कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रुसले युद्ध अपराध गर्‍यो : एम्नेस्टी

एजेन्सी

लन्डन — मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले युक्रेन आक्रमणका क्रममा रुसी फौजले युद्ध अपराध गरेको आरोप लगाएको छ ।
एम्नेस्टीले सोमबार सार्वजनिक गरेको ४० पृष्ठको प्रतिवेदनमा युक्रेनको उत्तर–पूर्वी सहर खर्किभमा अन्धाधुन्ध आक्रमण गरेको र सयौं सर्वसाधारणलाई घाइते पारेको उल्लेख छ ।

रुसले युद्ध अपराध गर्‍यो : एम्नेस्टी

प्रतिवेदन तयार पार्ने क्रममा १४ दिन अनुसन्धान गरेको एम्नेस्टीले जनाएको छ । युक्रेनमाथि आक्रमण थालेसँगै खर्किभ सहर रुसीमा सेनाको प्रमुख निसानामा परेको हो ।

अधिकारीहरूका अनुसार खर्किभ सहरमा रुसी सेनाले गरेको आक्रमणमा ६ सय ६ सर्वसाधारणको ज्यान गइसकेको छ । ६ लाख विस्थापित भएका जनाइएको छ । युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको हो ।

रुसी सेनाले आक्रमण थालेयता १५ हजार युद्ध अपराधका घटना भएका युक्रेनको दाबी छ । यसअघि युक्रेनकी प्रमुख अभियोजनकर्ता एरिना भेनेदिक्तोभाले पछिल्ला दिनहरूमा दैनिक कम्तीमा दुई सयवटा युद्ध अपराधका घटना रिपोर्ट हुने गरेका जनाएकी छन् । युद्ध अपराधमा संलग्न करिब ६ सय जनाको पहिचान भइसकेको र करिब सयवटा मुद्दा सुरु गरिएको जनाइएको छ । युद्ध अपराधमा संलग्नको सूचीमा उच्च सैनिक अधिकारी, राजनीतिज्ञ र प्रचारप्रसार गर्ने एजेन्टहरू रहेका उनको भनाइ छ । युक्रेनी अधिकारीका अनुसार युद्ध अपराधका घटनामध्ये अधिकांश डोन्बास क्षेत्रसँग सम्बन्धित छन् ।

रुसले भने आफ्ना सैनिकहरूले सर्वसाधारणलाई निसाना नबनाएको दाबी गर्दै आएको छ । यसअघि युक्रेनी अदालतले एक रुसी सैनिकलाई युद्ध अपराधमा दोषी ठहर गर्दै आजीवान कारावासको सजाय सुनाएको थियो । ट्यांक कमान्डर भादिम सिसिमारिनले ६२ वर्षीय ओलेक्सान्डर सेलिपोभलाई गोली हानी हत्या गरेको अदालतले ठहर गरेको हो । युक्रेनको किभस्थित अदालतमा सुनुवाइका क्रममा सिसिमारिनले आफूले युद्ध अपराध गरेको स्वीकार गरेका जनाइएको थियो । सिसिमारिनले घरनजिकैको सडकमा साइकल डोर्‍याएर हिँडिरहेका सेलिपोभलाई मेसिन गनबाट गोली हानेका युक्रेनी अभियोजनकर्ताहरूले जनाएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×