रह गरेका छन् । ‘उक्त क्षेत्रमा थप विपद् आउन नदिन तत्काल उद्धार टोली पठाउन हामी दाताहरूलाई आग्रह गर्छौं,’ उनले भने ।

अफगानिस्तानका लागि यूकेका विशेष प्रतिनिधि निगेल कसेले आफ्नो सरकार संयुक्त राष्ट्रसघसँग सम्पर्कमा रहेको र सहयोगका लागि तयारी अवस्थामा रहेको बताएका छन् । ‘तपार्इं जुन टोलमा जानुहुन्छ, आफन्तहरू गुमाएका स्थानीय शोकमा छन्,’ पक्तिका प्रान्तका एक पत्रकारलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

केन्द्रबिन्दुभन्दा करिब ५ सय किलोमिटर टाढासम्म भूकम्पको झड्का महसुस भएको जनाइएको छ । अफगानिस्तानबाहेक पाकिस्तान र भारतका केही क्षेत्रमा समेत भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको छ । स्थानीयका अनुसार अफगान राजधानी काबुल र पाकिस्तानी राजधानी इस्लामाबादसम्म पनि भूकम्पको धक्का पुगेको थियो । तर ती स्थानमा कुनै क्षति पुगेका समाचार सार्वजनिक भएको छैन ।

भौगोलिक अवस्थितिका आधारमा अफगानिस्तान भूकम्पीय जोखिमयुक्त क्षेत्रमा रहेको मानिन्छ । अफगानिस्तानका ग्रामीण भेगका मानिसले बलियो घर नबनाउने भएकाले सानो भूकम्पले पनि त्यहाँ ठूलो मानवीय क्षति पुर्‍याउने गरेको छ ।

अफगानिस्तानमा प्रत्येक वर्ष भूकम्पका कारण सरदर ५ सय ६० जनाको ज्यान जाने गरेको छ । पछिल्लो एक दशकमा त्यहाँ भूकम्पका कारण ७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

सन् १९९१ को फेब्रुअरी १ मा गएको भूकम्पका कारण अफगानिस्तान र पाकिस्तानमा १ हजार ५ सय जनाको मृत्यु भएको थियो । ६.९ म्याग्निच्युटको भूकम्पको कम्पन उत्तरी भारत र ताजिकिस्तानसम्म महसुस गरिएको थियो ।

त्यस्तै, सन् १९९८ मा पनि अफगानिस्तानमा दुई ठूला भूकम्प गएका थिए । उत्तर–पूर्वी प्रान्त ताखारमा फेब्रुअरी ४ मा गएको भूकम्पले ४ हजार ५ सय जनाको ज्यान लिएको थियो । त्यस्तै, मे ३० मा गएको भूकम्पका कारण ५ हजार जनाको मृत्यु भएको थियो ।

सन् २००२ मार्च ३ मा सामांगन प्रान्तमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १ सय ५० जनाको मुत्यु भएको थियो भने मार्च २५ को भूकम्पमा परी ८ सय जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै, सन् २०१२ को जुन ११ को भूकम्पमा परी ७५ जनाको मृत्यु भएको थियो । २०१५ को अक्टोबर २६ मा अफगानिस्तान–पाकिस्तान सीमासम्म फैलिएको हिन्द कुश क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण अफगानिस्तान र पाकिस्तानमा गरी ३ सय ८० जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित : असार ८, २०७९ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?