कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

‘अग्निपथ’ योजना फिर्ता हुन्न : सेना

नयाँदिल्ली — भारतीय रक्षा मन्त्रालय र सेनाले ‘अग्निपथ’ योजना फिर्ता नहुने प्रस्ट पारेको छ । सेनामा जवानलाई ४ वर्षका लागि भर्ना लिने सरकारी योजना अग्निपथविरुद्ध आन्दोलन चुलिएका बेला रक्षा मन्त्रालय र सेनाले उक्त योजना लामो समयको अध्ययनपछि ल्याइएकाले पुनर्विचार नहुने बताएको हो ।

‘अग्निपथ’ योजना फिर्ता हुन्न : सेना

जुन २४ बाट योजनाअन्तर्गत ‘अग्निवीर’ सैनिक भर्ना प्रक्रिया प्रारम्भ हुने र आगामी डिसेम्बरमा पहिलो ब्याच तयार हुने जनाइएको छ । योजनाको विरोधमा युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बन्दै गएको छ । तर आइतबार रक्षा मन्त्रालय र तीनवटै सेनाका प्रमुखले गरेको संयुक्त पत्रकार सम्मेलनमा ‘अग्निपथ’ योजना आवश्यकता र यसका फाइदाको व्याख्या गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले आइतबार बिहान तीनवटै सेना प्रमुखसँग गरेको छलफलपछि मन्त्रालयले संयुक्त पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा सेनाको परीक्षाको तयारी गराउने कोचिङ सेन्टरले आन्दोलन भड्काएको आरोप लगाइएको छ । हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा मुद्दा खेपिरहेकाले सेनामा भर्ना हुन नपाउनेसमेत जनाइएको छ । पत्रकार सम्मेलनमा सैन्य मामिला विभागका अतिरिक्त सचिव लेफ्टिनेन्ट जनरल अनिल पुरीले ‘अग्निवीर’ बन्न चाहने युवाले आन्दोलन र हिंसामा संलग्न नरहेको प्रमाणपत्र पेस गर्नुपर्ने बताए ।

पुरीले सैन्य संगठनलाई युवा बनाइराख्न अग्निपथ योजना ल्याइएको बताए । उनले सन् १९८९ देखि नै सेनामा उमेर घटाउने योजनामा काम भइरहेको र अहिले क्रमशः अग्निपथ योजनासम्म आइपुगेको जानकारी दिए । सैनिक अधिकारीले अग्निपथ योजना युवाका लागि फाइदाजनक रहेको दाबी गरेका छन् । नियमित सैनिकभन्दा तलबभत्ता र सुविधा बढी दिइएको अधिकारीहरूको दाबी छ । पत्रकार सम्मेलनमा जल, स्थल र वायु सेनाका साथै रक्षा मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।

सैनिक जवानको औसत उमेर ३२ रहेकामा त्यसलाई सन् २०३० सम्ममा २६ वर्षमा झार्ने र सैन्य संगठनलाई पूरा युवाहरूले भरिने तयारी भारतीय सेनाको रहेको बताइएको छ । अग्निवीरका लागि साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवा योग्य हुने जनाइएको छ । तर, आन्दोलनपछि पहिलो वर्षका लागि २३ वर्षसम्मका युवालाई योग्य मानिएको छ । चार वर्षको कार्यकाल मात्रै हुने भएकाले २५ वर्ष पुग्दै गर्दा ‘अग्निवीर’ ले अवकाश पाउने छन् । भर्ना भएका मध्ये २५ प्रतिशतले चार वर्षपछि नियमित सेनामा अवसर पाउनेछन् ।

सेनाले भने अब हुने सबै भर्ना ‘अग्निपथ’ योजनाअन्तर्गत मात्रै हुने बताएको छ । यसअघि परीक्षा दिएर रिजल्ट वा माथिल्लो परीक्षाको प्रतीक्षामा रहेकाहरूले पनि नयाँ प्रक्रियामा आउनुपर्ने सेनाको भनाइ छ । तीनवटै सेनाले आफ्नो साझा पत्रकार सम्मेलनमा आन्दोलनमा लागेर समय बर्बाद नगरी तयारीमा लाग्न युवाहरूलाई आग्रह गरेका छन् ।

‘सेना भनेको देशको रक्षाको कुरा हो, त्यसका लागि जोसले भरिएको युवा जनशक्ति चाहिन्छ,’ जर्नेल पुरीले भने, ‘त्यसका लागि सेनामा युवाहरूको संख्या बढाउनु नै अग्निपथ योजना हो ।’ अग्निवीरले चार वर्षको अवधिमा प्रत्येक वर्ष ३० दिनको छुट्टीसँगै बिरामी बिदा दिइने, मासिक ३० हजारका दरले दिइने तलब प्रत्येक वर्ष वृद्धि हुने र विभिन्न भत्ताको व्यवस्था गरिएको छ । चार वर्षपछि अवकाशका समयमा ११ लाख रुपैयाँलगायतका सुविधा पाउने छन् । सेवामा रहँदा ज्यान गुमाउने सैनिकका परिवारले बिमा गरिएको एक करोड रुपैयाँ पाउने छन् ।

यसैबीच, युवाहरूको आन्दोलनलाई समर्थन गर्दै विपक्षी कंग्रेस पार्टीले दिल्लीको जन्तरमन्तरमा धर्ना दिएको छ । कंग्रेसले चार वर्षपछि युवाहरूको भविष्य असुरक्षित पार्न नहुने भन्दै अग्निपथ योजना फिर्ता लिनुपर्ने माग गरेको छ ।


प्रकाशित : असार ५, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?