‘भारतमा कोरोनाले ज्यान गुमाउने ४७ लाख’

विश्वभर ज्यान गुमाउनेहरुको संख्या १ करोड ५० लाख रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन
एजेन्सीहरू

जेनेभा/नयाँदिल्ली — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या करिब ४७ लाख रहेको जनाएको छ ।
यो भारतको सरकारी तथ्यांकभन्दा करिब १० गुणा बढी हो । कोरोना भाइरसको महामारीका कारण देशभर ४ लाख ८१ हजार जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

धेरै देशले कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या निकै कम गणना गरेका संगठनको भनाइ छ । संगठनका अनुसार कोरोनाका कारण विश्वभर करिब १ करोड ५० लाख मानिसको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ । हालसम्मको तथ्यांकमा विश्वभर कोरोनाबाट मृत्यु हुनेहरूको संख्या ५४ लाख मात्रै रहेको उल्लेख छ ।

संगठनको पछिल्लो विवरणअनुसार कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेमध्ये एक तिहाइ संख्या भारतमा रहेको देखिएको छ । भारत सरकारले भने संगठनको प्रतिवेनमा गरिएको आकलनमाथि प्रश्न उठाएको छ ।

मृतकहरूको गणना विधि विश्वसनीय नरहेको भारतीय अधिकारीको दाबी छ । तर अन्य अध्ययनमा पनि भारतमा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या सरकारी तथ्यांकभन्दा बढी रहेको देखिएको छ । संगठनले महामारी सुरु भएपछि ज्यान गुमाउनेको संख्या महामारीअघिको सोही अवधिमा रहेको अन्तरका आधारमा पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो ।

यसअनुसार कोरोनाकै कारण कारण मृत्यु नभएका तर यसका कारण उत्पन्न अन्य समस्याका कारण ज्यान गुमाएकाको संख्या पनि जोडिएको छ । यस्तो संख्यामा कोरोनाका कारण अन्य रोगको उपचार गर्न नपाएर ज्यान गुमाएका लगायतका कारणहरू पर्छन् ।

तर कपितय अवस्थामा तथ्यांक संकलन तथा महामारीको सुरुवातमा परीक्षणमा देखिएको समस्यासमेत उजागर भएको छ । विश्व स्वास्थ्य संगठनले भने विश्वका देशहरूले जनाएको भन्दा थप करिब ९५ लाख जनाको मृत्युका घटना कोरोनाको प्रत्यक्ष असरसँग सम्बन्धित भएको दाबी गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक विभागकी समिरा आस्माले पछिल्लो तथ्यांक ‘निकै दुःखद’ भएको बताएकी छन् । ‘यदि हामीले मृतहरूको संख्या गणना गरेनौं भने हामीले आगामी दिनमा राम्रो तयारी गर्न सक्ने अवसर गुमाउँछौं,’ उनले भनिन् ।

सरकारी विवरणको तुलनामा भारतबाहेक इजिप्ट, पाकिस्तान, इन्डोनेसिया, बंगलादेश, बोलिभिया, सर्बिया, कजखस्तान, फिलिपिन्स, रुसलगायत देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या उच्च छ । संगठनका अनुसार इजिप्टमा ११ गुणा, पाकिस्तानमा ८, इन्डोनेसियामा ७, बंगलादेशमा ५ गुणा बढीले ज्यान गुमाएका देखिएको छ । त्यस्तै, बोलिभिया, सर्बिया, कजखस्तान, फिलिपिन्स, रुसमा ज्यान गुमाउनेको संख्या ३.५ देखि ४.५ गुणा बढी छ ।

प्रतिवेदनमा देशको जनसंख्याअनुसार अतिरिक्त मृत्युदरलाई समेत तुलना गरिएको छ । यूके, अमेरिका, स्पेन, जर्मनीजस्ता देशहरूमा सन् २०२० र २०२१ को अतिरिक्त मृत्युदर विश्वको औसतभन्दा बढी देखिएको जनाइएको छ ।

अतिरिक्त मृत्युदर कम भएका देशहरूको सूचीमा चीन अगाडि छ । शून्य कोरोना रणनीति अख्तियार गरेको चीनले हालसम्म पनि परीक्षण र क्वारेन्टिनको नियममा कडाइका साथ लागू गरिरहेको छ । त्यस्तै, अस्ट्रेलिया, नर्वे र जापान पनि सूचीको अग्र स्थानमा छन् ।

अफ्रिकाका कपितय देशको मृत्युसम्बन्धी तथ्यांक भने उपलब्ध नभएकाले अनुमानित विवरण उल्लेख गरिएको जनाइएको छ । अफ्रिकाका ५४ मध्ये ४१ देशको तथ्यांक भरपर्दो नरहेको प्रतिवेदनमा उल्लेख छ ।

‘हामीलाई राम्रो तथ्यांक संकलन प्रणाली आवश्यक भइसकेको छ,’ संगठनलाई सहयोग गरेका वासिङ्टनस्थित सियाटल विश्वविद्यालयका तथ्यांकशास्त्री जोन वेकफिल्डले भने, ‘मानिसहरू जन्मिन्छन् र मर्छन् तर त्यसको हामीसँग तथ्यांक नहुनु उनीहरूमाथिकै अपमान हो ।’

प्रकाशित : वैशाख २३, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

मरिउपोलका स्थानीयलाई बाहिर जान रोक

एजेन्सी

किभ/मस्को — रुसी फौजले युक्रेनी सहर मरिउपोलका स्थानीयलाई त्यहाँबाट अन्यत्र जान रोकेको युक्रेनका अधिकारीहरूले जनाएका छन् ।

यसअघि रुसले तीन दिनका लागि उक्त सहरमा आक्रमण नगर्ने र सर्वसाधारणलाई अन्यत्र जान दिइने जनाएको थियो । तर रुसी फौजले बिहीबार मरिउपोलस्थित एजोभस्टल स्टिल कारखानामा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूको दाबी छ । रुसी अधिकारीले भने कारखाना क्षेत्रमा आफ्नो सेनाले आक्रमण नगरेको र स्थानीयलाई त्यहाँबाट अन्यत्र जान दिइएको बताएका छन् । कारखानामा बालबालिकासहित करिब २ सय सर्वसाधारण रहेका जनाइएको छ ।

त्यस्तै, करिब ५ सय युक्रेनी घाइते सैनिकले समेत त्यहाँ आश्रय लिइरहेका जनाइएको छ । यसअघि त्यहाँबाट करिब १ सय ५० जनाको उद्धार गरिएको थियो । कारखानाभित्र रहेका युक्रेनी कमान्डरहरू भने रुसी फौजले आक्रमण जारी राखेको र आफूहरूले कठिन लडाइँ लडिरहेको बताएका छन् । कतिपय सञ्चारमाध्यमहरूले कारखाना परिसरमा रुसी फौज प्रवेश गरेको दाबी गरेका छन् । यद्यपि, त्यसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसंघलाई अपिल गरेका छन् । ‘हाम्रा लागि सबै नागरिकको ज्यान उत्तिकै महत्त्वपूर्ण छ । उनीहरूलाई जोगाउन हामी मद्दत माग्छौं,’ राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेससँगको टेलिफोन कुराकानीमा जेलेन्स्कीले भने ।

प्रकाशित : वैशाख २३, २०७९ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×