कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा १५३ पेसामा कामदार अभाव

भिक्टोरिया र न्यु साउथ वेल्स राज्यले सहयोगका लागि केन्द्र सरकार गुहारे
नारायण खड्का

अस्ट्रेलिया — कोरोनाको महामारीका कारण अस्ट्रेलियामा देखिएको कामदार अभाव पछिल्लो समय झन् बढेको छ । अस्ट्रेलियाभर हाल विभिन्न १ सय ५३ पेसामा कामदार अभाव रहेको जनाइएको छ ।

अस्ट्रेलियामा १५३ पेसामा कामदार अभाव

दुई वर्षअघि कोरोना महामारी सुरु भएसँगै गरिएको लकडाउनका कारण अस्ट्रेलियाका अधिकांश क्षेत्रमा कामदारको समस्या भएको थियो । सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेपछि बर्सेनि लाखौंको संख्यामा आउने अन्तर्राष्ट्रिय विद्यार्थी तथा दक्ष कामदार आउन नपाएका कारण अभाव झन् चर्केको थियो । तर पछिल्लो समय सीमा खुला गरेको सरकारले वर्किङ होलिडे भिसालगायतका विभिन्न कार्यक्रम पनि कार्यान्वयमा ल्याएको छ । तर कामदार अभाव भने उस्तै छ ।

सरकारको पछिल्लो तथ्यांकअनुसार ६ राज्य तथा २ टेरिटोरीमा नै विभिन्न पेसामा कामदारको अभाव छ । तीमध्ये दुर्गम क्षेत्रमा अभाव अझै बढी छ । समग्र अस्ट्रेलियामा १ सय ५३ पेसागत क्षेत्रमा कामदार अभाव भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेसनल स्किल कमिसनको तथ्यांकअनुसार अस्ट्रेलियाका अधिकांश राज्य तथा टेरिटोरीका दुर्गम क्षेत्रमा कामदार अभाव चर्को देखिएको छ । जनसंख्याको हिसाबले ठूला न्यु साउथ वेल्स र भिक्टोरियामा २ सय ४३ र भिक्टोरियामा मात्रै १ सय ६५ पेसामा कामदार अपुग छ । कामदारको समस्या बढेसँगै दुई ठूला राज्य भिक्टोरिया र न्यु साउथ वेल्सका प्रमुखले केन्द्र सरकारसँग मिलेर समस्या समाधान गर्न पहल सुरु गरेका छन् । न्यु साउथ वेल्स राज्यका प्रिमियर डोमिनिक पेरोटेटले १८ महिनासम्म दक्ष कामदारले भिसा पाउनका लागि पर्खन पर्ने अवस्था रहेको जनाउँदै दुवै राज्यले अझै लामो समयसम्म कामदार अभाव झेल्नुपर्ने बताए । भिक्टोरिया तथा न्यु साउथ वेल्समा शिक्षा, स्वास्थ्य तथा निर्माणलगायत क्षेत्रमा कामदारको ठूलो अभाव छ । पेरोटेटले आफूले प्रधानमन्त्री एन्थोनी अल्बानिजीसँग कामदार अभाव पूर्ति गर्ने विषयमा छलफल गरेको र त्यसमा भिक्टोरियाका प्रिमियर ड्यानिल एन्ड्रुज पनि सहमत रहेको बताएका छन् ।

त्यस्तै, अस्ट्रेलियाको उद्योग समूहले पनि सरकारलाई स्थायी दक्ष आप्रवासीको तहलाई आगामी दुई बर्षका लागि बढाउन अनुरोध गरिसकेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिजनेस काउन्सिलले स्थायी आप्रवासको संख्या आगामी आर्थिक वर्षका लागि २ लाख २० हजार पुर्‍याउन सरकालाई गत महिना नै सुझाव दिएको थियो । जसमा १ लाख ५४ हजार दक्ष कामदारको संख्या तोकिनुपर्ने माग काउन्सिलको छ । अस्ट्रेलियाको गृह मन्त्रालयका अनुसार सन् २०२२/२३ मा आप्रवासी कार्यक्रमअन्तर्गत १ लाख ६० हजार जना भित्र्याउने जनाइएको छ । त्यसमध्ये १ लाख ९ हजार ९ सय जनालाई जनशक्ति अभाव कम गर्न ल्याइने र अन्य पारिवारिक भिसा कार्यक्रमअन्तर्गत भित्र्याइने जनाइएको छ ।

अस्ट्रेलियामा हालको बेरोजगार दर ३.९ प्रतिशत छ । जुन सन् १९७४ यताकै सबैभन्दा कम हो । बेरोजगार दर अत्यन्तै कम भए पनि स्वास्थ्यलगायतका क्षेत्रमा सबैजसो राज्यमा जनशक्ति अभाव छ । बिरामीको संख्या बढी भएकाले सेवा दिन निकै गाह्रो भएको भन्दै केही महिनाअघि अस्ट्रेलियका नर्सहरूले आन्दोलन चर्काएका थिए ।

अस्ट्रेलियाले केही महिनाअघि भारतसँग वार्षिक एक हजार कामदारलाई वर्किङ होलिडे भिसा दिने सहमति गरिसकेको छ । सन् २०२४ देखि सुरु हुने भनिएको कार्यक्रम अन्तर्गत १८ वर्षदेखि ३० वर्षसम्मका भारतीय नागरिकले अधिकतम एक वर्षसम्मका लागि वर्किङ होलिडे भिसा पाउनेछन् ।

नेपाल सरकारले पनि कूटनीतिक पहल गरेको खण्डमा यस्ता कार्यक्रममा सहभागी हुन सक्ने सम्भावना रहेको अध्यागमन क्षेत्रका जानकारहरूको भनाइ छ । तर लामो समयसम्म राजदूत पद खाली रहने तथा कूटनीतिक पहल नभएकाले नेपाल अस्ट्रेलियाको प्राथमिकतामा पर्न सकेको छैन ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?