कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मरिउपोलका स्थानीयलाई बाहिर जान रोक

एजेन्सी

किभ/मस्को — रुसी फौजले युक्रेनी सहर मरिउपोलका स्थानीयलाई त्यहाँबाट अन्यत्र जान रोकेको युक्रेनका अधिकारीहरूले जनाएका छन् ।

मरिउपोलका स्थानीयलाई बाहिर जान रोक

यसअघि रुसले तीन दिनका लागि उक्त सहरमा आक्रमण नगर्ने र सर्वसाधारणलाई अन्यत्र जान दिइने जनाएको थियो । तर रुसी फौजले बिहीबार मरिउपोलस्थित एजोभस्टल स्टिल कारखानामा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूको दाबी छ । रुसी अधिकारीले भने कारखाना क्षेत्रमा आफ्नो सेनाले आक्रमण नगरेको र स्थानीयलाई त्यहाँबाट अन्यत्र जान दिइएको बताएका छन् । कारखानामा बालबालिकासहित करिब २ सय सर्वसाधारण रहेका जनाइएको छ ।

त्यस्तै, करिब ५ सय युक्रेनी घाइते सैनिकले समेत त्यहाँ आश्रय लिइरहेका जनाइएको छ । यसअघि त्यहाँबाट करिब १ सय ५० जनाको उद्धार गरिएको थियो । कारखानाभित्र रहेका युक्रेनी कमान्डरहरू भने रुसी फौजले आक्रमण जारी राखेको र आफूहरूले कठिन लडाइँ लडिरहेको बताएका छन् । कतिपय सञ्चारमाध्यमहरूले कारखाना परिसरमा रुसी फौज प्रवेश गरेको दाबी गरेका छन् । यद्यपि, त्यसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसंघलाई अपिल गरेका छन् । ‘हाम्रा लागि सबै नागरिकको ज्यान उत्तिकै महत्त्वपूर्ण छ । उनीहरूलाई जोगाउन हामी मद्दत माग्छौं,’ राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेससँगको टेलिफोन कुराकानीमा जेलेन्स्कीले भने ।

प्रकाशित : वैशाख २३, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?