कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुसद्वारा युक्रेनको खर्किभमा फेरि आक्रमण

रुससँग शान्ति सम्झौता गर्न रुसी सेना आक्रमणअघिको स्थितिमा फर्किनुपर्ने युक्रेनी राष्ट्रपतिको भनाइ
एजेन्सी

किभ/खर्किभ — रुसी सेनाले युक्रेनको खर्किभ सहरमा पुन: आक्रमण सुरु गरेको छ । पछिल्लो २४ घण्टामा रुसी फौजले खर्किभ क्षेत्रमा आक्रमण तीव्र पारेको र कम्तीमा ५ वटा गाउँ नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

रुसद्वारा युक्रेनको खर्किभमा फेरि आक्रमण

पछिल्लो समय रुसी सेनाले पूर्वी क्षेत्रमा युक्रेनी फौजको पहुँच रोक्नका लागि पुलहरू ध्वस्त पारेका जनाइएको छ । युक्रेनी सेनाले खर्किभका उत्तर र पूर्वी क्षेत्रका केही स्थानहरू रुसी सेनाको हातबाट पुन: नियन्त्रणमा लिएपछि बाटो बन्द गर्नका लागि पुलहरू भत्काइएको हो ।

त्यस्तै, पछिल्लो समय रुसले मरिउपोल सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिन संघर्ष गरिरहेको छ । मरिउपोलस्थित एउटा स्टिल कारखानामा फसेका ११ बालबालिका र महिलासहित ५० जनालाई बाहिर निकालिएको छ । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा मरिउपोलको अजोभस्टल स्टिल कारखानाबाट उनीहरूको उद्धार गरिएको हो ।

कारखानामा अझै करिब १ सय ५० जनाले आश्रय लिइरहेका युक्रेनी अधिकारीको भनाइ छ । रुसले बिहीबारदेखि तीन दिनका लागि उक्त क्षेत्रमा दिउसोको समयमा युद्धविराम घोषणा गरेको थियो । त्यस्तै करिब ५ सय युक्रेनी घाइते सैनिक पनि कारखानामा रहेका जनाइएको छ ।

मरिउपोल सहरमाथिको नियन्त्रण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि मे ९ मा मनाउने विजय दिवसका लागि विशेष उपलब्धि हुनेछ । दोस्रो विश्वयुद्धका क्रममा मे ९ मा सोभियत संघले नाजीहरूविरुद्ध विजय हासिल गरेको थियो । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने उक्त दिन जर्मन चान्सलर ओलाफ स्कोल्जलाई युक्रेन भ्रमणको निम्तो दिएको जनाएका छन् ।

यसैबीच, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँग शान्ति सम्झौताका लागि रुसी सेना आक्रमणअघिको स्थितिमा फर्किनुपर्ने बताएका छन् । ‘रुस र युक्रेनबीचको युद्ध रोक्न फेब्रुअरी २३ को अवस्थामा फर्कनुपर्छ,’ बेलायती विशेषज्ञहरूसँगको कुराकानीमा जेलेन्स्कीले भने ।

उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले युक्रेनमाथि फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको हो । तर सन् २०१४ मा रुसले नियन्त्रणमा लिएको क्राइमियाबारे भने जेलेन्स्कीले केही नबोलेका बताइएको छ ।

युक्रेनमा आक्रमण गरेपछि कब्जा गरेको भूभागमाथि रुसले नियन्त्रण कायम राखिरहन नसक्ने उनको दाबी छ ।

आफूले सानो युक्रेनको नभई युक्रेनको नेतृत्व गरिरहेको जेलेन्स्कीको भनाइ छ । ‘म युक्रेनका जनताद्वारा राष्ट्रपतिको रूपमा निर्वाचित भएको हुँ, कुनै किसिमको सानो युक्रेनको राष्ट्रपति होइन,’ उनले भने । रुसले भने शान्ति सम्झौताको प्रक्रिया स्थिरताको अवस्थामा रहेको जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?