कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युक्रेनी विद्यालयमा रुसी आक्रमण

६० जना मारिएको आशंका
मरिउपोलको कारखानामा फसेका सर्वसाधारणको उद्धार
एजेन्सी

किभ/लुहान्स्क — पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र पारेको रुसले डन्बास क्षेत्रको एक विद्यालयमा बम आक्रमण गरेको छ ।

युक्रेनी विद्यालयमा रुसी आक्रमण

आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको हुन सक्ने युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् । लुहान्स्कस्थित एक विद्यालयमा ९० जनाले आश्रय लिइरहेका थिए । लुहान्स्क क्षेत्रीय सैनिक प्रशासन प्रमुख सर्हिई हेइडेले २ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार उद्धार गरिएका ३० जनामध्ये ७ घाइते छन् ।

‘भवनका भग्नावशेषमा पुरिएका ६० जनाको मृत्यु भएको जस्तो देखिन्छ,’ सीएनएनसँग उनले भने । रुसी आक्रमणमा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएको उनले जनाएका छन् । उनले लुहान्स्कका विभिन्न स्थानमा युक्रेन र रुसी फौजबीच भिडन्त जारी रहेका बताएका छन् । रुसी फौजको घेराबन्दीमा रहेको मरिउपोल सहरस्थित एजोभस्टल स्टिल कारखानाबाट महिला तथा बालबालिकासहित सबैलाई उद्धार गरिएको छ । कारखानामा फसेका गैरसैनिकको उद्धारका लागि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रसले एक सातादेखि समन्वयको प्रयास गर्दै आएका थिए ।

रुस तथा युक्रेनी अधिकारीले गैरसैनिकको उद्धार गरिएको पुष्टि गरेका भए पनि ती संस्थाहरूले भने केही उल्लेख गरेका छैनन् । उद्धार गरिएकाहरूलाई त्यहाँबाट कता लगियो भन्नेबारे केही उल्लेख नगरिएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार पछिल्लो समय स्टिल कारखानामा रुसी फौजले बमबारी गरिरहेको छ । कारखानामा रहेका एजोभ बटालियनमा रहेका युक्रेनी लडाकुलाई आत्मसमर्पणका लागि रुसले आग्रह गर्दै आएको छ । तर उनीहरूले आत्मसमर्पण नगर्ने बताइरहेका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एजोभस्टलबाट ३ सयभन्दा बढी सर्वसाधारणको उद्धार गरिएको जनाएका छन् । त्यहाँ रहेका सेनालाई पनि बाहिर ल्याउनका लागि कूटनीतिक प्रयास भइरहेको जेलेन्स्कीको भनाइ छ । एजोभस्टलभित्र करिब २ हजार युक्रेनी लडाकु रहेका छन् । तीमध्ये ५ सय जना घाइते अवस्थामा रहेको जनाइएको छ ।

रुसले मरिउपोलमा विजयोत्सव कार्यक्रम नगर्ने जनाएको छ । दोस्रो विश्व युद्धमा सोभियत संघले विजय हासिल गरेको स्मरणमा हरेक वर्ष मे ९ मा विजयी उत्सव मनाउने गरिन्छ । ‘एउटा समय आउनेछ र त्यहाँ हामी विशाल उत्सव मनाउने छौं,’ रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भने ।

पछिल्लो समय खर्किभ क्षेत्रमा सघन लडाइँ जारी रहेको जनाइएको छ । युक्रेनी फौजले खर्किभ क्षेत्र रुसी फौजको नियन्त्रणबाट फिर्ता लिन संघर्ष गरिरहेका बीबीसीले उल्लेख गरेको छ । रुसी सेनाले पूर्वी क्षेत्रमा युक्रेनी फौजको पहुँच रोक्न शनिबार केही पुलहरू ध्वस्त पारेको थियो । यसैबीच, बेलायतले युक्रेनका लागि १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायता घोषणा गरेको छ । बेलायती अर्थमन्त्री ऋषि सुनाकले किभका लागि उक्त रकम बराबरको अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जनाएका हुन् ।

द सन्डे टाइम्सका अनुसार उक्त रकम आपत्कालीन कोषबाट व्यवस्था गरिने भएको हो । बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको द सन्डे टाइम्सले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×