कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुस-युक्रेन युद्धपछि पहिलो पटक मोदी र बाइडेन भेट्दै

आगामी साता जापानमा ‘क्वाड’को तेस्रो शिखर सम्मेलन
राजेश मिश्र

नयाँ दिल्ली — गत फरवरीमा रुसले युक्रेनमाथि आक्रमण गरेयता रुसलाई हेर्ने दृष्टिकोणमा अमेरिका र भारतको मतभिन्नता कायम रहेकै बेला दुई देशका राजनीतिक नेतृत्व आगामी साता भेट्दैछन् । 

रुस-युक्रेन युद्धपछि पहिलो पटक मोदी र बाइडेन भेट्दै

युक्रेनमाथिको आक्रमणपछि अमेरिकासहितको पश्चिमा र अन्य धेरै राष्ट्रहरूले रुसमाथि अनेकौं प्रतिबन्धहरू लगाए पनि भारतले भने खुलेर रुसको विरोध गरेको छैन । भारतले रुसमाथि कुनै खालको प्रतिबन्ध नलगाउनुका साथै, युद्धको अवधिमा पनि रुससँगको आफ्नो व्यापारलाई निरन्तरता दिएको छ । भारतको यस्तो खालको रणनीतिप्रति अमेरिका रुष्ट रहँदै आएको छ । यिनै पृष्टभूमिमा मे २४ मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग जापानमा हुने ‘क्वाड’शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट हुँदैछ ।

आइतबार साँझ जापान प्रस्थान गर्नुपूर्व प्रधानमन्त्री मोदीद्वारा जारी विज्ञप्तीमा अमेरिकी राष्ट्रपति बाइडेनसँगको भेटमा द्विपक्षीय सम्बन्धका विषयहरूसँगै क्षेत्रीय र वैश्विक विषयहरूमा छलफल हुने उल्लेख गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले मोदीको जापान भ्रमणबारे जानकारी दिन गरेको विशेष पत्रकार सम्मेलनमा विदेशसचिव विनयमोहन क्वात्राले क्वाडशिखर सम्मेलनमा अमेरिका, जापान र अस्ट्रेलियाका सरकार प्रमुखहरूसँग मोदीको भेटघाट हुने बताए । ‘सम्मेलनमा हुने छलफलबाहेक नेताहरूबीच द्विपक्षीय भेटवार्ता पनि तय भएको छ,’ उनले भने‚ ‘त्यस अवसरमा आपसी हित र सम्बन्धका विभिन्न विषयहरूमाथि चर्चा हुनेछ ।’ क्वाडमा रहेका भारत बाहेकका बाँकी तीन राष्ट्रले रुस-युक्रेन युद्धमा रुसको रवैयाको विरोध गर्दै रुसमाथि कयौं प्रतिबन्ध लगाएको छ । ‘क्वाड’शिखर सम्मेलनमा भारतमाथि त्यसका लागि दबाब बढ्न सक्ने सम्भावनासमेत रहेको छ ।

रुस-युक्रेन युद्धमा भारतले ‘न्युट्रल’विदेश नीति अपनाएको छ । संयुक्त राष्ट्र संघमा रुसविरुद्ध भएका मतदानहरूबाट भारतले आफूलाई अलग राख्दै आएको छ ।

व्यापारलाई निरन्तरता दिएर भारत रुसको भरपर्दो मित्रका रुपमा देखिन चाहन्छ । त्यसलाई अमेरिकाले भने रुचाएको छैन । भारतीय विदेश मन्त्रालयले भारतले अपनाएको नीतिलाई अमेरिकासहितका देशले कदर गरेको बताउँदै आएको छ; विदेश सचिव क्वात्राले शनिबार त्यस्तै दाबी दोहर्‍याएका छन् ।

‘क्वाड’को एजेन्डाभित्र रुस-युक्रेन युद्धको विषय त पर्दैन । ‘स्वभाविक रुपमा नेताहरूबीच द्विपक्षीय विषयमा मात्रै चर्चा सीमित हुने छैन । विश्वका विभिन्न घटनाक्रम र क्षेत्रीय मुद्दाहरूमाथि छलफल हुने नै छ,’ के क्वाडमा रुस-युक्रेन युद्धबारे छलफल हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा क्वात्राले भने । उनले रुस-युक्रेन युद्धका सन्दर्भमा भारतले आफ्नो हितलाई हेर्दै लिएको सैद्धान्तिक नीतिबारे पूरै विश्व र भारतका प्रमुख साझेदार देशहरू जानकार रहेको बताए । ‘यथाशीघ्र युद्धविराम र कुटनीतिक वार्ताद्वारा समस्याको समाधान गर्नेतर्फ भारत अडिग छ,’ उनले भने‚ ‘भारतले लिएको यो नीतिप्रति अन्य देशले पनि समझदारी र कदर गरेका छन् ।’

पछिल्ला दशकमा भारत अमेरिकासँग आफ्नो सम्बन्ध सुदृढ गर्ने दिशामा छ । अर्कोतिर पुरानो र परम्परागत मित्र रुसलाई पनि टाढा राख्न चाहेको देखिँदैन । त्यस परिस्थितिमा जापानमा बाइडेनसँग हुने मोदीको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ । त्यहाँ क्वाडको चासो बाहेक रुस-युक्रेनको लडाइँको समेत चर्चा हुने निश्चित छ ।

चीनमाथि दबाब बढाउने खालको संगठनका रुपमा ‘क्वाड’लाई चिनिन्छ । यसमा अमेरिका, अस्ट्रेलिया, भारत र जापान सहभागी हुने छन् । हिन्द महासागरमा चीनको दबदबालाई कम गर्ने र लोकतान्त्रिक देशबीच सुरक्षा, अर्थव्यवस्था र स्वास्थ्यजस्तो कयौं मुद्दामा क्वाडका देशहरूले सहकार्यको थलानी गरेका छन् । चीनमाथि दबाब बढाउन ‘क्वाड’जस्तो संस्थाको साथ खोजिरहेको भारत रुसको हकमा भने अमेरिकाभन्दाअलग चीनसँग मिल्दोजुल्दो विदेश नीति अपनाइरहेको छ ।

चीनले भारतीय सीमामा दबाब बढाउँदै लगेको र पेंग्गोङ लेकको सीमावर्ती क्षेत्रमा चीनले अर्को पुल बनाइरहेको विषय बाहिर आएको परिस्थितिमा भारतलाई पनि अमेरिकासहित अन्य देशको साथ आवश्यक छ । चीनद्वारा पुल निर्माण गरिएको क्षेत्र भारतको भूमि रहेको र त्यहाँ गैरकानुनी ढंगले चीनले काम गरिरहेको भारतीय विदेश मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।

चीनले भारतीय सीमा क्षेत्रमा गरिरहेको कामका विषयमा पनि ‘क्वाड’मा छलफल हुन सक्ने क्वात्राले संकेत गरे । उनले इन्डो प्यासिफिक क्षेत्रमा देखिएको हरेक चुनौती र अवसरका विषयमा यथोचित र यथासम्भव तरिकाले नेताहरूबीच छलफल हुने उल्लेख गरे ।

टोकियोमा हुने क्वाडको तेस्रो सम्मेलनमा मोदी र बाइडेनबाहेक जापानका प्रधानमन्त्री फुमियो किसिदा र अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी एल्वेन्स सहभागी हुने छन् ।

प्रकाशित : जेष्ठ ९, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?