कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

६९ लाख युक्रेनीले देश छाडे

४८ लाखद्वारा शरणार्थीका लागि आवेदन, ८० लाख देशभित्रै विस्थापित
पवन घिमिरे

जेनेभा/किभ — रुसले आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनीले देश छाडेका छन् । तीमध्ये ४८ लाख जनाले शरणार्थीका लागि विभिन्न देशमा निवेदन दिएका जनाइएको छ । राष्ट्रसंघका अनुसार रुसले गत फेब्रुअरीमा आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनी छिमेकी देशहरूमा पुगेका थिए ।

६९ लाख युक्रेनीले देश छाडे

तीमध्ये २१ लाख स्वदेश फर्केका राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर) ले जनाएको छ । ८० लाख युक्रेनी देशभित्रै विस्थापित भएका हुन् ।

रुस–युक्रेन युद्धका कारण युरोपमा हालसम्मकै ठूलो शरणार्थी समस्या उत्पन्न भएको राष्ट्रसंघले जनाएको छ । ‘युक्रेन युद्धले विश्वकै सबैभन्दा ठूलो मानव विस्थापन संकट निम्त्याएको छ,’ यूएनएचसीआरले भनेको छ । तर पछिल्ला दिनमा रुसी फौजले युक्रेनी राजधानी किभलगायत प्रमुख सहरहरूमा आक्रमण रोकेपछि स्वदेश फर्कनेको संख्या बढेको हो ।

युक्रेनबाट अन्य देश पुगेकामध्ये ९० प्रतिशत महिला र बालबालिका छन् । १८ देखि ६० वर्ष उमेर समूहका पुरुषहरूलाई सैनिक सेवाका लागि आग्रह गरिएका कारण देशभित्र रहेका रहेका यूएनएचसीआरले जनाएको छ ।

युक्रेनबाट विस्थापित भएकामध्ये सबैभन्दा बढी छिमेकी देश पोल्यान्ड पुगेका छन् । राष्ट्रसंघका अनुसार विस्थापितमध्ये ३६ लाख ९० हजार ९६ जना पोल्यान्डमा शरणार्थीका रूपमा रहेका छन् । त्यहाँबाट १५ लाख १२ हजार १९२ जना स्वदेश फर्केका छन् ।

त्यस्तै, ५ लाख ८७ हजार २१९ जना रोमानियामा छन् भने २ लाख ८३ हजार ४७५ जना फर्किसकेका छन् । रुसमा ९ लाख ४५ हजार ७ र हंगेरीमा ६ लाख ५४ हजार ६६४ जना शरणार्थीका रूपमा छन् । मोल्दोभाले ४ लाख ८३ हजार ३०६ जनालाई आश्रय दिएको छ । १ लाख १० हजार ३१३ जना फर्केका छन् ।

अन्य विस्थापितहरू स्लोभाकिया र बेलारुस पुगेका छन् । स्लोभाकियाबाट १ लाख ९६ हजार ६७ जना युक्रेन फर्के पनि ४ लाख ६६ हजार २६४ जनाले आश्रय लिएका छन् । १६ हजार ६४८ जना बेलारुसमा शरणार्थीका रूपमा रहेका राष्ट्रसंघले जनाएको छ ।

युद्ध चर्कंदै गएपछि पोल्यान्ड, हंगेरी र स्लोभाकियाले युरोपेली संघअन्तर्गतका देशका लागि सीमा खुला गरिदिएका थिए । जसका कारण पहिलोपटक ती देश पुगेका कतिपय शरणार्थी अन्य देश पुगेका थिए । संघले युक्रेनबाट विस्थापितलाई ३ वर्षसम्म सदस्य राष्ट्रमा बस्न र काम गर्न पाउने अधिकार दिएको छ । कम्तीमा ७ लाख ८० हजार युक्रेनी जर्मनी पुगेका जनाइएको छ । त्यहाँ पुगेकामध्ये ४० प्रतिशत बालबालिका छन् ।

त्यस्तै, चेक गणतन्त्रमा ३ लाख ६१ हजार ५६० र स्पेनमा १ लाख १८ युक्रेनीले शरणार्थीका रूपमा आवेदन दिएका छन् । युक्रेनका लुहान्स्क र दोनेत्स्क क्षेत्रबाट विस्थापित कतिपय भने रुस पुगेका जनाइएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सेनाले १ लाख ४० हजार युक्रेनीलाई मरिउपल सहरबाट अन्यत्र जान सहयोग गरेको जनाएका थिए । तर तीमध्ये कसैलाई पनि रुस जान दबाब नदिइएको पुटिनको दाबी छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार युक्रेनभित्र विस्थापित हुनेको संख्या करिब ८० लाख छ । तीमध्ये खर्किभ क्षेत्रबाट २३ प्रतिशत, किभबाट २० प्रतिशत र दोनेत्स्क क्षेत्रबाट १७ प्रतिशत विस्थापित भएका हुन् । विस्थापित भएकामध्ये २७ प्रतिशतले आफूमाथि आक्रमण भएको वा घाइते भएका कारण घर छाडेका आईओएमले जनाएको छ ।

युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको हो । त्यसयता कम्तीमा ४ हजार २५३ सर्वसाधारणको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ । ५ हजार १ सय ४१ जना घाइते भइसकेका छन् । त्यस्तै, युद्धका क्रममा दुवै पक्षका हजारौं सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?