कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘विश्वभर खाद्य संकट जोखिम बढ्यो’

एजेन्सी

जेनेभा — रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकटको जोखिम बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । युद्धले रुस र युक्रेनी अर्थतन्त्र तहसनहस हुनुका साथै ९४ देशका १ अर्ब ६० करोड मानिसले खाद्य संकट झेल्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ । 

‘विश्वभर खाद्य संकट जोखिम बढ्यो’

लम्बिँदै गएको युद्धका कारण ती देश वित्तीय, खाद्यान्न वा ऊर्जा संकटको अवस्था उत्पन्न भएको ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले यी तीनवटै क्षेत्र थप जोखिममा पर्दै गएका जनाइएको छ ।

खाद्यान्न र इन्धनको निरन्तर रूपमा बढिरहेको भाउलाई स्थिर राख्न, सामाजिक सुरक्षा प्रणाली लागू गर्न र विकासोन्मुख देशलाई आर्थिक सहयोग बढाउन प्रतिवेदनमा आह्वान गरिएको छ । आगामी वर्ष खाद्यान्न संकट रोक्न र त्यसमा पहुँच र उपलब्धता बढाउन ठोस काम गर्नुपर्नेमा समेत प्रतिवेदनमा जोड दिइएको छ ।

‘यदि युद्ध लम्बिँदै गयो, अनाज र मलको उच्च मूल्य निरन्तर रह्यो भने मकै, गहुँ र सागसब्जीलगायत खाद्यान्नको उपलब्धता घट्ने तथा ऊर्जा संकट थपिने भएकाले अर्बौं मानिसहरू नराम्ररी प्रभावित हुने निश्चित छ,’ प्रतिवेदनमा उल्लेख छ । यसैबीच राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा जीवनयापनको संकट उत्पन्न भएको भन्दै सबै पक्षहरू समयमै समस्या समाधानका लागि जुट्नुपर्ने बताएका छन् । युद्धको प्रभावबाट कुनै पनि देश उम्कन नसक्ने उनको चेतावनी छ ।

खाद्य सुरक्षा, ऊर्जा र वित्त पोषणमा द्वन्द्वको प्रभाव घटाउन तथा आफ्ना नागरिकहरूको जीवन र जीविकोपार्जन जोगाउन सबै देशहरूले प्रभावकारी कदम चाल्नुपर्नेमा उनको जोड छ । ‘खाद्य सुरक्षा, ऊर्जा र वित्तीय क्षेत्रमा युद्धको प्रभाव प्रणालीगत, गम्भीर र तीव्र छ,’ उनले भने । पश्चिमा देशहरूले लगाएका प्रतिबन्ध र निर्यातमा आएको गिरावटका कारण रुसी अर्थतन्त्र यो वर्ष १५ प्रतिशत र आगामी वर्ष थप ३ प्रतिशतले संकुचित हुने विज्ञहरूको अनुमान छ ।

प्रकाशित : जेष्ठ २७, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×